२ हजारमै नक्कली लाइसेन्स,होलोग्राम सक्कली भएको आशंका (छापाबाट)


नक्कली सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौँ नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

सिन्धुली भद्रकाली स्थायी घर भएका गोले ललितपुरको भनिमन्डल र पाख्रिन सिद्धिपार्कमा बस्दै आएका थिए । उनीहरूले ६ महिनादेखि नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट एक सय ९० वटा होलोग्राम, एक सय १५ वटा नक्कली लाइसेन्स, ६ वटा फोटोसहित तयारी अवस्थाका लाइसेन्स, कम्प्युटर, प्रिन्टर र छाप बरामद गरेको छ ।
पाख्रिनको कोठाबाट लाइसेन्स छाप्ने प्रिन्टरसमेत बरामद गरिएको एसपी सिंहले बताए ।

होलोग्राम सक्कली भएको आशंका

प्रहरीले लाइसेन्समा प्रयोग हुने होलोग्राम भने सक्कली भएको आशंका गरेको छ । एसपी सिंहले भने, ‘होलोग्राम हेर्दा सक्कलीजस्तो छ, परीक्षण गर्न यातायात व्यवस्था विभाग पठाउँछौँ ।’ उनीहरूले यातायात व्यवस्था कार्यालय बागमतीको छाप तथा अधिकृतको दस्तखतसमेत नक्कली बनाई लाइसेन्स बिक्री गरिरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेकाले दुई हजार रुपैयाँसम्ममा लाइसेन्स बिक्री गरेको बताएका छन् ।