दशौ युरोपेली बैठक एनआरएन भवन सहयोगार्थ केन्द्रित हुने


बार्सिलोना/ गैर आबासीय नेपाली संघको दशौ युरोपेली बैठक एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने भएको छ। कम्तिमा २ करोड रुपैयाँ निर्माणधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य सहित बैठक केन्द्रित हुने भएको हो। जर्मनीको फ्रयाङफर्डमा आगामी जुलाई २९ र ३० तारिख दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन हुँदैछ।

राष्ट्रिय समन्वय परिषद जर्मनीले आयोजना गर्ने युरोपेली बैठक तयारीका लागि, एनआरएन अभियन्ताहरुको उपस्थितिमा हालै फ्रयाङफर्डमा भेला समेत सम्पन्न भएको छ। सोहि भेलाबाट नै एनआरएन भवन निर्माण सहयोगार्थ करिव ५० लाख रुपैयाँको प्रतिबद्दता जुटीसकेको युरोप संयोजक कुल आचार्यले जानकारी दिए।

उनले भने,”यस पटकको बैठक भवन निर्माणलाई सहयोग जुटाउने गरी केन्द्रित गर्दै कम्तीमा २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका छौ,यसैगरी पहिले नै युरोप क्षेत्रबाट भवनका लागि प्रतिबद्दता भएको रकमलाई यथाशिघ्र पठाउन अनुरोध समेत गर्ने छौ।”

प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितीका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो। राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष नवराज रोस्याराको अध्यक्षतामा सम्पन्न भेलामा संरक्षक दिल गुरुङ,उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक,सपिला राजभण्डारी,उप संयोजक रजनी प्रधान,युरोप क्षेत्रका संयोजक कुल आचार्य, उप संयोजक द्वय दावा गेल्जे शेर्पा र प्रेम गुरुङ लगायतले बिचार ब्यक्त गरेका थिए।

फ्रयाङफोर्डको लिन्डरमा आयोजना हुने बैठकका लागि युरोप संयोजकको नेतृत्वमा मुल आयोजक समिति समेत गठन भएको छ।

स्पोन्सरसिप पार्टनरहरु निर्धारण

युरोपेली बैठकका लागि बिभिन्न स्पोन्सरसिप पार्टनरहरु निर्धारण गरिएको छ ।इभेन्ट पार्टनरका लागि १० हजार युरो,प्लाटिनम पार्टनर पाँच हजार युरो, गोल्ड पार्टनर ३ हजार युरो, सिल्भर पार्टनर २ हजार युरो, ब्रन्ज पार्टनर एक हजार युरो निर्धारण भएको छ।

यस्तै सपोर्टर पार्टनर ५ सय युरो,जनरल सपोर्टरका लागि एक सय युरो देखि ५ सय युरो भन्दा तल सम्म रहने गरी तोकिएको छ। एक सय देखि पाँच सय सम्म सदस्यहरु भएका एनसिसीहरुलाई कम्तिमा ५ सय युरो सहयोग गर्न,५ सयभन्दा बढी सदस्यहरु भएका एनसिसीहरुलाई कम्तिमा एक हजार युरो सहयोग गर्न अनुरोध समेत गरिएको छ।

यस्तै एनसीसी अध्यक्षहरुलाई कम्तिमा ५ सय युरो, युरोप क्षेत्र भित्र पर्ने आईसिसी सल्लाहकारहरु र सदस्यहरु लाई कम्तिमा १ हजार युरो, संरक्षकहरुलाई कम्तिमा २ हजार युरो बरावरको योगदान गर्न पनि अनुरोध गरिएको छ।