“एल क्लासिको” दुई महारथी क्लब रियल,बार्साको भिडन्त


स्पेन/एल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोना बिच आईतबार  हुने खेलका लागि करौडौ फुटबल प्रेमीहरु प्रतिक्षा गरिरहेका छन्। विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्तले संसारकै ध्यान फेरि स्पेन तिर नै तानेको छ। शनिबार रियलको घरेलु मैदानमा, स्पेनको समय अनुसार राती ८ :४५ बजे खेल सुरु हुँदैछ।

लिग लिडर रियल ७५ अङ्कका साथ शिर्ष स्थानमा छ। तर ३२ खेल खेलेको बार्सिलोना ७२ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ। एक खेल खेल्न बाँकी छदै रियल ३ अङ्कले अगाडि हुँदा, उपाधि रक्षाका लागि पनि एल क्लासिको बार्सिलोनालाई जित्नै पर्ने दबाब छ।

अङ्क दुरी घटाउँने दाउमा देखिएको बार्सिलोना पछिल्लो क्रममा लयमा भने देखिएको छैन। भर्खर च्याम्पियन्स लिगको क्वाटरफाईनलबाट बाहिरिएको बार्सिलोनालाई आफ्ना समर्थकलाई खुशी तुल्याउन भए पनि खेल जित्ने दाउमा देखिन्छ। यता रियल भने एल क्लासिको जित सँगै लिग उपाधि सुरक्षित गर्ने रणनीतिमा छ।

कस्तो छ एल क्लासिको रेकर्ड ?

शनिबार हुने क्लासिको दुवै टोली बीचको २३३ औं भिडन्त हो । मैत्रीपूर्ण तथा अन्य खेल गरि २६५ पटक एक अर्का बीच भिडे पनि अफिसियल रुपमा भने २ सय ३३ पटक भिड्दै छन्। ला-लिगाको लागि भने दुवै टिम शनिबार १ सय ७४ औ पटक आमान्नेसामान्ने हुँदै छन्।

समग्रमा अफिसियल खेलमा म्याड्रिडले ९३ र बार्सिलोनाले ९० खेलमा जित हासिल गरेका छन् । ४९ खेल भने बराबरीमा नै सकिएको छ। तर मैत्रीपूर्ण खेललाई पनि गणना गर्दा २६५ खेलमा बार्सिलोनाले १०९ खेलमा र म्याड्रिडले ९७  खेलमा जित दर्ता गरेको छ। ५९  खेल बराबरीमा सकिएको छ।यस्तै लिगामा मात्र, १७३ खेलमा म्याड्रिड ७२ खेलमा बिजयी छ भने बार्सिलोनाले ६८ खेलमा जित दर्ता गराएको छ। ३३ खेल बराबरीमा सकिएको छ।

मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा

पछिल्लो दशकमा त लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोका कारणले पनि एल क्लासिको झनै चर्चित छ। दुवै व्यक्तिगत प्रतिस्पर्धालाई पनि एल क्लासिको जोडिदिएको छ।

एल क्लासिको सुरु हुन भन्दा हप्तौ दिन अघि देखि नै मेस्सी र रोनाल्डोका फ्यानहरुले सामाजिक संजालमा टिकाटिप्पणी गर्न सुरु गर्छन्। बालोन डि’ओर, फिफा बेष्ट प्लेयर अवार्डका लागि पनि एल क्लासिकोको प्रस्तुतिलाई बिशेष रुपमा हेर्ने गरिन्छ। अहिलेसम्म क्लासिकोमा मेस्सिले सर्बाधिक २१ गोल गरेका छन्। यता रोनाल्डोले १६ गोल गर्न सफल भएका छन्।