दूताबास खोल्ने निर्णयको स्वागत गर्दै, स्पेनका राजाद्वारा खुशी ब्यक्त


स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै राजदूत लुईटेल

बसन्त रानाभाट,बार्सिलोना/ फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेलले स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् । रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच स्पेनका लागि गैरआबासीय राजदूतको हैसियतबाट लुईटेलले ओहदाको प्रमाणपत्र पेश गरेकी हुन्। सन् २०१५ मा नै स्पेनको परराष्ट्र मन्त्रालयमा प्रमाणपत्र बुझाए पनि,राजासमक्ष पेश गर्ने समय भने अहिले मिलेको हो। दूताबास नहुँदा स्पेनलाई समेत फ्रान्स स्थित नेपाली दूताबासले हेर्दै आएको हो।

सो अबसरमा,स्पेनमा नेपाली दूताबास खोल्ने नेपाल सरकारको निणर्यलाई स्वागत गर्दै राजाले खुशी ब्यक्त गरेको राजदूत लुईटेलले जानकारी दिईन्। उनले भनिन्,”स्पेनमा दूताबास खोल्ने बारे राजालाई पहिले नै जानकारी रहेछ,यसले झन् दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ,सुमधुर र घनिभूत बनाउने सक्षम हुने विश्वास राजाबाट ब्यक्त भएको छ।” खुवान कार्लोसले ३९ बर्षे शासन अन्त्य गर्दै राजगद्दी त्याग गरेपछि सन् २०१४ देखि ४९ बर्षिय फेलिपे छैटौले स्पेनको राजगद्दी सम्हाल्दै आएका छन्।

राजासमक्ष कुराकानी गर्दै राजदूत लुईटेल
राजासमक्ष कुराकानी गर्दै राजदूत लुईटेल

राजदूत लुईटेलले पनि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देश बिचको सम्बन्ध अझ प्रगाढ होस् भन्दै स्पेनका जनताको लागि प्रगति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देश राजा फेलिपे समक्ष प्रस्तुत गरेको बताईन्।

राजदूत लुईटेललाई बगीमा चढाएर निकै तामझामका साथ राजकीय परम्परागत अनुसार नै राजदरबारमा पुर्याईएको थियो। परराष्ट्र मन्त्रालयमा तीन दशक लामो अनुभव बटुलेकी लुईटेल २ बर्ष पहिले फ्रान्सका लागि नेपाली राजदूतको रुपमा जिम्मेबारी सम्हालेकी हुन्। पेरिस स्थित नेपाली दूताबासले फ्रान्स अलवा स्पेन,मोनाको र पोर्चुगललाई पनि हेर्दै आएको छ।

यसैबीच एनआरएनए स्पेन स्थित क्षेत्रीय समिति म्याड्रिडले राजदूत लुईटेलको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सोमबार सम्पन्न कार्यक्रममा स्पेनबासी नेपालीहरुले आँफूहरुले भोग्दै आएका समस्या बारे राजदूतलाई जानकारी गराएका थिए।