दश महिनामा तीन वटै निर्बाचन नभए, संबिधान रद्दीको टोकरीमा पुग्छ:-काँग्रेस महामन्त्री


वसन्त रानाभाट/ बार्सिलोना

नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले दश महिना भित्र मुलुकमा तीन वटा चुनाव हुन नसके संबिधान रद्दीको टोकरीमा जाने बताएका छन्। ९० प्रतिशतले पारित गरेर बनेको उत्कृष्ट संबिधान कार्यान्वयनका लागि चुनाव हुनु पर्नेमा जोड दिदै कोईरालाले त्यसो हुन नसके मुलुकको भविष्य नै अन्धकार हुने बताएका हुन्।

नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई आईतबार आन्त्रोपनमा सम्बोधन गर्दै महामन्त्री कोईरालाले भने, ”यो अप्ठारो अबस्थामा स्थानीय,प्रदेश र संघीय निर्बाचन गरी तीन वटै निर्बाचन दश महिना भित्र सम्पन्न गर्नु पर्ने ठुलो चुनौती छ, तर यो हाम्रो लागि अत्यन्तै महत्वपूर्ण हो । मधेशीदललाई पनि सँगै डोर्याएर,चुनावमा कसरी समाबेश गर्ने भन्ने बारे निरन्तर प्रयास गर्नु पर्छ।”

संबिधान संशोधन नभए सम्म चुनाव हुन नदिने र बहिष्कार गर्ने बताईरहेका मधेशीदलहरुलाई पनि समेटेर चुनावमा जानुपर्नेमा कोईरालाले जोड दिए।  प्रदेशको सिमाङ्कनको बिषयलाई लिएर अत्यन्तै बिबाद रहेको भन्दै दोस्रो चरणको निर्बाचन झनै जटिल रहेको कोईरालाले बताए।

सिमाङ्कनका लागि पार्टी भित्र समेत फरक फरक मत रहेको कोईरालाले खुलासा गरे। उनले भने, “ म बनारसबाट फर्केर आउँदा बुटबल र भैरहवा क्षेत्रमा लाखौको संख्या देखे। त्यहाँको आवाज ५ नम्बर क्षेत्रलाई टुक्राउँन दिनु हुन्न भन्ने छ । फर्कने बित्तिकै सभापतिलाई बताए, तपाई कस्तो संशोधन प्रस्ताव लिएर जाँदै हुनुहुन्छ ? एक पटक केन्द्रिय समितिमा पनि छलफल गराउँनु होस्।”

काँग्रेसका महामन्त्री डा. सशांक कोईराला
काँग्रेसका महामन्त्री डा. सशांक कोईराला

तर त्यो बेलामा पार्टी सभापति शेर बहादुर देउवाको भनाई मधेशीहरुलाई पनि सँग सँगै लिएर जानु पर्ने हुँदा ५ नम्बर क्षेत्रमा पहाड र तराईलाई छुट्टाउँनु पर्ने रहेको पनि महामन्त्री कोईरालाले प्रष्ट पारे।,“ तर मैले भने, हैन शेर बहादुर जी यसो गरे ठुलो दुर्भाग्य हुन्छ ,किनभने त्यहाँको जनताको चाहाना प्रदेश टुक्राउँने छैन।” संघियताको बारेमा मुलुकमा अस्पष्टता देखिएको चर्चा गर्दै कोईरलाले यस्तो बताएका हुन्। संघियता बिकेन्द्रिकरणको अन्तिम लक्ष्य रहेको बताउँदै राष्ट्रको क्षमता अभिबृद्धीको लागि,विकेन्द्रीकरणमा लानु पर्ने बिपीको सोच तिर मुलुक गएको भए आज संघियता लागु गर्न धेरै सहज हुने कोईरालाको तर्क थियो।

अधिबेशनलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य एनपी साउदले संबिधान संशोधनको प्रक्रियामा अल्पमतलाई पनि समेट्न सकेनौ भने सधैँ घाउ बनेर बल्झी रहने हुँदा काँग्रेसले दुवै पक्षलाई मिलाएर लैजानु पर्ने बताए। मुलुकमा चुनाबी माहोल सृजना भई सकेको भन्दै उनले भने.” काँग्रेस पतन नै भयो भन्नेलाई स्वतन्त्र बिद्यार्थी युनियनको चुनावले देखाएको छ, नेपाल बिद्यार्थी संघ नै अगाडि छ,अब स्थानीय चुनावमा पनि काँग्रेस पहिलो बन्छ।”

यस्तै अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले आज मुलुक कमजोर हुँदा नेपालीहरु ठाउँ ठाउँमा हेपिनु परेको बताए। एक प्रसङ्ग कोट्याउँदै नेता भण्डारी भने,” भारतीय एयरपोर्टमा म सँगै एउटा जना ब्यापारी साथी पनि थिए, एयरपोर्टमा हुस्की किन्न उनले नेपाली पासपोर्ट देखाए तर त्यहाँ भनियो “यो पासपोर्टले तिमी हुस्की किन्न पाउँदैनौ।हामी नेपालीले आफ्नो पासपोर्ट देखाएर हुस्की किन्न नसक्ने भयौ, हाम्रो ईज्जयत कहाँ गयो ? हाम्रा जनता माग्रे जस्ता भए।”

अधिबेशनका लागि केन्द्रिय प्रतिनिधिको रुपमा आएका काँग्रेस नेता सुरेन्द्र पाण्डेले युरोप काँग्रेस हालसम्म आधिकारिक तथा बैधानिक नरहेको बारे प्रष्ट पारे। उनले काँग्रेस महामन्त्री कोईरालाको अगाडि नै भने,” युरोप काँग्रेसले बैधानिकता प्राप्त गर्नका लागि केन्द्रिय समितिले अनुमोदन गर्नुपर्छ। तब मात्रै युरो काँग्रेसले अधिबेशन गर्न सक्छ, हालै यसको बिधान प्राप्त भएको छ,अब छलफल गरेर यो बारेको अन्तिम निर्णय भने केन्द्रिय समितिले नै गर्छ।”

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै युरोपियन युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले मुलुकमा प्रजातन्त्र बलियो भयो भने मात्र कुटनीतिक सम्बन्ध स्थापित गर्न सहज हुने बताए। प्रजातन्त्र,बिकास र कुटनीतिको त्रिकोणात्मक सम्बन्ध बारे हिलारी क्लिन्टनको एक लेख बारे चर्चा गर्दै राजदूत थापाले त्यो कुरा आँफू यहाँ आएर महशुस गरिरहेको सुनाए।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुबास जोशीको अध्यक्षतामा सम्पन्न खुल्लासत्रको कार्यक्रममा बेल्जियम स्थित संघ सँस्थाका प्रतिनिधिहरु,,युरोप स्थित जनसम्पर्क समितिका प्रतिनिधिहरु लगायत बेल्जियमका काँग्रेसीहरुको बाक्लो उपस्थिति रहेको थियो।

समितिको आगामी नेतृत्वका लागि काँग्रेस महासमिति सदस्य सीता सापकोटा,पुर्ब उपाध्यक्ष माधव सापकोटा तथा बर्तमान उपाध्यक्ष अनुजा प्रधानले दाबी गर्दै आएका छन्। सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिख नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ।