ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेजमा के छ


डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारी निर्णयलाई खारेज गर्दै अर्का डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउन सर्वोच्च अदालतले परमादेश दिएको समाचारलाई बुधबार प्रकाशित दैनिक अखबारहरुले आवरण पृष्ठमा महत्वका साथ छापेका छन् ।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग १५ मिनेट भेट्नेलाई महत्व दिएको नयाँ पत्रिका दैनिकले तीन लाखमा बन्ने घरको नमूना सार्वजनिक भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिलाई नेपालले अस्वीकार गरेको समाचार र घन्टैपिच्छे हिमालको मौसमबारे जानकारी दिन थालिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ ।

‘अझै १३८ कानुन बनाउन बाँकी’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको राजधानी दैनिकले ‘संसदमा नभएका दललाई स्वतन्त्र हैसियतमा चुनाव चिह्न’लाई एंकर समाचार बनाएको छ ।

कान्तिपुर दैनिकमा मधेसी दलबीच पार्टी भित्र्याउन होड चलेको समाचारले महत्व पाएको छ । सरकार-मोर्चा सहमति नजिक पुगेकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले युएन मिसनको परीक्षा रद्द भएको समाचारलाई प्राथमिकता दिएको छ ।

३९ वटा कानुन बनेको र ३७ विधेयक विचाराधीन रहेको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्रले विश्वका अर्बपतिहरुको स्टोरीलाई महत्वका साथ छापेको छ ।