मेसीले एल क्लासिकोमा जादु देखाउदा, रियल म्याड्रिड स्तब्ध


स्पेन/ बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी चम्कदा रियल म्याड्रिड स्तब्ध बनेको छ। ‘एल क्लासिको’ भिडन्तमा रियलले आफ्नै घरेलु मैदानमा ३ गोल खाए पछि स्तब्ध बनेको हो। बार्सिलोनाका लागि मेसी एक्लैले २ गोल गरे भने इभान राकिटिकले एक गोल गरे।

खेल २-२ गोलको बरबारीमा सकिन केहि सेकेन्ड मात्र बाकि रहदा मेसिले जादु देखाए। म्याड्रिडविरुद्ध ९२ मिनेटमा गोल गरेपछि केही भावुक बनेका मेसीले मैदानमै जर्सी खोलेका थिए। र, उनले आफ्नो जर्सी म्याड्रिडका घरेलु दर्शकहरुलाई देखाएका थिए।उनकै गोलका कारण अन्त्यमा बार्सिलोना ३–२ गोलले विजयी भयो। लिगा उपाधि पनि बार्सिलोनाका लागि खुल्ला बनेको छ।

बार्सिलोनाविरुद्ध कासेमिरोले २७ मिनेटमा पहिलो गोल गरेका थिए। कप्तान सर्जियो रामोसले हानेको बल पोलमा लागेर रिबोन्ड भएको अवस्थामा अनमार्क रहेका कासेमिरोले गोलमा परिणत गरेका थिए।गोल अफसाईट भए पनि रेफ्रीले मान्यता दिए।

मेसीले ६ मिनेट भित्रै गोल फर्काए। उनले डिबक्स भित्र म्याड्रिडका ३ डिफेन्डर रहेको अवस्थामा तीनै जनालाई चकित तुल्याउदै उत्कृष्ट गोल गरे। १९ मिनेटमा मार्सेलोले कुमले हिर्काएका कारण उनको मुखको माथिको छाला फुटेको थियो।यो निर्णयमा पनि रेफ्री बिबादित बने,कतिपयले यसलाई सिधा रेडकार्डको रुपमा हेरेको भए पनि रेफ्रीले कुनै निर्णय लिएनन्।

बार्सिलोनाका लागि दोस्रो गोल इभान राकिटिकले गरे। उनले दोस्रो हाफको ७३ मिनेटमा  मेसीले डिबक्स बाहिर दिएको बललाई उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए। यता मेसीलाई लडाएको आरोपमा रियल म्याड्रिडका कप्तान सार्जियो रामोसले रातो कार्ड पाए। बल लिएर अगाडि बढिरहेको अवस्थामा ७७ मिनेटमा रामोसले खराब ट्याकल गरेका थिए। रामोसलाई रेड कार्ड दिनु अघि कासिमेरोले दोस्रो पहेलो कार्ड पाउँदै मैदान बाहिरिनु पर्ने कतिपयको आकलन थियो तर रेफ्रीले त्यस्तो निर्णय गरेनन्।

रामोसलाई गुमाएको रियल म्याड्रिडले सान्टियागो बेर्नाबेउमा खेललाई २–२ को बराबरीमा ल्यायो। अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका जेम्स रोड्रिगेजले ८५ मिनेटमा गोल फर्काएपछि रियलले खेललाई बराबरीमा ल्याएको थियो। अनमार्क रहेका जेम्सले ६ यार्ड नजिकै बाट उत्कृष्ट गोल गरेका थिए।

अतिरिक्त समय २ मिनेट थपिएको खेलमा केहि सेकेन्ड होल्ड गर्न नसक्दा रियलले अन्तत हार ब्यहोर्नु पर्यो। मेसिले खेलको अन्तिम सेकेण्डमा जादु देखाउंदै अन्तत बार्सिलोना ३-२ ले बिजयी बन्यो।