नआऊ मेरो सामु मैले छोएको पानी चल्दैन ..


- मोहनराज बराल

-मोहनराज बराल

 शीतको थोपा हुँ  मन्दिरको जल होइन
नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन
सधैँ  रमेको हुन्छु आफ्नै छायाँको साथमा
बुझ्नै सकिन मैले कुन्नि के राख्या  जातमा
दक्षिणको घाम हुँ  पश्चिममा ढल्दैन
नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन।

 माथिका गीतकार बिनु काफ्लेको शब्दलाई गायक यश कुमारले स्वर र संगितले भरिदिएका थिए वि स २०५८ सालमा।यो गीत संग्रहीत भएको एल्वम थियो नयाँ संसार ।यसलाई सो एल्वमको निकृष्ट गीत ठानिएको थियो । अझ नेपालको मिडियामा समेत त्यस्लाई बज्न दिइएन कारण जातिय दंगा फैलाउने अनुमान लगाउँदै त्यसलाई प्रतिबन्ध  गरिएको थियो त्यतिबेला ।फेरि यो गीत हाम्रो चेतनाको स्तर र अवस्था कस्तो छ भनेर प्रतिविम्वित गराउने एउटा गीत पनि हो। यहाँ गैर दलित र दलित विच माया प्रेम वस्नु ठुलो भूल भएको जस्तो मानिएको छ। मानौ यस्तो प्रकारको माया प्रेम एउटा ठुलो अपराध जस्तो ठानिएकोछ। जुन हाम्रो समाजमा आज पनि विद्यमान छ।

फेरि यहाँ प्रसड्ग माया प्रतिको मात्रै हैन।या त गैर दलित र दलित विचको सम्वन्धको मात्रै नभईकन प्रसड्ग ल्याउन खोजेको कुरा दलित समुदाय  र उनिहरू प्रतिको विभेद र उत्पीडनको  हो।लाग्छ मानव सभ्यताका क्रमवाट भित्रीएको यस्ता असमानता अनि गैरमानवीय चलनहरु आज सम्म पनि चलिरहेको छ जातीवादी परम्पराको रूपमा ।

जुन आजका दिनसम्म आउदै गर्दा  सामाजिक ,आर्थिक ,साँस्कृतिक ,राजनैतिक रूपमा  विभेद गरिदै आईएकोछ।नेपालको जनसङख्याको २० प्रतिशत भाग दलितले  ओगटेको मानिन् तर पनि यो समुदायको राज्यका प्रशासनिक अङ्गमा सहभागिता  कमै छ । जतिसुकै राजनीतिक परिवर्तन भए पनि त्यसले दलित समुदायको हित हुने कामहरु गर्न सकेको छैन । दलित समुदायले राज्यबाट पाउनुपर्ने सामान्य अधिकार पनि पाएका छैनन्, ऐन कानुनमा लेखिएका अधिकार पनि लागू भएका छैनन । दलित समुदाय नेपाली राज्यबाट ठगिँदै आएका छन ।  

जुन नेपाली समाजमा आज पनि विद्यमान रहिरहेको छ। त्यसो  त महेन्द्रकालिन समयको वि.सं.२०२० को मुलुकी ऐनले पनि जातिय छुवाछुत गर्न नपाइने भनेकै थियो।तर व्यवहारमा त्यो भनाइ पनि लागू हुन सकेन । पंचायतकालीन समयहरू पार गरेर बहुदल आएपछि पनि समस्याहरू उस्तै नै भए।फेरि वहुदलकालमा पनि राज्यले यस्ता अनेक निति नियम, ऐन–कानुन कडाइपूर्वक लागू नगर्दा दलित समुदाय विभेद र उत्पीडनको सिकार भइनै रहेका थिए।जव विस २०५२ सालमा माओवादीहरूले युद्ध गरे।लाग्छ यो युद्दमा उनिहरूको नाराले दलितहरूलाई आकर्षण गरयो।यसकारण पनि नेपालमा ठुला ठुला आन्दोलनहरू सफल भएका छन।तर उनिहरूको समस्याहरू जस्ताको तस्तै रहेकाछन।

 विं.सं.२०६३ को आन्दोलनपछि पुनःस्थापित संसदले जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरयो ।फेरि  जातीय छुवाछूत कसुर संजाए ऐन २०६८ व्यवस्थापिका संसदबाट पारित गरयो तर पनि  नेपाली समाजमा छुवाछुतजस्ता भेदभावका कुराहरू अझै रोकिन सकेको छैन्।प्राय दैनिक जसो दलितमाथिको क्रुरु अमानवीय घटनाहरु भइरहेको कुराहरू मिडियाहरूमा आएको कुराहरूवाट थाहा हुन्छ भने कति कुराहरू सत्ता र शक्तिको बलमा गुपचुप हुन्छ। कतै धारो एवम चुलो छोएको निहुँ त कतै अन्तरजातीय विवाह गरेको निहुँमा दलितहरुको एकपछि अर्को गरी हत्या भइरहेको देखिन्छ । तर पनि संविधान एवम  नियमको पालना नहुँदा दलित माथि कुटपिट, शोषण दमन र अमानवीय व्यवहार हुने क्रम जारी नै छ । 

नेपाललाई छुवाछूत मुक्त राष्ट्र त  घोषणा गरियो तर थप कानुनलाई प्रभावकारी बनाउन नसक्दाको परिमाणहरू हत्या,आत्महत्या ,एसिड प्रहार जस्ता अपराधहरू दिनप्रति दिन भईरहेकाछन।आजका दिन सम्म पनि हामीले संकृणवादी सोचलाई अन्त्य गर्न सकिएको छैनौ।मानौ फेरि देश भनेको काठमाण्डौ मात्रै या त अन्य प्रमुख शहरहरू जस्तो सोचिएको छ र राज्यमा पुगेकाहरूको पनि सोचाई नै उहि नै रहेको छ।

अझै पनि विकट ठाँउहरू जहाँ अधिकांश दलित तथा निम्न वर्गका मानिसहरू वस्ने ठाँउमा वास्तवमा राज्य पुग्न सकेको छैन।विकट ठाँउमा अझै पनि नागरिकहरू राज्यको नागरिकको दर्जा पाउन नसकेको अवस्थाछ।मानौ त्यहाँका नागरिकहरू दोस्रो दर्जाका नागरिक जस्तै हुन।हिजोआज संचारमाध्यमहरूवाट सुन्न सकिन्छ कि  राज्यका प्रमुख पदमा पुगेकाहरूले दलित भएकै कारण भान्सेबाट निकाल्ने।राज्य संचालन गर्ने प्रमुख व्यक्तीहरूमा त यस्तो संकृडवादी सोच रहेको छ भने देशमा दुर दराजको दर्दनाक स्थीतिलाई आफै अनुमान लगाउन सकिन्छ।

   आज हामी २१औ शताब्दीको यो विज्ञान एवम प्रविधिको युगमा आईपुग्दा अझै पनि हाम्रो गाँउ घरमा आफ्नो कला,शिल्पको प्रयोग गरेर मन्दिर वनाउनेहरू  आँफै मन्दीर भित्र जानवाट रोकिने अवस्था रहेकोछ।फेरि  सिलाईएका कपडाहरुलाई लगाउन हुने तर सिलाउनेलाई विभेद गर्ने कथित परम्परा व्याप्त छ।जुत्ता र छालाका सामग्री लाई सम्पन्नताको प्रतिक मान्ने तर त्यस्का सर्जकलाई विभेद गर्ने यस्ता धेरै पेशागत विभेदले वास्तवमा जातीय असमानता र उत्पीडन निम्ताएको छ । 

  फेरि आज मार्च २१ । जातिय एवम रंगभेद विरूद्धको दिवस ।सन् १९६० को आजको दिनमा  दक्षिण अफ्रीकी शहर सार्पभिल्लेमा काला जातिका जनताले रंगको आधारमा गरिने भेदभाव विरुद्ध न्याय र समानताको लागी गरिएको एउटा बृहत प्रदर्शन भएको दिन ।  रंगभेदवादी गोरा सरकारको बर्बरतापुर्ण प्रदर्शनमा उत्रिएका ६९ जना प्रदशनकारीहरूको मृत्यु तथा  कयौ मानिसहरू  घाइते भएको दिन । यही नरसंहारको सम्झनास्वरुप सन् १९६५ मा संयुक्त राष्ट्रसंघले सवै प्रकारका जातिय विभेद उन्मुलनसम्वन्धी महासन्धी पारित गरेको थियो ।

सन् १९६६ मा संयुक्त राष्ट्रसंघले २१ मार्चलाई अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो र सन् १९६९ देखि यो दिनलाई अन्तर्राष्ट्रिय जातिवाद विरुद्धको दिवसका रुपमा मनाउन थालेकोछ।यहि आन्दोलनको प्रभावमा नेपालमा पनि जात, भाषा,सँस्कृति, पेशा आदीहरूमा देखिएको विभेदको अन्त्यको लागी आन्दोलहरू धेरै पटक भए। आन्दोलनको उपलब्धीलाई संस्थागत नगर्दा तथा यसलाई  व्यावहारिक रूपमा लागु नहुदा प्राप्त अधिकारहरू गुम्दै गहिरहेको अवस्था छ।फेरि यो पनि हो कि  संविधान सभाले वनाएको संविधानलाई पालना नगर्दा अवस्था पहिलेकै जस्तो बनिरहेकोछ।वास्तवमा नेपालमा अहिलेको अवस्थामा संविधानले कोरेका नियम कानुनहरूलाई अक्षरस पालना गर्नु नै साँचो रूपमा जातिय एवम रंगभेद विरूद्धको दिवस मनाउनु हो।

 नेपालली समाजमा देखिएको विभिन्न खाले विभेदको अन्त्य गरेर समातामूलक समाजको निर्माण नै अहिलेको आवश्यकता हो। वास्तवमा समतामुलक समाजको निर्माण  नहुदा गायक यस कुमारको गीत ‘म आफ्नै आँगनमा ईनार खनाउँछु।’ भन्ने गीत झै हुन्छ। यो गीत पनि नेपाली समाजको एक प्रतिविम्व नै हो।वास्तवमा अब कसैलाई पनि आफ्नो आँगनमा ईनार खन्न नपर्ने अवस्था सृजना हुनैपर्छ।फेरि हाम्रोमा श्रम प्रतिको सम्मान पनि छैन।

यसरी श्रम प्रतिको सम्मान नहुँदा पनि बुझ्नु पर्ने तथ्य जातीय उत्पीडन कायम नै रहने हो।यसरी नेपालमा हरेक आन्दोलन र व्यवस्था परिवर्तन पछि हरेक समयमा यस प्रति राज्यको चासो स्थगित जस्तो हुदै आईरहेकोछ।संसार हल्लाउने  ठुला ठुला आन्दोलन पार गरिदै आईपुग्दा अवस्था पहिलेको जस्तै हुदा।ल्याङ्स्टन ह्युज भन्ने अमेरिक कविको कविता स्थगित भयों भने के हुन्छ भन्ने जस्तै हुन्छ जुन कविताको अंश यस्तो छ।

सपना के हुन्छ ?
के त्यो घाममा सुकाएको 
किसमिसजस्तै
चाउरिन्छ ?
कि घाउजस्तै पाक्छ र पिप बग्दछ ? 
कि सडेको मासुजस्तै गन्हाउँछ ?
कि हुनेछ मिठाईमा जमेको चिनीको पाप्रो जस्तै ? 
शायद त्यो गह्रौँ भारीजस्तै 
बिस्तारै घस्रिन्छ ? 
कि त्यो विस्फोट हुन्छ ?

आजको दिन सम्म आईपुग्दा नेपालमा पनि उत्पीड़नमा परेका हरेक वर्गहरू।जातको आधारमा विभेदमा पर्नेहरू।रंगका आधारमा विभेदमा पर्नेहरू कसैको पनि  सपनाहरू स्थगित नहोस।

आजको यो  ५२ औं अन्तराष्ट्रिय जातिय एवमं रंगभेद उन्मूलन दिवसले नेपालका  सम्पूर्ण उत्पीडित समुदायलाई भेदभावका विरुद्ध लड्न तथा मानवले मानवलाई गर्ने सवै खाले विभेदको समुल अन्त्य गर्नका लागि प्रेरणा प्रदान गरोस ।यहि कामना गरौ।अब समतामुलक समाजको निर्माण गरेर नआउ मेरो सामु मैले छोएको पानी चल्दैन नभन्ने वातावरण सृजना गरौ। 

(सन्दर्भ जातिय एवम रंगभेद विरूद्धको दिवस)