एनआरएनए अमेरिकाका अध्यक्ष प्रत्यासीहरु बीच बहस हुँदै


अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेदवारहरु र आम सरोकारवालाहरुवीच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा ‘एनआरएनए अमेरिका इलेक्सन डिबेट’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

न्यूयोर्क ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाहलमा हुने कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु र अन्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक किरण मरहठ्ठाले जानकारी दिए ।

एनआरएनए अमेरिकाको आगामी कार्यकालको अध्यक्षको लागि वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, र उपाध्यक्षहरु राम सी पोखरेल, रबिना थापा र डिल्ली भट्टराईका साथै यूवा उद्यमी गौरीराज जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

करिब २ घण्टासम्म चल्ने कार्यक्रममा उम्मेदवारहरुले आफ्नो चुनावी मुद्दा प्रस्तुत गर्नुका साथै सहभागी सराोकारवालाहरुको प्रश्नको जवाफ दिनेछन् । वर्तमान कार्यकालको समिक्षा र आगामी चुनावी एजेन्डामा छलफल गर्न यो यस्तो बहस फलदायी हुने एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले बताए ।

अमेरिकी राष्ट्रपतीय बहसको शैलीमा संचालन गरिने कार्यक्रम उम्मेदवारका चुनावी एजेण्डा र कार्यान्वयनका सवालमा केन्दि्रत हुनेछ ।उम्मेदवारहरुका एजेन्डा आम मतदातासम्म लैजान र मतदातालाई योग्य उम्मेदवारको छनौट गर्न यो कार्यक्रम उपयोगी हुने अध्यक्षका प्रत्यासी कृष्ण पोख्रेलले बताए ।

‘यस्तो अन्तरक्रियात्मक कार्यक्रमले हामीलाई थप उत्तरदायी बनाउने छ,’अध्यक्षका अर्का प्रत्यासि गौरीराज जोेशीले भने,’सेवा, सहयोग र एकता भन्ने मेरो एजेन्डालाई म बहसमा लैजानेछु ।’बहस कार्यक्रम अमेरिकाका अन्य शहरहरु क्यालीफोर्निया र शिकागोमासमेत आयोजना गरिने बताएइको छ ।

कार्यक्रममा पूर्वअध्यक्ष जीवा लामिछानेको एनआरएन अभियान बारे संक्षिप्त टिप्पणी पनि प्रस्तुत गरिने छ ।करिब ३ सय जनाको सहभागिता रहने कार्यक्रमलाई एबिसी न्यूज टेलिभिजन, नेपालीनेपालीडटकम,हिमालय खबर डटकम, हृवाइटहिमाल टिभी डटकम,विश्वन्यूजडटकम, एभरेष्ट टाइम्स डटकम, नेपालय न्यूज डटकम, इनेप्लीज डटकम,  लगायतले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

एनआरएनए अमेरिकाको नयाँ सदस्यता प्रमाणिकरणको काम सम्पन्न भै सकेकोले मे महिनाको अन्तिम साता नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी भैरहेको छ ।