स्पेनबासीको उदार मन,धुर्मुस-सुन्तलीलाई १३ लाख रुपैयाँ बढी सहयोग


तस्बिर:- धुर्मुस-सुन्तली फाउण्डेशनको फेसबुक पेजबाट

बार्सिलोना/ देशमा बिनाशकारी भूकम्प जाने बित्तिकै गैरआबासीय नेपाली संघ(एनआरएनए) मार्फत सवा करोड रुपैयाँ भन्दा बढी रकम उठाएर पठाएका स्पेनबासी नेपालीहरुले फेरि उदार मन देखाएका छन्। एकिकृत नमुना बस्ती निर्माण गरेर सबैको स्याबासी पाएका धुर्मुस-सुन्तलीको अभियानमा पनि यहाँका नेपालीहरुले उदार मन देखाएका हुन्।

बिभिन्न संघ सँस्थाको पहल तथा व्यक्तिगत सहयोग गरी स्पेनबाट १३ लाख रुपैयाँ भन्दा बढी सहयोग धुर्मुस-सुन्तली फाउण्डेशनमा पुगेको छ। सम्भवत:फाउण्डेशनका लागि युरोपियन मुलुकहरु मध्ये स्पेनबाट पुगेको यो सबै भन्दा धेरै रकम हो।

धुर्मुस सुन्तलीको अभियानमा दुई चरणमा गरी जनप्रगतिशील मञ्च स्पेनले मात्र ४ लाख ३५ हजार रुपैयाँ, एनआरएनए स्पेन क्षेत्रीय समिति म्याड्रिडले ३ लाख ४० हजार रुपैयाँ र हालै प्रबासी नेपाली मञ्च स्पेनले ३ लाख ३ हजार ६ सय ७० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

यस्तै ग्रान क्यानेरीयाको नेपाली समुदायबाट १ लाख १ लाख २० हजार रुपैयाँ,बार्सिलोनामा ब्यबसाय संचालन गर्दै आएका रमेश प्रसाद निरौलाबाट १ लाख २ हजार १६ रुपैयाँ फाउण्डेशनलाई सहयोग गरेका थिए। बिभिन्न चरणमा बिभिन्न संघ सँस्थाको पहलमा संकलन भएको रकम गरी  स्पेनबाट १३ लाख रुपैयाँ भन्दा बढी फाउण्डेशनलाई सहयोग पुगेको हो।

धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माणमा रकम अभाव भईरहेको बेला अझै पनि सहयोगको अपिल भईरहेको छ। भूकम्प पिडितका लागि दुईवटा बस्ती निर्माण सम्पन्न गरेर मुसहर बस्ती निर्माणमा जुटेको फाउण्डेशनले नयाँ बर्षमा निर्माण कार्य पुरा गर्ने लक्ष्य राख्दै कामलाई तिब्रता दिएको छ। स्पेनबाट जस्तै युरोपका बिभिन्न देशमा रहेका नेपाली समुदायबाट रकम पुग्ने हो भने कलाकारहरुलाई बस्ती निर्माणका लागि सहज हुने देखिन्छ।