फ्रान्सका ३९ बर्षिय नयाँ राष्ट्रपतिको अनौठो प्रेम कथा


तीन वर्ष अघिसम्म इमानुएल म्याक्रोनलाई धेरै फ्रान्सेली जनताले चिन्दैनथे । तर, उनी आज फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राजनीतिक दल खोलेको एक वर्षमा नै राष्ट्रपति बन्नु असाधारण सफलताको कथा हो । ३९ वर्षीय म्याक्रोन आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरका राष्ट्रपति पनि हुन् ।

 दक्षिणपन्थी म्यारिन पेनलाई पराजित गर्दै राष्ट्रपति बनेका उनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् । साथै फ्रान्समा १९५८ पछि पहिलो पटक यस्तो भएको छ, राष्ट्रपति दुई प्रमुख पार्टी सोशलिस्ट र सेन्टर राइट रिपब्लिकन पार्टीबाट छैनन् ।

एक इन्भेस्टमेन्ट बैंकमा काम गरेका म्याक्रोन फ्रान्सका निवर्तमान राष्ट्रपति फ्रान्स्वा आलान्दको आर्थिक सल्लाहकार बने । पछि ओलन्दले अर्थमन्त्री बनाए ।

सरकारमै रहेको बेला ठीक एक वर्षअघि उनले ‘एन माश’ भन्ने नयाँ दलको घोषणा गरे । त्यसको चार महिनापछि अर्थमन्त्री छाडेका उनले राष्ट्रपति पदमा उम्मेदवारी दिए ।

उनलाई पुरानो राजनीतिक वृत्त भन्दा बाहिरको उम्मेदवारको रुपमा हेरिएको थियो । तर, अभूतपूर्व चुनावी अभियानपछि दुई ठूलो परम्परागत राजनीतिक शक्तिका उम्मेदवारलाई पहिलो चरणमै पराजित गरेपछि उनी अब राष्ट्रपति बने ।

फ्रान्सका नयाँ राष्ट्रपति म्याक्रोन आफ्नो अनौठो प्रेम कथाका कारण पनि चर्चित छन् । उनले आफूभन्दा २४ वर्ष जेठी शिक्षिका ब्रिजिट  ट्रोनियोसँग विवाह गरेका छन् ।उनीहरुको पहिलो भेट १९९२ मा भएको थियो, जति बेला इमानुएल म्याक्रोन १५ वर्षका थिए ।

१७ वर्षको उमेरमा नै आफ्नी गुरुआमालाई प्रेम प्रस्ताव राखेका उनले त्यसको १२ वर्षपछि बिहे गरे । आफ्नो विद्यार्थी म्याक्रोनसँग बिहे गर्न तीन सन्तानकी आमा ब्रिजिटले आफ्नो पतिसँग सम्वन्ध विच्छेद नै गरेकी थिइन् ।