एनआरएनए पाँचौं एसिया क्षेत्रीय सम्मेलनको तयारी पूरा


कोपिला गौतम,क्वालालम्पुर । गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलन मार्च १९ तारिखका दिन क्वालालम्पुरमा हुँदैछ । सम्मेलनमा जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्ड, अष्ट्रेलिया, जर्मनी, साउदी अरेबिया, कतार, इण्डोनेसियालगायतका देशबाट गैरआवासीय नेपालीका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

सम्मेलनको उदद्दाटन परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले बताएका छन् । महतसँगै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जीवि नेपालको पनि कार्यक्रममा सहभागिता हुने बताइएको छ । सम्मेलनमा नेपाली कामदारको हित र लगानीबारे व्यापक छलफल हुनेछ ।

मलेसियामा हुन लागेको सम्मेलनमा संघका प्रमुख संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु त्रिलोक गुरुङ, टिबी कार्की, शंकरबहादुर पौडेल, अध्यक्ष शेष घले, उपाध्यक्षहरु क्रमशः भवन भट्ट, कुमार पन्त, महासचिव बद्री केसी लगायत एनआरएनका नेतृत्वहरुले सहभागिता जनाउँदैछन् ।

सम्मेलनकै पूर्व सन्ध्यामा मार्च १८ मा फुटसल खेल प्रतियोगिता हुनेछ भने सोही दिन अपरान्ह ४ बजे क्वालालम्पुरको होटल ग्राण्ड कन्टिनेन्टलमा नेपाली दूतावास, विभिन्न नेपाली समुदायका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार, श्रमिकलगायत सरोकारवालाहरुसँग अन्तरक्रिया हुने बताइएको छ ।

सम्मेलन कामदारको हितमा केन्द्रित गर्ने गरी आयोजना गरिन लागेको एनआरएन महासचीव सुन्दर आलेले बताएका छन् ।एनआरएन मलेसियाले यसअघि नै कामदारहरुको लागि कल्याणकारी कोषको घोषणा गरिसकेको छ र सो कोषमा करीव दश लाख रुपैयाँ जम्मा भैसकेको छ ।