फुटबल ईतिहासकै, एक स्वर्णिम दिन


एजेन्सी/बार्सिलोना

मार्च ८ तारिखलाई बार्सिलोना फुटबल क्लवले फुटबल ईतिहासकै, एउटा स्वर्णिम दिनको रुपमा लिपिबद्द गरेको छ। अकल्पनीय रुपमा बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश गरेको हो।

फुटबल दुई साता अघि भएको खेलमा पेरिस सेन्ट जर्मनसँग ४–० ले पराजित बार्सिलोनाले गएराति भएको खेलमा ६–१ अन्तरको जित हात पार्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा ४–० ले पछाडि परेको अवस्थामा कुनै टोली क्वाटरफाइनलमा प्रवेश गर्न सकेको थिएनन्। तर, बार्सिलोना दुवै लेगबाट समग्रमा ६–५ को अग्रता बनाउदै क्वाटरफाइनलमा प्रवेशसंगै फुटबल ईतिहासकै, एउटा स्वर्णिम दिनको सम्झना सदैब गर्ने भएको छ।

बार्सिलोनाका लागि आज नेइमार नायक बने। उनले लगभग हातबाट गुमिसकेको खेललाई ७ मिनेट भित्र पुनः बार्सिलोनाको पोल्टामा पारेका थिए। खेलको तेस्रो मिनेटमै लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने बार्सिलोनाको लागि लियोनल मेसीले ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । खेलको ४० औं मिनेटमा पेरिस सेन्ट जर्मनका कुर्जावाको आत्मघाती गोल गरेका थिए ।

यस्तै ६२ मिनेटमा एडिन्सन काभानीले पिएसजीका लागि गोल गरेपछि बार्सिलोना लगभग खेलबाट बाहिरिएको थियो। तर, ८८ मिनेटमा विश्वस्तरीय फ्रिकिक, ९१ मिनेटमा पेनाल्टीबाट गोल गरेका नेइमारले ९५ मिनेटमा फ्रिकिकमार्फत सर्गिइ रोबेर्टोलाई गोलका लागि अवसर जुर्याई दिए। केही मिनेट अघि मैदान प्रवेश गरेका रोबेर्टोले सानदार फिनिसिङ संगै बार्सिलोनाको अविश्वसनीय कमब्याकलाई सार्थक बनाए ।

बार्सिलोनाको यो जितले सन् १९९९ च्याम्पियन्स लिगको म्यानचेस्टर युनाइटेड र वायर्न म्युनिखबीचको फाइनल खेललाई पनि बिर्साएको छ।

खेलमा रेफ्रीका केहि निर्णयहरु भने बिबादस्पद थिए, पिएसजीले पाएका स्पष्ट पेनाल्टीका अबसरलाई रेफ्रीले दिएनन् भने बार्सिलोनाको लागि २ बटा पेनाल्टी अबसर प्राप्त भयो। बार्सिलोनाको अविश्वसनीय कमब्याकका अगाडि रेफ्रीका गल्ती बहसमा परेनन्। फुटबल ईतिहासकै, एउटा स्वर्णिम दिन लिपिबद्द हुँदा सबै भुलाईदिएको छ।