स्पेन काँग्रेस नेतृत्वको लागि बिष्णु र ईन्द्र मैदानमा


तस्बिर:- अध्यक्षका प्रत्यासीहरु बिष्णु रिजाल (बायाँ),इन्द्र प्रसाद शर्मा (दायाँ)

बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनको आगामी नेतृत्वका लागि बिष्णु रिजाल र इन्द्र प्रसाद शर्माले उम्मेद्वारी दर्ता गरेका छन्। समितका बर्तमान उपाध्यक्ष द्वय रिजाल र शर्माले छुट्टाछुट्टै प्यानल सहित नै अध्यक्ष पदका लागि दाबी गरेका हुन्।

यस्तै कार्यसमितिको उपाध्यक्ष पदका लागि रिजाल प्यानलबाट सन्तोष श्रेष्ठ र बिदुर गौतमले उम्मेद्वारी दर्ता गराएका छन्। भने शर्माको प्यानलबाट प्रकाश भट्टराई र राम सापकोटाको उम्मेद्वारी परेको छ। अधिबेशनबाट भने दुई जना उपाध्यक्षहरु मात्र निर्बाचित हुने छन्।

यस्तै रिजाल पक्षबाट महामन्त्रीका लागि रामप्रसाद सापकोटा “बिराज”,सह-महामन्त्रीमा राम प्रसाद चालिसे र कोषाध्यक्षका लागि अर्जुन पोख्रेलले उमेद्वारी दर्ता गराएका छन् भने शर्माको प्यानलबाट महामन्त्रीमा हिरालाल सापकोटा “डायमण्ड”,सह-महामन्त्री रमेश प्रसाद पाण्डे र कोषाध्यक्षमा सुस्मिता कंडेलको उमेद्वारी परेको छ।

यस्तै ७ सदस्य कार्यसमितिको पदका लागि १२ जनाको उमेद्वारी परेको छ। सदस्य पदका लागि रिजाल प्यानलबाट बिनोद लामिछाने,लोकबन्धु बस्नेत,सुभाष बहादुर बिष्ट ,मुकेश कुमार क्षेत्री,रामचन्द्र बुढाथोकी र सुसन गौतमले उमेद्वारी दर्ता गराएका छन्। यस्तै शर्माको नेतृत्वमा राजेश रेग्मी,मुक्ती प्रसाद श्रेष्ठ,सुभाष आचार्य,अन्जु तिमिल्सिना अधिकारी, राहुल खड्गी र लक्ष्मण खत्रीको सदस्य पदका लागि उमेद्वारी छ।

अध्यक्ष पदका लागि दाबी गरेका रिजालले सक्षम,अनुभबी र कर्मठ साथीहरुलाई समेटेर एउटा राम्रो टिम सहित प्यानल तयार गरेको बताएका छन्। उनले भने, “बर्तमान कार्यसमितिका हामी दुई उपाध्यक्षहरु मिलेर नै मेरो नेतृत्वमा समुह बनाएका हौ,जनसम्पर्क समितिलाई सुदृढ र सक्षम बनाउँदै समग्र स्पेनबासी नेपालीहरुको हक,हित र अधिकार संरक्षण लागि साथै बिभिन्न संघ संस्थाहरु सहकार्य गर्नका लागि पनि टिमलाई नै बिजयी गराउँन अनुरोध गर्दछु।”

समितिका बर्तमान उपाध्यक्ष द्वय रिजाल र श्रेष्ठ एनआरएन स्पेनका पुर्ब महासचिव र प्रबक्ता हुन् भने दुवै जना नेपाली काँग्रेसको १३ औ महाधिबेशन प्रतिनिधि समेत हुन्। रिजाल कै समुहका अर्का उपाध्यक्ष उम्मेद्वार गौतम नेपाली जनसम्पर्क समिति डेनमार्कका पुर्ब महामन्त्री हुन् भने ,महामन्त्री पदका प्रत्यासी सापकोटा एनआरएनए स्पेनका सचिव हुन्।

बायाँ रिजालको प्यानल  र दाँया शर्माको प्यानल
बायाँ रिजालको प्यानल र दाँया शर्माको प्यानल

यस्तै अध्यक्ष पदका अर्का दाबेदार शर्माले आँफूहरुले क्षेत्र,भेग तथा महिलाहरुलाई समेत प्रतिनिधित्व गराउँदै एउटा बलियो समाबेशी टिम सहित निर्बाचनका लागि तयार भएको बताएका छन्। उनले भने,” पुराना अनुभबी  देखि युवा पुस्तालाई समेटेर समाबेशी टिम बनाएका छौ। नेपाली काँग्रेसको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै स्पेनका रहेका नेपाली समुदायलाई जनमुखी र भावाना मुखी बनाउँने हाम्रो अभिप्राय रहेको छ भने, स्पेनका नेपालीहरुको पहिचान गराउँने,आबस्यकता परिपूर्ति गर्न तथा यहाँका सम्पूर्ण संस्थाहरु मिलेर अघि बढ्न नै हाम्रो उमेद्वारी हो।” बर्तमान उपाध्यक्ष रहेका शर्माले पुर्ब कोषाध्यक्ष सापकोटा पुर्ब कार्यबाहक महामन्त्री भट्टराई तथा बर्तमान प्रबक्ता सापकोटालाई समेटेर समुह खडा गरेका हुन्।

निर्बाचन समितिका संयोजक चिन्तामणी सापकोटाले प्रकाशित गरेको कार्यतालिका अनुसार आगामी मार्च १० तारिख मतदाताको अन्तिम नामवली प्रकाशित गरिने छ भने १२ तारिख बिहान १० बजे देखि बेलुकी ८:३० बजेसम्म नयाँ नेतृत्वको लागि मतदान हुँदैछ। सोहि दिन मतगणना गर्दै केन्द्रिय प्रतिनिधिको उपस्थितिमा निर्बाचित कार्यसमितिको घोषणा गर्ने कार्यक्रम रहेको निर्बाचन समितिले जनाएको छ।

युरोपमा भएका अन्य जनसम्पर्क समितिहरुले चुनाव हुनु भन्दा दुई हप्ता अगाडि नै मतदाता संख्याको टुङ्गो लगाएर नामावली प्रकाशित गरेको पाईए पनि स्पेनमा भने हालसम्म मतदाता संख्या बारे आधिकारिक जानकारी प्राप्त भएको छैन।  पटक पटक स्थगित हुँदै आएको नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन मार्च १२ तारिख बार्सिलोनामा हुँदै छ।