डढेलो विरुद्धको सचेतनात्मक निवन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण


पोखरा – डढेलो विरुद्धको सचेतनात्मक कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय कास्कीले आयोजना गरेको माध्यामिक विद्यालय स्तरिय निवन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

डढेलो विरुद्ध सचेतना अभिवृद्धिका लागि जिल्ला शिक्षा कार्यालयको सहयोगमा सम्पन्न जलवायु परिवर्तन र वन डढेलोको अन्तरसम्वन्ध विषयक निवन्ध प्रतियोगितामा महेन्द्र मा.वि. लाहाचोकका मधुसुदन तिवारी प्रथम, अमरसिंह मा.वि. रामघाटका प्रकृति ढकाल द्धितिय र विन्धवासानी मा.वि. वाटुलेचौरका एलिसा परियार तृतिय भएका थिए ।

प्रतियोगितामा भारती भवन मा.वि. पुरन्चौरका रक्षा अधिकारी, रत्नशोभा मा.वि.माझठानाका रेणुका के.सी. र तालवाराही मा.वि. वैदामका भरत न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताका बिजेताहरुले प्रथम, द्धितिय र तृतिय र सान्त्वना पुरस्कारको रकम क्रमशः ५ हजार, ४ हजार, ३ हजार, १ हजार र प्रमाण पत्र प्राप्त गरेका थिए ।

पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला वन अधिकृत केदार वराल र जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण पश्चात प्रमुख जिल्ला अधिकारी मैनालीले विद्यार्थीहरु सुचनाका संवाहक भएकाले चेतनामुलक कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराउंदा सकारात्मक परिणाम निस्कने वताएका थिए ।

जिल्ला शिक्षा अधिकारी पौडेलले पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुलाई वधाइ ज्ञापन गर्दै आगामी दिनहरुमा लेखाइमा थप निखारता ल्याउन शुभकामना व्यक्त गर्नु भएको थियो भने जिल्ला वन अधिकृत केदार वरालले आजका विद्यार्थी भोलीका संरक्षणकर्मी भएकाले आजै देखि जलवायु परिवर्तन र वन डढेलोको दुस्चक्र वारे थप अध्ययन गरी भोलीका दिनमा आउन सक्ने नकारात्मक असरहरु न्यूनीकरण गर्ने अभियानमा सहभागी हुन विद्यार्थीहरुलाई आवहान गरेका थिए ।

जिल्ला वन कार्यालय कास्कीले वन डढेलो व्यवस्थापन सप्ताहको अवसर विभिन्न स्थानहरुमा ¥याली, सचेतना गोष्ठी, विद्यालयमा शिक्षण कार्यक्रम, सञ्चार माध्यमहरुवाट प्रचार प्रसार कार्यक्रम तथा वन कर्मचारी, स्थानीय उपभोक्ताहरु र सुरक्षा निकायहरुको संयुक्त प्रयासवाट वन डढेलो निभाउने कार्यहरु गरिरहेको जिल्ला वन अधिकृत केदार वरालले जानकारी दिए ।