नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित


एसिया कप छनोट फुटबलमा नेपालले फिलिपिन्ससँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले फिलिपिन्ससँग ४-१ को हार व्यहोरेको हो ।मनिलास्थित रिजाल मेमोरियल रंगशालामा जारी खेलको १२औं मिनेटमै मिडफिल्डर बिक्रम लामाले रेड कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए ।

रेफ्रीले उनलाई सिधै रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए । टोलीका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेर गोलको खतरा टारेका थिए ।तर, फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो, जसमा फिल चुकेनन् र १-० को अग्रता दिलाए ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि पुनः फिल योङहस्वेण्डले गोल गरे । २८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।नेपालले पहिलो हाफको अन्तिममा गोल फर्कायो । विशाल राईले गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत गरेका थिए ।तर, दोस्रो हाफमा पनि फिलिपिन्स नै हावी भयो । उसका पटिनोले ७३ औं मिनेटमा गोल गरे र घरेलु टोली ४-१ ले विजयी भएको छ ।

विशाल राईले ३५ वर्षपछि फिलिपिन्सलाई गोल गर्ने इतिहास रचेका छन्। उनले एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा हाल भइरहेको खेलमा गोल गरेका थिए। विशालले पहिलो हाफको अन्तिममा  गोल गरेका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो।

फिलिपिन्सविरुद्ध गोल गरेका विशालले पूर्व राष्ट्रिय स्ट्राइकर गणेश थापाको कीर्तिमानलाई पनि बराबरी गरेका छन्। सन् १९८२ मा थाइल्यान्डको बैककमा आयोजना भएको किङ्स कपको समूह चरणको खेलमा थापाले फिलिपिन्सविरुद्ध गोल गरेका थिए। थापाले त्यतिबेला १३ मिनेटमा गोल गरेका थिए।

उनको गोलकै कारण नेपालले पहिलो पल्ट फिलिपिन्सलाई १–० ले हराएको थियो। त्यसयता फिलिपिन्ससँग खेलको तीन मैत्रीपूर्ण खेलमा नेपाल पराजित हुँदै आइरहेको छ। नेपालले यसअवधिमा फिलिपिन्सविरुद्ध कुनै गोल गर्न सकेको थिएन्।