पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा मान बहादुर जिसी निर्वाचित


राजाराम पौडेल/पोखरा- पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारलाई भारी मत अन्तरले पराजित गरेका छन् । प्रमुखमा जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार अन्तरले मतले पराजित गरे । जिसीले कुल ६० हजार ११८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । जिसीले कुँवरले भन्दा १३ हजार ७०२ मत बढी प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् ।
नेकपा एमालेले बहुमत वडा सहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख जितेको हो । शुक्रवार सम्पन्न मतगणना अनुसार वडा र क्षेत्रफलको आधारमा देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

त्यस्तै उप मेयरमा पनि मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ठूलै मत अन्तरले पराजित गरिन् । एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार ११० मत अन्तरले पराजित गरेकी हुन् । विजयी मञ्जुदेवी गुरुङले कुल ५६ हजार ४४८ मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गरिन् ।

प्रमुख र उप प्रमुखमा निर्वाचित जिसी र गुरुङले पोखरा लेखनाथ महानगरको बृहत्तर विकास र यहाका नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन अगाडी जनतामाझ बोलेका योजनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताए।

आफू यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अव सबै महानगरवासीको साझा व्यक्ति भएको उनको भनाइ थियो । “मतदाताको मन जित्ने गरी काम गर्छु,” उनले भने। महानगरपालिका– २८ मा २०१७ साल भदौ १७ गते जन्मेका जिसीले विएडसम्मको शिक्षा हासिल गरेका छन् । विसं २०३७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति थालेका जिसीले २०४१ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए।
उनी नेकपा एमाले कालिकागाउँ कमिटिको सचिव, इलाका नं – ४ कास्कीको सचिव, २०५० मा निर्वाचित जिल्ला कमिटी सदस्य, २०५४ मा एमाले जिल्ला कमिटिको उपसचिव र २०५८ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिव तथा २०६६ देखि २०७० सम्म पार्टीको आठौँं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हालेका थिए।

हाल उनी एमाले केन्द्रीय कमिटिको वैकल्पिक सदस्य एवम् कास्की जिल्ला इन्चार्ज, प्रदेश नं– ४ को कार्यालय सचिव छन्। विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं– १ बाट जिसी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापासँग २७२ मतले पराजित भएका थिए। त्यसै गरि उपप्रमुख मञ्जु देवी मञ्जुदेवी गुरुङले पनि आफुले गरेका प्रतिद्धता पुरा गर्ने बताइन् ।

पोखरा लेखनाथ महानगरको ३३ वडा मध्ये एमालेले २२ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले २० वटामा प्यानल सहित र दुई वटा वडामा वडाध्यक्ष जितेको हो ।

एमालेले वडानम्बर १, ५, ७ तथा वडानम्बर १३ देखि २१ सम्म २४, २५, २६ र २८ , २९ , ३०, ३१ एबं ३३ नम्बर वडामा प्यानल सहितको जित हात पारेको हो । वडानम्बर ८ र २२ मा भने मिश्रित परिणाम सहित एमाले उम्मेदवार अध्यक्ष चुनिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसले ११ वटा वडाको अध्यक्ष जितेको छ । ७ वटा वडामा प्यानल सहित र अन्यमा मिश्रित परिणाम सहित कांग्रेस उम्मेदवार अध्यक्ष चुनिएका हुन् ।

कांग्रेसले २, ३ , ४, ९, १० , २३ र २७ नम्बर वडामा प्यानल सहित जितेको हो । वडानम्बर ६, ११ र १२ र ३३ मा मिश्रित परिणाम सहित कांग्रेस उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए ।