एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि नेपाललाई कीर्तिमानी जित


काठमाडौं – नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ ।पहिलो पटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

सोमबार​​ कीर्तिपुर मैदानमा १ सय​ ५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १ सय​ ११ रनको साझेदारी हुने क्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १ सय​ ५५ रन बनाएको थियो ।नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए ।

त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंक सहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउने छन् ।