रवीन्द्र मिश्रको खुल्लापत्र


-रवीन्द्र मिश्र

नेपाल तथा विदेशमा रहेका मित्र तथा अन्य सबै आमाबुवा, दिदीवहिनी र दाजुभाइहरू,

आशाको केही उन्मुक्तता, केही भावुकता र गहिरो प्रतिबद्धताका साथ यो संक्षिप्त खुला पत्र लेखिरहेको छु र म सिधै विषयमा प्रवेश गर्न चाहन्छु। त्यसैले म शिर नुहाएर निम्न निवेदन गर्दछु:

१। तपाईँलाई तपाईँको जागिर या अन्य कारणले अफ्टेरो पर्दैन भने अब मौन नबसिदिनोस्। खुलेर साझा पार्टीका उमेदवारको पक्षमा सामाजिक सञ्जालदेखि सम्भव भएका अन्य ठाउँमा सदभावपूर्ण पैरवी गरिदिनोस्।

२। तपाईँ नेपाल या विदेश जहाँ हुनुहुन्छ, तपाईँका कोही पनि मित्र या आफन्त काठमाडौँ र ललितपुरका मतदाता हुनुहुन्छ भने कृपया एक पटक फोन गरेर ‘क्यामरा’ र ‘सेलरोटीमा’ भोट हाल्न अनुरोध गरिदिनोस्। ‘क्यामरा’ र ‘सेलरोटी’ काठमाडौँको मतपत्रमा बीसौं नम्बरमा छ भने ललितपुरको मतपत्रमा सत्रौं नम्बरमा छ।

३। तपाईँको निस्कृयताले फेरी एकपल्ट अयोग्य र असक्षमलाई जित्न मद्दत पुग्न सक्छ र हाम्रै जीवनकालमा यो देश रूपान्तरीत भएको हेर्ने हाम्रो सपना अधुरै रहन सक्छ। त्यसैले तपाईँको सक्रियताको सख्त जरुरत छ।

म यो निवेदन किन गरिरहेको छु भने, जसले १५ वर्षभन्दा बढी समयसम्म यो देशमा स्थानीय तहको निर्वाचन हुन दिएनन् र जसले लोकतन्त्र आएको २५ वर्षपछि पनि देशलाई शान्ति, स्थिरता र विकासको बाटोमा डोर्याउन सकेनन्, आज पनि बाटो र गल्लीहरुमा तिनकै झन्डा फहराइरहेका छन्। दोहन, अस्थिरता, भ्रष्टाचार — यो कसले अनुभूत नगरेको होला?

पहिले विकल्प थिएन, अहिले कमसेकम काठमाडौँ र ललितपुरमा साझा पार्टीले योग्यता, क्षमता, अनुभव र इमान भएका व्यक्तिहरूलाई प्रमुख र उपप्रमुखको पदमा उमेदवार बनाएर विकल्प दिएको छ। उनीहरूप्रति पछिल्ला दिनहरूमा उभार आउन थालेको स्पष्टै देखिएको छ। तर पनि जित नै नभएसम्म हामी कोही पनि ढुक्क हुन सक्दैनौं र त्यसको लागि तपाईँको सानो सहयोगले अन्तिम धक्काको काम गर्न सक्छ।

यी सहरको जीवनसँग कुनै न कुनै रूपमा हामी सबैको जीवन जोडिएको छ। यहाँको धुलो र धुवाँले को अरबपति र को सामान्य बटुवा हो भन्दैन। यहाँ ट्र्याफिक जाम हुँदा आपत्कालीन अवस्थामा अस्पताल लान लागेको सामान्य व्यक्ति र सम्पन्न व्यक्ति दुवैको मृत्यु हुनसक्छ र ती व्यक्ति हाम्रै परिवारका सदस्य हुन सक्छन्। यहाँका अस्पताल र स्कुलको स्थितिले हामी सबैलाई प्रभाव पार्छ। यहाँका १२ फुटे बाटो र ३ फुटे फुटपाथबाट हामी सबै प्रताडित छौँ। भ्रष्टाचारले हामी हैरान छौँ। यी सहरका स्वच्छता, सुरक्षा र सौन्दर्यसँग हाम्रो खुसी गाँसिएको छ।

पार्टी ठुलो कि यो देश ठुलो? छुट्याउने बेला आएको छ। देश ठुलो हो भने अब ‘हाम्रो’ होइन ‘राम्रो’ चुनौं। राम्रो’ ले हार्दा एक जना व्यक्ति हार्ला तर उ/उनीसँगसँगै हजारौँ, लाखौँ जनताका सपना पनि भत्तकिन्छन्। हाम्रा बुढा आमाबुवा, छोराछोरी र हामी सबैले हार्छौं किनभने हाम्रो गाउँ-ठाउँ, नगर र महानगरसँग हामी हरेको जीवन गाँसिएको छ।

तसर्थ, काठमाडौँको प्रमुखमा किशोर थापा, उपप्रमुखमा निरूपमा यादव अनि ललितपुरको प्रमुखमा रमेश महर्जन र उपप्रमुखमा शोभा शाक्यलाई जिताउन सहयोग गरौँ। हामी साझा पार्टी निर्माणमा होमिएको ७/८ हप्तामात्र भयो त्यसैले हामीले सबै ठाउँमा उमेदवारी दिन सकेनौं। अहिलेलाई यी दुई सहरबाट यो देश निर्माणको यात्रा सुरु गरेका छौँ। विश्वास गरिदिनोस्, हामी गरेरै छाड्छौं तर तपाईँको साथ नभइकन हाम्रो आसले मुर्त रूप लिनै सक्दैन।

सदा तपाईँको शुभेच्छुक