उन्नाईस बर्षिय नेपाली युवाको युरोप सपना..


बसन्त रानाभाट,बार्सिलोना

चितवन घर भएका १९ बर्षिय मनिष सापकोटाको (नामथर परिवर्तन) पढाईमा खासै मन गएन।मध्यम स्तरको पढाई भएका सापकोटाको मनमा विदेश जाने भुत चढी सकेकाले पढाईमा मन मर्दै गएको थियो।एसएलसी पछि १२ कक्षा पनि पास गरेका उनले सुरुमा ईजरायल जाने कोशिस गरे। ६-७ महिना त्यत्तिकै बित्यो तर भिसा लागेन।

ईजरायल पछि युरोप छिर्ने सोच आयो।यसैक्रममा लमजुङ् घर बताउँने दुई जना दलालहरु राजेन्द्र अधिकारी र थकित अधिकारीसँग सम्पर्क भयो। राजेन्द्र भारतको दिल्लीमा थिए भने थकित नेपालमा नै बसेर युरोप पठाउँन मान्छे बटुल्ने काम गर्थे।

काम गर्ने भिसामा सुरुमा पहिले त इस्टोनिया जाने गरी कुरा भयो,तर एउटा,दलाल हुँदै अर्को दलालसम्म सम्पर्क हुँदा अष्ट्रिया पुर्याउँने पक्का भएछ। अन्तत: अष्ट्रिया नै जाउँ नै भन्ने भयो,मनिष लगायत उनका साथिहरुले युरोप जान आँटे। उनि सँगै चितवन घर भएका अर्का नेपाली भरत कार्कीले (नामथर परिबर्तन) पनि युरोप छिरेर पैसा कमाउने सपना बुने।

दलालले सुरुमा रसियाको भिसा लगायो।होटल बुकिङ् र स्पोन्सर पछि दुवैले टुरिष्ट भिसा प्राप्त गरे।भिसा लाग्नु अगाडि नै प्रक्रियाका लागि भन्दै ३-३ लाख रुपैयाँ दलाललाई बुझाई सकेका थिए। युरोप जाने पछि सपिंग देखि साथीभाई भेटघाट,आवाज-जावतमा थप २ लाख खर्च भयो। त्यतिबेला सम्म युरोपका लागि ५ लाख खर्च भईसकेको थियो।

दुवै जनालाई उडाउनको लागि दलालले भारत पुर्यायो।भारतीय ईमिग्रेसनमा राम्रै च्यानल भएकाले उड्नका लागि दिल्ली पुर्याएको रहेछ। दिल्ली पुगे पछि अरु दुई जना पनि थपिए।

टुरिष्ट भिसामा जाने भए पछि ईमिग्रेसनमा पैसा ‘सो’ गर्नका लागि दलालले ८- ८ सय डलर पनि थमायो।

मस्को पुगे पछि एक जना भारतीय लिन पुग्यो। ईमिग्रेसनमा सो गर्न दिएको पैसा लिनु भनेको रहेछ क्यारे। भेट्ने बित्तिकै लिन गएको भारतीयले सोध्यो।

तुम्हारे पास कितने पैसे हैं …?

मेरे पास  है.… भरतले पैसा सहित पर्स नै देखाए,उसले सबै थुतिहाल्यो। मनिष अलि चनाखो बने,६ सय डलर लुकाएछन् बाँकी बुझाए। तर साथिसँग पैसा नै भएँन,उनलाई फेरि २ सय दिए,आँफूलाई २ सय राखे र बाँकी पैसा ८ दिन मस्को रहँदा सक्कियो।

दलाल पनि मस्को आए पछि अब भिसा लागेर हैन स्थलगत लुकिछिपी जाने भन्ने थाहा भयो। अब पुग्ने नै भनेर सबैले आटे। दुई जना रसियन ट्याक्सी लिएर आए।एक जना ईन्डियन सहित तीन नेपाली युरोप सपना देखेर ट्याक्सी चढे।

………………………………………………………………………………

ट्याक्सीमा चढ्नु अघि सबैको मोबाईल बन्द गरेर ड्राईभरले लियो। ट्याक्सी बीच जंगलमा रोकियो।सबैका मोबाईल पुराना हुनाले फिर्ता पाए तर मनिषले पाएनन्। किनकी उनको नयाँ आईफोन फाईभ थियो।आईफोन मात्र हैन,ड्राईभरले केहि बचेको रुबेल सहित खानेकुरा लिएर टाप कस्यो।अबको यात्रा कठिन मात्र हैन,जीवन मरणको दोसाधमा पुग्यो।खाने पिउने केहि छैन। जंगलको बीच अन्कन्टार ठाउँ।

जाड धोकेर आएजस्तो लाग्ने एक रसियन नजिकै आयो। त्यो गाईड रहेछ,अब उसकै साथमा जंगल हिड्नु पर्ने। भाषा केहि बुझिदैन,प्यासले सताउदै गयो,यात्रा निकै कठिन बन्दै गयो।

सानो छिस्रिक्क आबाज आउँने बित्तिकै, गाईडले लुक भन्ने संकेत गर्छ, त्यस पछि झाडीमा लम्पसार पर्नु पर्ने।साउनको महिना जंगलको झाडी र लुक्दा त झन् लामखुट्टेले पुरै शरीर नै ढाकेको हुन्थ्यो।

मनिषले भर्खर किनेको लगेज पनि बोकेका थिए।५० हजार रुपैयाँ खर्च गरेर नयाँ नयाँ कपडाले पनि लगेज भरेका थिए।अब उनका लागि यो नै भारी बन्यो।पाईला नै चलेन अन्तत:भिर्ने झोलामा केहि कपडा कोचेर युरोपको सपना बुनेको लगेज रसियाको जंगलमा मिल्काए।

प्यासले सबै आत्तिएको बेला,मनिषले एउटा रेडबुल निकाले। के पर्छ भनेर लुकाएर राखेका रहेछन्। सबैले थोरै थोरै बाडेर खाए। त्यसले झन् प्यास बढायो,घाटी पोलेर आयो।कता-कता ट्याक्टरको जस्तो आबाज सुनियो,गाईडले फेरि लुक भन्यो। सबै जना फेरि लम्पसार नै परे। केहि समय पछि हेर्दा त गाईड नै गायव।जंगलमा उसले पनि छाडेर गयो,अब ज्यान नै खतरा भएको महसुस गरे।

कसैको साहारा बिना पनि चारै जना जंगलमा हिड्न सुरु गरे। एउटा”डेन्जर” लेखेको ठाउँमा पुगे। हिड्दै जादा सुरुमा अलि अलि चिसो जस्तो भयो। तर बाटो हिलै हिलो रहेछ,खुट्टा मात्र गड्ने होईन्।भरत त आधा जति नै गाडिए। सबैले मिलेर बाहिर निकाले। मनिषको अनुभवमा,खेतमा धान रोप्दा जति खुट्टा गडीन्छ,त्यो केहि पनि होईन,जति त्यो बाटोमा गाडियो।

राति १० बजे देखि हिड्न सुरु गरेको बिहान हुन लाग्यो गन्तब्यको पत्तो नै छैन।पानी प्यास बढेर सबै आत्तिए। खेप्न नै नसके पछि जमिनको हिलो पानी भए पनि पिउने निधो गरे। भुईमा लम्पसार पर्दै,पुस अप गरे झैँ गरी,जमिनमा रहेको हिलो पानीलाई मुखले सुरुप्प पारे। पछि त झन् सबैको घाटी ख्याक ख्याक भयो। आखिर प्यास कहाँ नै मेटिन्थ्यो र ?

डेन्जर लेखिएको करिव १० किलोमिटर जतिको त्यो हिले बाटो पार भईछाड्यो। सास रहे सम्म आश हुन्छ भन्दै यात्रा बढिरह्यो। एउटा ढिस्को जस्तो आयो,ढिस्कोमा चढेर माथि उक्लिए।,त्यहाँ त स्याउ नै स्याउ रहेछन्।आत्तिएर आँखा चिम्लेर नै स्याउ खाए। खादा सर्को पनि पर्यो। त्यस पछि त जता हिडे पनि स्याउ नै स्याउ।

रसियाको बोर्डर कष्ट पुर्बक काटे। हिड्दै जाँदा एउटा गाउँ भेटियो,घर-घरमा कुकुर,बिस्तारै बिस्तारै पाईला चाले। हिड्दा -हिड्दा बल्ल पिच सुरु भयो। हिड्न नै नसक्ने स्थिति बन्यो, बिहानी पख एउटा ठाउँमा यसो टेको लगाएर निदाएछन् ,पछि हेर्दा त्यो ठाउँ त मान्छे गाड्ने ठाउँ पो रहेछ।

लाट्भियाको एउटा शहर आउँन तीन किलोमिटर मात्र बाँकी थियो।झाप्प अगाडि पुलिस आएर समाती हाल्यो।पुलिससँग कोकाकोला रहेछ,मनिषले घुटुघुटु पिए,प्यास थोरै मेटिए पछि, बल्ल पो डराए ! अब के हुने हो ?

ईमिग्रेसनको पुलिसलाई जिम्मा लगाईयो।त्यहाँ पनि सुरुमा ५ लिटर पानी आयो, सबैले राम्रोसँग प्यास मेटाए। त्यसको २४ घण्टा सम्म केहि पनि पाएनन्। ट्रासलेटर आएर उल्था गर्दा नामथर,घर सबै झुटो बोले। दिउँसो ४ बजे गाडीमा हालेर क्लोज क्याम्प तिर पुर्यायो। कपडा खोलेर नाङ्गै बनाएर चेक गर्यो। त्यहाँ त नेपाली ईन्डियन,अरु टन्नै यसरी नै समातिएका रहेछन्। लाग्यो,युरोपको भुतले धेरैलाई नै छोएको रहेछ।

रसिया छदा एजेन्टले भन्थ्यो लाट्भिया पुर्याएर ४० किलोमिटर उता नै लगेर छोडिदिन्छ।अनि होटलमा लगेर राख्छ। फिनल्याण्ड पुर्याउन मान्छे लिन आउँछ भन्दै थियो। तर ४० किलोमिटर यतै रसियाको जंगलमा नै छोडिदियो। मनिष त्यतिबेलाको अबस्था सम्झदै भन्छन्,”त्यति बेला मन नै कस्तो कस्तो बन्यो,अब घर कसरी फर्कौ जस्तो पो लाग्यो।”

दलालले घर तिर सम्पर्क गरी सकेका रहेछन्। छोरा जेलमा छ,छुटाउनको लागि भनेर ४ लाख बुझिसकेका रहेछन्।यता केस चलिरहेको थियो,नाम ठेगाना झुटो बोल्दा,झनै अप्ठारो पर्यो। रसियामा नै पासपोर्ट च्यातेर हिडेको,अब छुट्नलाई नागरिकता नभई नहुने। फेरि निबेदन दिएर नाम ठेगाना सच्चाए,।यो बीचमा मनिषको त डिपोर्ट लेटर आयो,झनै तनाव दियो।१०-१५ दिन सम्म त निदाउन सकेनन्।

फेरि अपिल गर्न पाईने हुँदा आँफुलाई सम्हाले।नागरिकता मगाउँने क्रममा, दलालले घर सम्पर्क गरेर अर्को ४ लाख पनि बुझे। नागरिकता आयो,कोर्टले छोड्ने फैसला दियो। दलाल भने सम्पर्कमा नै थियो। ५८ दिन क्लोज क्याप्पमा बिताउँदा घरमा पनि केहि पटक सम्पर्क भएको थियो। पैसा माग्ने चक्करमा दलालले,सबै अबस्था बताईसकेको हुँदा थप नयाँ कुरा केहि थिएन। कति जना नेपालीहरु भने यही ठाउँबाट नै डिपोर्ट भएको पनि सुनियो। अन्तत: एकै चोटी समातिएका ४ जना,एकै दिन छुटे। युरोपको सपनाको फेरि अर्को चरण सुरु भयो।

……………………………………………………………………..

पुन:दलाल राजेन्द्रसँग सम्पर्क भयो,लाट्भियाबाट इस्टोनिया ट्याक्सीमा पुग्ने कुरा भयो। ८ -९ घण्टाको यात्रा पछि ईस्टोनिया पनि पुगे। राजेन्द्रले फेरि रसिया फोन गर्यो,रसियाबाट फिनल्याण्ड सम्पर्क भए पछि एउटा बंगाली लिन आउने पक्का भयो।अब यात्रा अष्ट्रिया होईन जर्मनी तिर मोडियो। जर्मनी पुगेर केहि गर्न सकिन्छ,कमाईन्छ कि भन्ने आशा पलायो। लाट्भिया देखि जर्मनी पुर्याउने भन्दै दलाललाई घर सम्पर्क गरेर पुन: १ लाख ५० हजार रुपैयाँ बुझाए।

फिनल्याण्डबाट लिन आउने बंगालीको डकुमेन्टमा सबै जना पालै-पालै यात्रा गर्नु पर्ने भयो।किनकी उसको नामको डकुमेन्ट प्रयोग गरेर एक-एक जना पानी जहाजबाट(सिप) फिनल्याण्ड पुग्नु पर्ने।एक्ला -एक्लै यात्रा गर्नु पर्ने भएकाले सिप हल भित्र कसरी जाने भनेर सिकाउन लाग्यो।

एक जना मात्र आउँ भनेको रहेछ,सबैलाई बोलाएको जस्तो लागेर एकै चोटी छिर्यौ। उ पनि आत्तियो,पछि हामी पनि डरायौ।एक्लै जानु पर्ने हुँदा कसरी छिर्ने भनेर सिक्नु पनि पर्ने,त्यसैले सबैलाई हतार भयो एकै चोटी छिरीयो। डकुमेन्ट एक जनाको,४ जनै भित्र पस्यौ।फेरि टिकट क्यान्सिल गरेर,सबैलाई बाहिर निकाल्यो।

त्यति बेला राम्रो चेकिङ् भएको भए फेरि हामी इस्टोनियाको जेलमा हुनथ्यौ।हतार हतार बाहिर निकालेर ट्याक्सीबाट एउटा बस स्टेशन नजिकै लगेर छाड्यो।पछि रिसाउँदै गालि पनि गर्यो,सम्झायो पनि।

बंगालीले एक जनालाई फिनल्याण्ड पठायो,बाँकी ३ जनालाई यही बस स्टेशनमा बस्न भन्दै आँफू होटल तिर लाग्यो। अब रातभर बस स्टेशन र नजिकै रेष्टुरामा यता,उता गर्दै बिताउनु पर्ने भो। बिहान ७ बजे मात्र उ आउँदै छ।केहि खानाको लागि २० युरो पनि दिएको थियो।मध्यरातमा रेष्टुरामा बसेर केहि खाई रहेका थियौ,एक्कासी पुलिस देख्यौ,थर थर भईहाल्यौ। केहि किनेर पुलिस गयो,केहि घण्टा पछि फेरि अर्को पनि पुलिस देख्यौ फेरि डरायौ। आखिर त्यहाँ ड्युटी परिबर्तन हुँदै गर्दा आउँने-जाने चल्ने नै रहेछ।

बिहान ७ बजेको समय दिएको बंगाली ११ बजे सम्म पनि आएन,ठुलै तनाव भयो।रात भरको अनिदो त्यस माथि बिहान ११ बजेसम्म पनि नआउँदा आशा मरिसकेको थियो।कतै छोडेर गयो कि भन्ने चिन्ता बढ्यो।एकदमै चिसो,बाहिर हिउँ परिरहेदा स्टेशनमा रात बिताउदा पनि निकै मुस्किल थियो तर रसियाको जंगललाई सम्झँदा भने स्वर्ग नै।

करिव १२ बजे तिर अन्तत् उ आईपुग्यो।तीन दिन नसुतेकोले मजैले सुतिएछ थाहै भएँन भन्यो। पानी जहाजमा (सिप) जाने फेरि अर्कोको पालो आयो। एउटै पानी जहाज भित्र सयौ गाडी छिरेको देख्दा,र पहिलो पटक समुन्द्रलाई देख्दा दुखेको मन पनि कता कता खुशी भयो। पछि थाहा पायौ, इस्टोनियामा यही बंगाली,पछिल्लो ग्रुपलाई ल्याउँदा समातियो रे। केहि नेपालीहरु जेल पनि परेछन्,पछि डिपोर्ट पनि गरेको रहेछ। तर हामी पार हुन सफल भयौ।

हामीलाई फिनल्याण्ड पुर्याएको बापत बंगालीलाई राजेन्द्रले पैसा पठाएन। त्यसैले फिनल्याण्ड पुगे पछि एक दिन नाटक गर्नु पर्यो। फोन गरेर भन्यौ, “लौ न हामीलाई घरबाट निकालिदियो,पैसा दिनु नत्र बर्बाद भयौ।” यति भने पछि बल्ल पैसा हालिदियो। हामीलाई नाटक गर्न लगाएर बंगालीले पैसा उठाई छाड्यो। जर्मनीसम्म पुर्याउने जिम्मा लिएकोले उसले फिनल्याण्डबाट नक्सा देखाउँदै हामीलाई बिदाई गर्यो।

…………………………………………………………………….

बस,ट्याक्सी,रेल हुँदै फिनल्याण्डबाट स्विडेन,डेनमार्कवाट हुदै जर्मनी पुग्यौ।यो सबै गरी ४८ घण्टाको सफर थियो। जम्मा दुई कप कफी खायौ,एकदमै भोक लागिरहेको थियो।साथमा मनग्य पैसा नभएकाले खानु अघि दुई पटक सोच्नै पर्ने थियो।तर पनि बाँच्नका लागि खानै पर्ने रहेछ,जर्मनी उत्रने बित्तिकै केएफसी देख्यौ।पैसालाई भोकले जित्यो,केहि मगाएर खायौ।

जर्मनीको हाम्बर्ग पुग्न त पुग्यौ, तर बस्ने कुनै ठेगान थिएन। चिने जानेको कोहिँ पनि थिएन।नेपाली जस्तो लागेर एक जनासँग कुरा गर्यौ तर उनि पाकिस्तानी रहेछन्।बस्ने बास मिलाई दिन अनुरोध गरे पछि उनले कोठामा लिएर गए। धेरै दिन पछि नुहाउँन पनि पायौ।उनले धेरै ठुलो गुन लगाए। युरोपमा भन्ने बित्तिकै कसले बास दिने रहेछ र अहिले आएर बुझेका छौ।

सेन्टर स्टेशन अगाडी एउटा नेपाली रेष्टुरेन्ट पनि थियो,एक जना नेपाली देखेर धेरै नै खुशी भयौ।सबै बास्तबिकता बताएर उनलाई सोध्यौ,दाई यहाँ बस्न पाईन्छ ? उनले भने,”मज्जाले खाना र बस्न पनि पाइन्छ।” हामीले खुशी हुँदै सोध्यौ,दाई कहाँ पाईन्छ ?

निकै रुखो बोलि बोल्दै भने,”पाईन्छ,उ त्यहाँ गएर,फिङ्गर देउ,त्यस पछि बस्न नि पाईन्छ,मज्जाले खाना पनि पाईन्छ।” सोच्यौ आखिर मन नै ठुलो कुरा रहेछ,एउटा पाकिस्तानीले बास दियो,एक छाक खुवायो तर एउटा नेपालीले बचन मात्र लगाए,भत भत् पोल्यो अहिले पनि पोलिरहेको छ।”

फेरि त्यहि एजेन्टलाई नै सम्पर्क गर्यौ,आखिर हाम्रो उपाय केहि भएन,शरणार्थी केस गर्यो भने भत्ता पनि पाइन्छ भन्ने धेरैले सल्लाह दिए,भत्ता आउँने लोभले आखिर त्यही नै निर्णय गर्यौ।

………………………………………………………………

मनिष निकै भाबुक हुँदै भने,”फेरि जर्मनीको एउटा क्याम्पमा पुग्यौ,१७ दिन सम्म एउटा कोठा भित्र नै बस्नु पर्यो। त्यो बेला मेरो अनुहार भरी ठेउला आए,दुई हप्ता सम्म बिरामी परे। न त मोबाईल न ईन्टरनेट,ति पलहरु जीवनका साह्रै उराठ लाग्दा पलहरु बने। जीवनमा जब मन बहकिने कुनै बाटो नै हुदैन नि त्यति बेला सार्है उराठ लाग्ने रहेछ। घर परिबार साथीभाई आफन्तको महत्व त्यति बेला बुझे र धेरै मिस पनि गरे।जीवनमा परेर धेरै कुरा सिकिन्छ भनेको हो रहेछ,मैले सानै उमेरमा जिन्दगी बुझे।

अन्तत: ४ महिनाको जर्मनी बसाई पनि टुंगिने भो। लाट्भियामा दिएको फिङ्गर जर्मनीमा पनि देखियो,केस उड्ने निश्चित भए पछि फेरि उपाय सोच्यौ। जर्मनीको एक जना नेपाली दाईको सम्पर्कबाट स्पेनका लागि कुराकानी भयो,अबैधानिक आप्रबासीलाई स्पेनले डिपोर्ट नगर्ने खबर पाए पछि पाईलाहरु स्पेन तिर मोडिए। घरबाट फेरि पैसा मगाएर नयाँ जीवनको खोजिमा हिड्यौ। यो बिचमा एक जना साथी पोर्चुगल तिर लागे। ट्याक्सीमा जर्मनीबाट १७ घण्टाको यात्रा भयो। बेल्जियम,फ्रान्स हुँदै स्पेनको बोर्डर सान सेबास्तियन पुग्यौ। फेरि त्यहाँबाट ६ घण्टाको यात्रा हुँदै बार्सिलोना आईपुग्यौ।

……………………………………………………

१९ बर्षको उमेरमा मनिषले ११ बटा देशको बोर्डर टेक्दै स्पेन सम्म आईपुग्नको लागि करिव १७ लाख रुपैयाँ खर्चेका छन्। उनिसँगैको र पछिल्लो ग्रुपमा यसरी नै आएका ४-५ जना युवाहरु हालै बार्सिलोना भित्रिएका छन्।

रसिया देखि नै स्थल मार्ग हुँदै उनीहरु स्पेन छिरेका हुन्। उमेरमा मनिष १९ बर्षका भए पनि अन्य युवाहरु २१- २२ बर्षको हाराहारीका छन्। प्रमाणपत्र तहको अध्ययन पुरा गरे पछि युरोपको सपना बोक्दै यति ठुलो खर्चमा यहाँ सम्म आईपुगेका हुन्।

अबको भविष्य के त ?

हुन न यसरी नै जिन्दगीलाई दाउमा राखेर एक दशक अगाडि पनि थुप्रै नेपालीहरु युरोप छिरे।द्वन्दकालको समय भएकोले धेरै देशहरुमा,बस्ने र काम गर्ने अधिकार प्राप्त गर्न सजिलो भयो। अझ युरोपमा चलन चल्तीको भाषामा धेरैको कार्ड बन्यो वा पेपर पास भयो।आर्थिक अबस्था पनि राम्रो बनाए।अहिले अबस्था परिबर्तन भएको छ,तर पनि कमाईन्छ कि भन्ने आशामा,युवाहरुले दिन प्रतिदिन युरोपको मोह घटाएका छैनन्।

अबैधानिक रुपमा रहेका आप्रबासीका लागि स्पेन र पोर्चुगलमा केहि खुकुलो नीति भए पनि अन्य देशमा बसेर बैधानिक बन्ने सम्भाबना लगभग शुन्य छ। अन्य देशमा लुकिछिपी काम गरेर केहि कमाउँन सक्लान् तर भविष्य सुनिश्चित देखिदैन।अन्य मुलुकहरुमा अबैधानिक रुपमा काम गर्दा गर्दै समातिए सिधै डिपोर्ट हुने खतराले,स्पेन र पोर्चुगललाई कार्डको लोभमा गन्तब्य बनाएको पाईन्छ।

तर यी दुवै मुलुकमा पनि पहिलेको जस्तो अबस्था रहेंन। लाखौ ऋण गरेर,यता आएर कमाउछु र ऋण तिर्छु भन्नु त दिवा सपना नै हो। अझ यही रहन र कार्ड बनाउँन उल्टो खर्च गर्नु पर्ने बाध्यता छ। काम नपाएको खण्डमा घरबाट पैसा मगाएर जीवन जिउनु पर्ने बाध्यता छ।

पोर्चुगलमा पछिल्ला दिनहरुमा कार्ड बन्न असहज बन्दै गएको छ भने स्पेनमा लामो समयसम्म कुर्नु पर्ने र निकै खर्चिलो छ।यहाँको नगरपालिकामा दर्ता,भाषा कक्षा लगायत अन्य कागाजी प्रक्रिया पुरा गर्न जरुरी छ,यसको लागि तीन बर्ष बिताउनु पर्छ। यो अबधिमा बैधानिक रुपमा काम गर्ने अधिकार सरकारले दिएको हुँदैन। लुकिछिपी काम गर्नु पर्ने बाध्यता छ,यसले ज्यादै न्यून कमाई देखि खाना बस्नमा नै धौ धौ परेको देखिन्छ।यस्तो अबस्थामा भर्खर लाखौ खर्च गरेर आएकाहरुले कसरी ऋण तिर्ने ?

यति मात्र हैन तीन बर्ष पछि बैधानिक बन्नका लागि करिव १० लाख रुपैयाँ बराबरको खर्च गर्नु पर्ने हुन्छ। त्यो रकम पनि घरबाट नै मगाउनु पर्ने अबस्था आयो भने,कसरी चल्ने ? कार्डको चक्करमा ,कति सम्मको ऋणको भारी बोक्ने ? यो त यहि बाट नै सजिलै अनुमान लगाउँन सकिन्छ।

युरोपको बास्तबिकता नै यही हो। ऋण गरेर लाखौ खर्च गरेर जीवनलाई दाउमा राखेर अबैधानिक रुपमा युरोप छिर्दा भविष्य नै अन्धकार छ। १५- १७ लाख ऋण बोकेर युरोप आउँदा घरमा ब्याज तिर्ने पैसा समेत पठाउँन नसक्नु अर्को ब्रजपात हुनेछ।

लाखौ रुपैयाँ दलाललाई बुझाएर,जीवन जोखिममा राख्दै युरोपको सुन्दर सपना देख्नु ठुलो भ्रम नै हो।आँफूलाई मात्र हैन परिवारलाई समेत मानसिक तनावबाट जोगाउने हो भने आजैबाट सचेत हुन जरुरी छ।