एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा जिसी,थापा र सुवेदी सिफारिस


पोखरा – नेकपा एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा तीन जनाको नाम सिफारिस भएको छ । उमेदवार छनोटका लागि सर्वसम्मतीको प्रयास असफल भएपछि मतदान मार्फत उमेदवार सिफारिस गरिएको हो ।

मेयरमा पोलिटब्यूरो बैकल्पिक सदस्य एबं पूर्व जिल्ला अध्यक्ष मान बहादुर जिसी, जिल्ला अध्यक्ष एबं साविक पोखरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण थापा र एमाले अनुसासन आयोगका सदस्य मित्र कुमारी गुरुङ सुवेदीको नाम सिफारिसमा परेको छ ।

मेयरका लागि ८ जनाको उमेदवारी परेकोमा महिला एक जना अनिवार्य सिफारिस गर्नुपर्ने भएकाले गुरुङ सर्वसम्मत भइन् । अन्य ७ जना विचमा भएको मतदानबाट जिसी र थापा सिफारिसमा परेका हुन् ।

उमेदवार छनोटका लागि पोखरा लेखनाथ महानगर समन्वय समितिमा रहेका ४५७ सदस्य मध्ये ३९९ जनाले मत खसालेका थिए । जस मध्ये जिसीले २४६ मत प्राप्त गरे भने थापाले २२१ मत प्राप्त गर्दै केन्द्रमा सिफारिस हुन सफल भए ।

मेयरका लागि उमेदवारी दिएका श्रीनाथ बरालले ११७ मत ल्याए भने युवा संघका अध्यक्ष राजिव पहारीले ८५ मत मात्रै प्राप्त गरे । अन्य उमेदवारहरु पुष्पज्योती ढुंगानाले २०, नारायण प्रसाद वास्तोला १५ र मदन काजि श्रेष्ठले १३ मत प्राप्त गरे ।

उपमेयरमा प्रभा कोइराला, मञ्जुदेवि गुरुङ र देवका पहारी त्रिपाठीको नाम सिफारिसमा परेको छ । उपमेयरका ७ आकांक्षी विचमा भएको चुनावी प्रतिश्र्धामा कोइरालाले २७५, गुरुङले २११ र पहारीले १५६ मत प्राप्त गरी केन्द्रमा सिफारिस भएका छन् । अन्य उमेदवारहरु मिना गुरुङले १३४, उमा परियारले ११९, अर्की मिना गुरुङले १०३ र छलि कुमारी कुँवर सुवेदीले ६२ मत प्राप्त गरे ।

मेयर र उपमेयरमा सिफारिस भएका तीन तीन जना मध्ये केन्द्रले मेयरमा एक र उपमेयरमा एक जनाको नाम चयन गरी उमेदवारको टुङ्गो लगाउनेछ । सर्बसम्मतीको प्रयास विफल भएपछि यसअघि एमालेले रुपमा गाँउपालिकामा पनि मतदान मार्फत उमेदवार टुङ्गो लगाएको थियो ।