रुकुममा लेखपढ गर्न नजानेकी अनिता बिक,फिनल्याण्डको स्थानीय चुनाव लड्दै


अनीता बि.क.

बसन्त रानाभाट/श्रवण खनाल

हेल्सिन्की/आँट,बिश्वास र हिम्मत गरे सफलता पाईन्छ भन्ने एक सफल उदाहरण हुन् अनिता बिक। रुकुम गोतामकोट जस्तो बिकट ठाउँमा जन्मेकी अनिताले लेख्न पढ्न जान्ने थिईनन्। तर अबसर पायो भने महिलाले पनि गर्न सक्छे भन्ने उदाहरण प्रस्तुत  गरेकी छन् उनै अनिताले। उमेरले अहिले २६ बर्षकि मात्र भईन् तर हाल फिन्ल्याण्डको स्थानिय निर्वाचनमा चुनाव लड्दै छन्।

फिन्ल्याण्ड आएको भर्खरै ५ बर्ष पुगेकी अनिता दुई बच्चाकी आमा पनि हुन्। उनले यता आए पछि फिनिश भाषा समेत अध्ययन गरिन् र राम्रोसँग बोल्न सक्ने पनि भईन्।यो सँगै राजनीतिमा प्रबेश गर्न पनि भ्याईन्।तर उनको सफलताको पछाडि ठुलो हात उनकै श्रीमानको रहेको छ।राइमो तुओमानेन उनका श्रीमान् हुन् लामो समय देखि फिनल्याण्डमा उनि पनि राजनीतिमा नै आबद्द छन्।

बिबाह गरेर फिनल्याण्ड ल्याए पछि साक्षर त बनाए नै, त्यतिमात्र हैन अनितालाई राजनीतिमा पनि अघि सारेका छन्। हरियाली पार्टी (ग्रीन पार्टी) को तर्फबाट अनिताले कोपियो नगरबाट उम्मेदवारी दिएकी छन्।रुकुम गोतामकोटको एक दलित परिबारमा जन्मेकी अनिताले जीवनमा यति ठुलो परिबर्तन होला भन्ने सायद सोचेकी पनि थिईनन्।

चुनावमा उनको हारजित जे सुकै होला तर नेपाली समुदायको सोचको अगाडि भने अनिताले भारी बहुमत पाईसकेकी छन्। श्रीमानको राम्रो साथ पाउन सकियो भने लेखपढ,भाषा बोल्न र लेख्न न त उमेर नै छेक्ने रहेछ न समाजले नै,एक ज्वलन्त उदाहरण बनेकी छिन् रुकमेली अनिता।

अप्रिल ९ मा हुने स्थानिय निर्वाचनमा उठ्न हिम्मत दिएका उनका श्रीमान्,अहिले चुनाबी प्रचार प्रसारमा पुरै खटिएका छन्। आँफू अब घर समाल्छु,बाल बच्चालाई समय दिन्छु र श्रीमतीलाई चुनाव जिताएर जनताको प्रतिनिधि बनाउँछु भन्दै राइमो पनि कस्सिएका हुन्।

उचित अवसर र बातावरण पाएमा नेपाली महिलाहरु जस्तोसुकै भूमिका निभाउन पनि सक्षम छन् भन्ने सन्देश दिएको छ । शिक्षा र बालबालिका हेरचाहमा प्रशस्त लगानी, मिश्रीत समाज जस्ता एजेन्डा लिएको हरियाली पार्टी यस अघिको स्थानिय निर्वाचन र सँसदीय निर्वाचनमा पाँचौ नम्बरमा परेको थियो। अनीताको चुनावी नम्बर २३६ रहेको छ।

५४ लाख कुल जनसँख्या रहेको देशमा ३ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ। स्थानीय निर्बाचनमा अन्य नेपालीहरु पनि उमेद्वारको रुपमा खडा भएको हुँदा,नेपाली समुदायमा यसपटक झनै चासो बढेको छ ।

मेहेनती, मिलनसार, इमान्दारको छबी बनाएका नेपालीहरु अब बिदेशी भुमिमा, निती निर्माण तह अर्थात् राजनीतिक क्षेत्रमा पनि आफ्नो बाक्लो उपस्थिती जनाउँन सक्रिय बनेको देखिन्छ।

स्थानीय चुनाव लड्ने अरु नेपालीहरु को-को छन् ?

ब्योमा ताम्राकार

फिन्ल्याण्डको राजधानी हेल्सिन्कीबाट उम्मेदवारी दिएकी ब्योमा ताम्राकार नेपालीहरु बिच चिरपरीचित नाम हो। बिगत २५ बर्षदेखी फिन्ल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकारले यहाँका बिभिन्न सामाजिक सँस्थाहरुमा आवद्द हुनुका साथै नेपाली भाषाका शिक्षिका एबम अनुबादकको भूमिका समेत निभाउदै आएकी छिन्।

हेलसिन्की विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले स्विडिश पिपुल्स पार्टी बाट उम्मेदवारी दिएकी हुन्। उक्त पार्टी हाल फिन्ल्याण्डमा नाम सुनिएका मध्ये पहिलो हो, जुन १९०६ मा दर्ता गरिएको थियो।

ब्योमा ताम्राकार
ब्योमा ताम्राकार

उक्त पार्टी यस अघिको स्थानिय चुनाव र सँसद्को चुनाव दुबैमा सातौँ बरियतामा परेको थियो। अल्पसँख्यक जनता, आप्रबासीका मुद्दामा बढि केन्द्रित उक्त दलबाट उम्मेदवारी दिएकी ब्योमाले पार्टिगत भन्दा पनि ब्यक्तिगत भोट बटुल्न चुनाबी प्रचारमा कम्मर कसेर लागेकी छिन्।

बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी स्वयंसेवक समुह गठन गरेर, नेपाली, बङ्गाली,भारतीय एबम अन्य प्रबाशी मतदाताहरुसँग भेट्घाट एबम परामर्शमा ब्यस्त रहेकी ताम्राकारले आफूले जितेको खण्डमा फिनिश श्रमबजारमा समान अवसर सिर्जना, आप्रवासीहरुका लागि तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, नगरपालिकाको आवास सुविधामा आप्रवासीहरुको समान पहुँच लगायत एजेण्डाहरुमा काम गर्ने बताएकी छिन्।ब्योमा ताम्राकारको चुनाबी नम्बर २२८ रहेको छ

सन्तोषसागर सिलवाल

सन्तोषसागर सिलवाल अर्थात लीला सिलवाल बिगत १५ बर्ष देखि फिन्ल्याण्डमा बस्दै आएका भएका अर्का एक नेपाली युवा हुन्। उनले पनि आउँदो स्थानिय चुनावमा आफ्नो उम्मेदवारी दिएका छन्। गैरआबासीय नेपाली संघ फिनल्याण्ड गठन गर्नमा महत्वपूर्ण भूमिका निभाएका सिलवालले राष्ट्रिय एकीकृत पार्टी (कोकोमुस ) बाट एस्पो नगर परिषदमा आफ्नो उम्मेदवारी दिएका हुन्।

बिगत ७ बर्ष देखि उक्त पार्टिमा आवद्द सिलवाललाई यस अघिको निर्वाचनमै टिकेट दिइएको भएता पनि उनले आफूलाई अझै राजनैतीक रुपमा परिपक्क पार्नु उचित ठानेर पार्टीमा काम गर्दै सघाएका थिए। पारिवारिक मान्यता, ब्यक्तिगत अधिकारहरु एबम उद्यमशिलता जस्ता एजेन्डाहरु उनको दल कोकोमुसले लिएको छ।

सन्तोषसागर सिलवाल
सन्तोषसागर सिलवाल

हाल वहाँ नगर परिषदको शिक्षा तथा बालबिकास कार्य समितिमा आफ्नो भूमिका निर्वाह गरिरहका छन्।सिलवाल आवद्ध पार्टी फिन्ल्याण्डमा सन् १९१८ मा गठन गरिएको थियो जुन यस अघिको स्थानिय निर्वाचनमा पहिलो र सँसदिय निर्वाचनमा दोस्रो ठुलो दल रहेको छ। निती निर्माण गर्ने तहमा जिम्मेवारी लिन पाएको खण्डमा फिनिश समाजको बारेमा भित्रै देखि बुझ्ने र भविस्यका दोस्रो पुस्ता वा नेपाली फिनिशहरुको चौतर्फी बिकासको लागि काम गर्न मार्ग प्रशंस्त हुने विश्वाश सिलवालले लिएका छन्।

फिनिश भाषामा माट्रीकुलेशन पास गरेका, अनुबादकको काम समेत गरेका उनले एमबिए अध्ययन पुरा गर्दै आफ्नो जिम्मेवारी उचित तवरले निर्वाह गर्न सक्ने क्षमता देखाएका छन्। ब्यानर , इभेन्ट , ब्यक्तिगत भेटघाट मार्फत आफ्नो प्रचार गरिरहेका सिलवालका लागि स्थानिय फिनिश एबम आप्रबाशी मतदाताहरु उत्तिकै महत्वपूर्ण छन्।उनको चुनाबी नम्बर ९२ रहेको छ।

गोविन्द रिजाल

गेवीन क्षत्रीको नामबाट फिन्ल्याण्डको साँगितिक क्षेत्रमा चर्चा कमाएका अर्का उम्मेदवार हुन् गोविन्द रिजाल। केहि हप्ता पहिला भोईस अफ फिन्ल्याण्डमा दोस्रो चरणमा पुगेका गायक रिजालको वास्तविक नाम समेत धेरै नेपालीलाई थाहा थिएन होला। तर ६२ हजार मात्र जनसंख्या रहेको फिन्ल्याण्डको सानो शहर सेइनायोकीबाट आँउदो चुनावमा उठ्ने आँट गरेका २६ बर्षे यी युवा सो क्षेत्रका प्रबाशी माँझ प्रेरणाका स्रोत बनेका छन् ।

गोविन्द रिजाल
गोविन्द रिजाल

फिन्ल्याण्डको सबैभन्दा पुरानो पार्टी सोसियाल डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका रिजाल ७ बर्ष देखि फिन्ल्याण्डमा बसोबास गर्दै आएका हुन्। आप्रबाशीहरु, अझ अल्पबिकसित मुलुकका बासिन्दाहरु अति न्युन रहेको उक्त शहरमा निती निर्माण तहमा समेत आफ्नो उपस्थिती हुन सकेमा सामाजिक सेवाका क्षेत्रमा ठुलो सहयोग हुने आशा लिएका छन् ।

बिगतका निर्वाचनहरुमा युवा मतदाताहरु मतदानमा कम सहभागि हुने गरेको तथ्यलाई दृष्टिगत गर्दै रिजालले बिभिन्न फोरम मार्फत यूवा बर्गलाई लक्षित गरेर आफ्नो चुनाबी प्रचार गरिरहेका छन्। उनी आवद्ध पार्टी यस अघिको स्थानिय निर्वाचनमा पहिलो र सँसदिय चुनावमा चौथो बनेको थियो। फिन्ल्याण्ड आएदेखी नै विद्यार्थी सँघ, रेड्क्रस लगायत अन्य सामाजिक कार्यमा लागेका रिजालको राजनैतिक यात्रा युवा पिढी र आप्रबाशीहरुका लागि एउटा सकारात्मक सन्देश बन्नेछ। उनको चुनाबी नम्बर २६० रहेको छ।

नेपालमा स्थानीय चुनाव हुँदै गर्दा,फिनल्याण्डमा आफ्नै रन्को

नेपालमा २० बर्ष पछि स्थानीय निर्बाचनको माहोल तातेको बेला,फिन्ल्याण्डमा पनि आफ्नै चुनाबी रन्को छ। हरेक चार चार बर्षमा हुने स्थानिय निर्वाचनले यहाँ बसोबास गर्ने नेपालीहरुलाई समेत तताएको छ। आउदो बुधवार अर्थात २९ तारिख देखि प्री भोटिङ गर्न पाइने ब्यवस्था समेत छ।

बिदेशमा रहेका मतदाताहरुले पनि दूताबासमा गएर भोट हाल्न पाउने ब्यवस्था गरिएको छ।यस अघिका निर्वाचनमा खासै चासो नराख्ने नेपाली समुदायहरु यो पटक भने आफ्नै उम्मेदवार पाएकोले पनि निकै आतुर देखिन्छन्।

दुई बर्ष देखि फिन्ल्याण्डमा बसोबास गर्दै आएको जुन सुकै बिदेशी नागरिकले पनि मत हाल्न पाउने स्थानिय निर्वाचनमा नेपाली उम्मेदवारहरुको प्रचार प्रसार आशाबादी नै देखिन्छ। सबै नेपाली उम्मेदवारहरु फरक फरक शहरबाट उठेकोले एक आपसमा कुनै मनमुटाव पनि छैन।

स्थानिय मतदाताहरुले पार्टीले उठाएको चुनाबी एजेन्डाको आधारमा मत हाल्ने गर्छन् तर आप्रबासी समुदायमा भने आ आफ्नो उपस्थिती पनि महत्वपूर्ण हुने भएकोले पार्टीगत भन्दा पनि ब्यक्तिगत रुपमा मत दिने गरेको पाईन्छ । जुन परीपाटिले यस्पाली नेपाली उम्मेदवारलाई पनि फाईदा पुग्ने देखिन्छ।