अस्तित्वको सम्मान


- दुर्गा न्यौपाने

जब म जन्मे, बेनाम जन्मे। न हरमा लुगा न मनमा चिन्ता। केवल थिएँ, एक मानव आकृति। हुन त ममात्र कहाँ हो र – हरेक मान्छे मजस्तै जन्मन्छन्। नाङ्गै अनि खाली तर समयसँगै मान्छे अनेकौं लुगा बदल्छ अनि विस्तारै भरिन्छ, खाली नहुनका लागि। मान्छे जसरी भरिँदै जान्छ, ऊ त्यस्तै बन्दै जान्छ। धेरै मान्छेमा केही मात्रले आफूलाई रित्याउँछन् बाँकी सब भरिएरै जान्छन्।

आफूलाई रित्याउन कहाँ सजिलो छ र ? अत्यन्त गाह्रो कार्य हो यो। आफूलाई खाली बनाउन नसक्दा कोही यत्तिकै सकिन्छन्। कोही पागल हुन्छन् भने कोही अपराधी। तर म न पागल भएँ, न अपराधी नै बनें। मान्छे जन्मेपछि मर्छ एकदिन। म पनि मरुँला। मर्ने कुरा प्राकृतिक कुरा हो न की सामाजिक। मान्छेले यसलाई किन सामाजिक बनाए ? आजसम्म बुझ्न सकेकी छैन। कसैले बुझाएको पनि छैन। मान्छेहरू बुझ्न पनि खोज्दैनन्। चुपचाप बस्छन्।

जब म सधुवा थिएँ, मलाई थाहा थिएन विधवाको व्यथा। साँचो रहेछ नमरी स्र्वर्ग देखिँदैन भनेको। मैले पनि देखिनँ। हुन त त्यसताका कहाँ थिए र आजकलका जस्ता अभियान र कार्यक्रम – सबै आवाज दबिएका, सुसुप्त थिए। त्यति जागृत थिएनन्। विधवाका आवाज बिलाउँथे हावामा। विधवाकै मनभित्र विशाल आँधी बनेर गुडुल्किएर बस्थे, बाहिर निस्कन नसकेका आँधी, तुफान र चक्रवात। बाहिर आएको भए सायद सुनामी बनेर आउँथ्यो। त्यो उकुसमुकुस पृथ्वीको गर्भमा भएको लाभाजस्तै विधवाभित्र हुन्थ्यो। त्यसो त आजकल छैन पनि हैन तर अचेल बेलाबेलामा ज्वालामुखीको रूपमा छिटफुट कहीँ कहीँ धर्ती चिरिएर निस्कन्छ कि भन्ने चेत झिनो रूपमा नपसेको पनि हैन।

विशाल आकाशले थिच्यो उठ्नै नसक्ने गरी, म विधवा भएको दिन। लाग्यो, मबाहेक कोही छैन विधवा। मेरो मुखभरी कालो पोतियो। म कुमान्छे भएँ। अलच्छिना। जुन गाउँ घरका जनज्रि्रोमा गाली बनेर वर्षन्थ्यो। सुन्न पनि गाह्रो हुने शब्द थियो त्यो। आफैंमाथि बज्रने भयो अब। पोर्इ टोकुवाई भन्लान् सबैले। यस्तै-यस्तै लहर आए मेरो मनका समुद्रमा। रंगहीन भएँ म। रातो रंगको कुनै प्रवाह नभएकी म । त्यो दिनदेखि ताजा भएर रातो रंग आँखामा सल्बलाउन थाल्यो। कहीँ रातो सारी बनेर।

कहिले रातो टीका बनेर। रातो रंगले कल्पना रातै हुन्थ्यो। तर आँखा रोएरै राता हुन्थे। बिझाउँथे हेर्नै नहुने गरी। चैतको डँढेलो जस्तै फैलन्थ्यो मनभित्र आगोका लप्का। अनि पोल्थ्यो भतभति, असह्य बनाएर। चेतना प्रायः शून्य हुन्थ्यो। रातो रंगसँग डराउने भएँ म। रंगसँग मात्र कहाँ र – हरेक चिज डरलाग्दो देखिने कस्तो अचम्मको तन्द्रा बन्यो, पूरै दैनिकी।

होइन रहेछ ममात्र विधवा। यता हेरे पनि विधवा उता हेरे पनि विधवा। कुनै उमेरको पावन्दी छैन र थिएन। श्रीमान् नै नभोगेका बालविधवा पनि देखें, त्यो बेला निःशब्द भएँ म। झन् कहाली लाग्यो। हेर्दै जाँदा प्रायः कुनै घर छैनन् विधवा नभएका। विधवालाई किन घृणा गर्छन् मान्छेहरू अनि यो समाज – साँच्चै आमालाई घृणा गरेको की छोरीलाई – वा आफ्नै दिदीलाई, बहिनीलाई वा आफैलाई ? अर्को प्रश्नले घोच्यो त्यसैगरी। विदुर पनि हुन्छन्। जीवनभरी भलै नबसूँन् एक्लै। लाञ्छनारहीत विदुर केही समस्या नै छैन। न रंगको समस्या। न आरोप प्रत्यारोपको डर। मुस्किलले एक वर्ष बित्ला अनि त पुनः हराभरा जिन्दगी। आखिर किन यस्तो विभेद ? गतिलो उत्तर नभएको निरुत्तरित सवाल हो, यो।

भनिन्छ, महिलालाई मात्र एक सेक्सटोयको रूपमा हेर्ने चलन चलेको धेरै भएको छैन। पिरियड हुँदा १७ दिन लुकाउनुपर्ने बाध्यता यही थियो। छाउपडी प्रथाको बाध्यता पनि यही थियो। ता की कोही कसैको गिद्धे आक्रमणबाट बच्न सकोस्। आखिर त्यो स्थायी उपाय थिएन। अबुझ चलन थियो। चेतयुक्त समाधान थिएन। अझसम्म पनि जेठाजुलाई छुन हुन्न भनिन्छ। छुनमात्र कहाँ हो र ? कपाल छोप्नैपर्ने थियो। कहीँ कहीँ त जेठाजु र ससुराले देख्न पनि निषेध गरिन्थ्यो। घुम्टोभित्र बस्न पर्थ्यो। अझै पर्छ पनि ठाउँ ठाउँमा। यी सबै चलन यौन अपचलन नहोस् भन्ने नै हो, रहेछ पनि। सरल भाषामा भन्दा आफ्ना वरिपरिकासँग जोगाउन गरिएका उपचार विधि।

त्यस्तै त होला विधवासँग जोडिएर बनेका संस्कार र सँस्कृति पनि। रातो लगाउन नहुने किनकी रातो लगाउँदा महिला राम्री देखिन्छे। झन् शृंगार गर्दा त भन्नै परेन। पिपासु नजरबाट जोगाउन र विधवा स्वयंको मन वहकिनबाट रोक्न यसो गरेको हुनुपर्छ। मनै हो वहकिन सक्छ। सादा जीवनशैली र सात्विकी भोजन गर्नुपर्ने पनि यौनसँगै जोडिएको कुरा हो। सभा समारोहमा देख्न नहुने पनि त्यही भएर हो। धेरै मान्छेका हुलमा धेरै स्वभावका मान्छे भेटिन्छन्। आँखाबाट कोही मनसम्म पुग्न सक्ने भयो। फेरि मनबाट व्यवहारसम्म पुगे जीवनको डुंगामा हलचल आउन सक्छ। घरका साना-साना बाबु नानीको विचल्ली हुन सक्छ।

मन भएका मान्छे र नभएका मान्छेका व्यवहार पनि पृथक हुन्छन्। त्यहाँ जानबाटै वञ्चित गरिदिएपछि त दुर्घटना हुनबाट जोगिने भयो। परपुरुषबाट जोगाउन अशुभ भनिएको हुनुपर्छ सायद विधवालाई। धेरै धुरन्धर महापण्डित, पण्डितलगायतलाई सोधियो यसबारेमा। विभिन्न शास्त्र पनि अध्ययन गरें। त्यस्तो कहीँ लेखिएको थिएन। अहिले समाजलाई धेरै पढें, धेरै मान्छेलाई पढें। मन भएमान्छे र मन नभएका मान्छे अध्ययन गरें। मान्छे मान्छेमा मान्छेको फरक छ। कति भिन्न छ एउटा मान्छे र अर्को मान्छेको दृष्टिकोण र मान्छेको परिभाषा – यो सोचनीय प्रश्न हो।

यही समाजमा रहेका शास्त्रका व्याख्याता भन्छन्, विधवा त पवित्र हुन्छे। त्यतिमात्र कहाँ हो र – एउटी जो कोही महिला रजस्वला भएपश्चात पवित्र हुन्छे भलै उसले धेरै लोग्ने मान्छेको संगत गरेकै किन नहोस्। महिला र गंगालाई तुलना गरिएको छ। गंगाले विष्टालगायत फोहर बगाउँछिन् र पनि मान्छे गंगा स्नान गर्छन् पवित्र मानेर। त्यस्तै एउटी महिला पनि पवित्र हुन्छे। झनै विधवा त एक पुरुषको सर्ंसर्गबिना बसेकी हुन्छे, यस अर्थमा पवित्रमा पनि पवित्र हुन्छे। यस्तीलाई देखेमा अशुभ हैन, शुभ मानिन्छ। भारतका केही स्थानमा विधवालाई सती राण पनि भनिँदो रहेछ। यहाँ त्यो शब्दलाई गाली र दुर्वाच्यको रूपमा प्रयोग हुन थाल्यो। अनि सुन्दा नमीठो र क्रूर मानियो। सतीप्रथाको अन्त्यसँगै जो विधवाको रूपमा रहे तिनलाई जिउँदो सतीको रूपमा मानिन्छ। सतीले जे भन्यो, त्यो हुन्छ भन्ने कथन पनि छ। आजकल पनि सुनिन्छ, सतीले सरापेको भनेर। सतीको अर्को नाम साक्षात देवी हो। यो त भयो विधवासँग जोडिएको शुभ वा पवित्रताको कुरा।

लिली थापा दिदी जो महिला अधिकारकर्मी हुनुहुन्छ। विधवाका क्षेत्रमा ठूलो चेञ्जमेकरै बन्नुभयो। उहाँ भन्नुहुन्छ, लोग्ने हैन, लोग्नेमान्छे हो आवश्यक पर्ने। कुरा गम्भीर छ। वहाँलगायत ठूला-ठूला नाम चलेका विदुषीहरू पनि यही भन्छन्। साँचो पनि यही लाग्छ। एउटा अनुशासनमा बाँध्नका लागि परिवार नामको संस्थाको विकास भयो। जसमा लोग्ने स्वास्नीको नाम दिइयो। त्यसैले भनिएको हुनुपर्छ, विवाह बन्धन। जहाँ निश्चित बन्धन छ, हुन्छ। जो बाँधियो त्यो ठीक भयो, जो बाँधिन सकेन ऊ अनुशासनहीन वा अर्को शब्दमा चरित्रहीन मानिन्छ। अथवा दुर्घटनाको सृजना हुन्छ। हुन त चरित्रका पनि आ-आफ्नै व्याख्या हुन्छन्। मैले जानेको त चरित्र भनेको जो कोही नभएको बेलामा गरिन्छ वा सोचिन्छ त्यही व्यवहार वा सोचलाई बुझिन्छ।

पृथ्वीका हरेक प्राणीको सृष्टीका लागि प्रकृतिले यौन सम्बन्ध रचेको होला। सबै प्राणीमा भाले पोथी हुन्छन् नै। फरक यत्ति हो कि किट पतङ र जनावरको एउटा निश्चित समय वा सिजन हुन्छ। तर चेतनशील भनिएको मान्छेको भने हुँदैन। मान्छे जति छाडा छ, त्यति जनावर वा कुनै प्राणी छैन। समाजमा जति पनि दुर्घटना र विखण्डन आउँछन्, ती सबै तीन चिजमा जोडिएका छन्। ती तीन चिजमा पैसा, पावर र यौन। जति पनि डिभोसर्का केश छन्, ती प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यौन नै हो। त्यसै गरी विधवाको बार बार्न होला सायद यी कथनका सृजना भएका। कसैले नहेरोस् भनेर बिरूप हुन भनिएको। सभा समारोहमा बर्जित गरिएको। राम्रो चिजमा त आँखा जान्छन् नै। राम्रो र मीठो चिजको ग्रहण गर्न सायद सबैलाई मन लाग्छ। के यो स्थायी समाधान हो त ? यो प्रश्न तमाम मनहरूलाई हो। सिङ्गै राज्य र समाजलाई हो। समाजका समान सृष्टी महिला र पुरुष।

जन्मनेदेखि मर्ने प्रक्रिया सबै समान हुन्छ। फेरि एउटा लोग्नेको मृत्यु हुनु सामाजिक मान्यता, शुभ अशुभसँग जोडिन्छ। तर एउटा स्वास्नीको मृत्युलाई यी कुराले छुन्न। यो फरक किन ? केका लागि ? त्यही यौन मात्र हो की अरु पनि छ कारण ? समाज धान्ने जिम्मा फगत् महिलाकै मात्र भएको देखिन्छ। जुन कुरा धेरै उखान टुक्काले पनि पुष्टी गर्छन्। महिलाले सही दिनुपर्छ। घर सम्हाल्नुपर्छ, आफैं सम्हालिनुपर्छ। इज्जत महिलाको मात्र जान्छ की इज्जत महिलाको मात्रै हुन्छ – मैले बुझेको छैन भनाइको आशय। महिला भनेको सेतो कपडा हो रे। पुरुष रंगगीन। सेतोमा लागेको दाग जाँदैन।

यस्तै-यस्तै धेरै भनाइ छन् हाम्रो समाजमा। के यी न्यायसंगत छन् त ? तसर्थ मान्छेको जीवन जन्मदेखि मृत्युअघिको समय हो। यो लामो जिन्दगीको छोटो यात्रामा भएका असमान व्यवहार कहिलेसम्म ? युग बित्यो। शताब्दी सकियो। धेरै जीवनले आहुती दिए, जिउँदै जले। अझै जल्दैछन्। तेलको अभावमा निभ्न ठीक्क छन् कति ज्योतिहरू। कति चुपचाप निभे, निभ्नका लागि हावाको झोका पनि चाहिएन। समाज र देश परिवर्तन गर्न आफैं परिवर्तन हुनु जरुरी छ।

अरुलाई परिवर्तन भऊ भन्न जति सजिलो छ त्यति नै कठिन छ आफू परिवर्तन हुन। जबसम्म यो दीव्य ज्ञान हासिल हुँदैन, तब मान्छे साँचो अर्थमा मान्छे बन्न सकिँदैन। जुन दिन मान्छे बनिन्छ, त्यो दिन सबै भेदभाव सकिन्छन् वा भनौं मेटिन्छन्। न रहन्छ ठूलो सानो। हरेक मान्छे विशेष हुन्छ। हरेक जीवन विशिष्ट हुन्छ। शेष रहन्छ अज्ञान र मुर्खतामात्र। यही विशेषको विशिष्टता पहिचान गरौं। हर अस्तित्वको सम्मान गर्न सिकौं र आफू पनि सम्मानित बनौं।

-लेखक पोखरा लेखनाथ महानगरपालिकाका कार्यक्रम अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया