गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र चुनाव चिह्न पनि उही हुने (छापाबाट)


संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्पmबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र चुनाव चिह्न पनि उही हुने बाध्यकारी व्यवस्था विधेयकमा रहेको एमाले सांसद रामेश्वर फुँयालले जानकारी दिए ।

मान्यता नपाएका दलका सांसदको हैसियत स्वतन्त्र
अबको प्रतिनिधिसभामा प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गरेका दलका सांसद राष्ट्रिय मान्यताप्राप्त दलका हैसियतमा हुनेछन् ।

प्रत्यक्षतर्फ मात्र जितेका वा समानुपातिकतर्फ तीन प्रतिशत मत कटाएका दलबाट पनि संसद्मा प्रतिनिधित्व हुनेछ । यसरी बनेका सांसद भने स्वतन्त्रजस्तै हुनेछन् । तर, यो व्यवस्थाका लागि प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन पर्खनुपर्ने पूर्वसभामुख सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले भने, ‘राष्ट्रिय मान्यताप्राप्त दलको हैसियत नबनाएका, तर प्रतिनिधिसभा ऐनले व्यवस्था गरेको प्रावधानअनुसार सांसद बनेकाहरू भने दलको हैसियतमा भन्दा स्वतन्त्र हैसियतमा संसद्मा रहन्छन् ।’