‘निर्भय’को रिलिज डेट नजिकिदै जादाँ चलचित्र युनिट प्रचारमा


पोखरा – नेपाली कथानक चलचित्र ‘निर्भय’को रिलिज डेट नजिकिदै जादाँ चलचित्र युनिट प्रचारमा व्यवस्त रहेको छ । चैतको ११ गते रिलिज हुने चलचित्रको पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि चलचित्र राम्रो बनेको युनिटल दाब गरेको छ । चलचित्रमा एउटा राष्ट्र सेवक सिपाहीको भूमिकालाई मुख्य कथा बताएको चलचित्रका निर्माता देवीप्रसाद पाण्डेले बताए ।

करिब १ करोड २५ लाख रुपैंया लगानी भएको उक्त चलचित्र निर्माण गर्नका लागि ११ महिना लागेको निर्देशक मधुसुधन भट्टराईले बताए । समयसापेक्ष बिषयबस्तुको छनौट, गीतसंगीत र नयाँपना भएकाले पनि अपेक्षाकृत रुपमा प्रतिफल पाउन सक्ने उनले बताए । अहिले मुलुकमा राजनीतिक अराजकता मौलाउँदै गएको र यस्तो परिस्थितीमा एउटा सिपाहीले मुलुकका लागि गरेको कामलाई चलचित्रको पर्दामा उतारेको बताए ।

काठमाण्डौं, पोखरा, चितवन लगायतका ठाउँमा छायांकन गरिएको उक्त चलचित्र २ घण्टा २२ मिनेटको छ । याम थापाको स्टोरीमा निर्माण गरिएको चलचित्रमा नायक निखिल उप्रेती, नायिका नीता ढुङ्गाना लगायत फिल्मी क्षेत्रमा करियर बनाएका ५५ जना कलाकारले अभिनय गरेको निर्देशक भट्टराई बताए । नायिका नीता ढुङ्गानाले अन्य चलचित्रमा भन्दा भिन्दै खाले पात्रका रुपमा चलचित्रमा आएको बताइन् ।