गनेसको उपन्यास ‘पैताला’ को छलफल तथा परिचर्चा यात्रा


पोखरा – गनेस पौडेलद्वारा लिखित उपन्यास ‘पैताला’ देशका प्रमुख सहरमा छलफल तथा परिचर्चा यात्रा गरिरहेको छ । गएको शनिबार काठमाडौंमा यो उपन्यासको लोकापर्ण गरिएको हो ।

पैताला उपन्यास बजारमा ल्याएका लेखक गनेस पौडेल सोमबार पोखरामा गृह लोकार्पण गरेर मंगलबार बागलुङमा छलफलका लागि पुगे भने आउँदो शनिबार वुटवल र आइतबार चितवनमा पुग्दैछन् । नेपाली उपन्यासमा फरक र नयाँ विषयमाथि लेखिएको भनिएको ‘पैताला’को छलफल र परिचर्चा देशका विभिन्न सहरहरुमा जान लागेको प्रकाशक बुकहिलमा निर्देशक भूपेन्द्र खड्काले जानकारी दिए ।

‘यो नेपाली उपन्यास जगतमा नयाँ विषय र स्वादमा लेखिएको उपन्यास हो,’ खड्काले भने, ‘काठमाडौं, पोखरा, बागुलङमा कार्यक्रम गरिसकेका छौं भने आउँदो शनिबार वुटवल र आइतबार चितवनमा कार्यक्रम हुँदैछ । यो ‘पैताला’ यात्रा देशका विभिन्न सहरमा हुनेछ ।’
अहिलेसम्म औपचारिक रुपमा ३ जिल्ला र अनौपचारिक रुपमा विभिन्न छलफलबाट उत्साहजक प्रतिक्रिया आइरहेको लेखक गनेस पौडेलले बताए । ‘नयाँ विषय र नयाँ धारबाट पैताला उपन्यास आएको हो । धेरैलाई नौलो र परम्परागतभन्दा बाहिरबाट आएकाले पाठकका फरकफरक प्रतिक्रिया आइरहेका छन्,’ लेखक पौडेलले भने, ‘पाठकका फरकफरक प्रतिक्रियाले उत्साह थपेको छ । सामाजिक सञ्जाल, विभिन्न सम्पर्कमाध्यमबाट आएका प्रतिक्रिया आएका छन् । नपढी चर्चा हुनुभन्दा पढेर आउने हरेक प्रतिक्रिया स्विकार्य छ ।’

पैतालामाथिको बहस तथा परिचर्चामा लेखक पौडेलले उपन्यास लेखनको उद्गम र यसले उठाएको विषयमाथि पाठकलाई बुझाउने कोसिस गरिरहेका छन् । वुटवल र चितवनपछि कोहलपुर, दाङ, धनगडी, हेटौंडा, धरान, विराटनगर, इटहरी, झापा लगायतका ठाउँहरुमा पुस्तक यात्रा जारी रहने प्रकाशक संस्था बुक हिलले जानकारी दिएको छ ।

उपन्यासमा पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको पौडेलले स्पष्ट पारेका छन् । ‘पूर्वीय दर्शनमा तन्त्र, मन्त्र र यन्त्र छ । तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द वा ध्वनि र यन्त्र भनेको साधन वा ज्यामिति हो,’ पौडेलले स्पष्ट पारे, ‘मन्त्रलाई विधिपूर्वक भनियो भने मात्र त्यसले असर देखाउँछ । यी दुईको प्रयोग कसरी गर्ने भन्ने जुन तरिका खोजिन्छ नि, त्यो तन्त्र हो । कथालेखन पनि एउटा विधि त हो नि ! मैले पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको छु । यो तान्त्रिक उपन्यास हो ।’

पैताला’ कथा वाचन र सत्यको विम्व हो भन्ने कुरा आफूलाई लागिरहेकै कारण उपन्यास पैताला जन्मेको उनले बताए । देशका विभिन्न ठाउँमा पुगेर कथाका पात्र तयार पारेको र कथा बुनोट गरेको पौडेल बताउँछन् । ‘पैताला’ परम्परागत उपन्यासभन्दा फरक भएकाले पाठकले नयाँ स्वाद पाउने विश्वास उनको छ ।

लेखक कुमार नगरकोटीकाअनुसार परम्परागत नेपाली उपन्यासमा पाठकको सम्बन्ध बिच्छेद हुने क्रम बढ्दै गइरहेका बेला पौडेलले नेपालमा अहिलेसम्म नलेखिएको नयाँ कथा लेखेको छन् । नयाँ लेखन शैली, कथा, पात्रलाई पढ्दै जाँदा छुट्टै संसारमा पुगेको अनुभूती आफूले गरेको नगरकोटी बताउँछन् । पोखरका पौडेलले देशका प्रमुख पत्रिकाहरुमा कला, साहित्य, संगीत र विभिन्न समसामयिक विषय तथा विभिन्न खोजमूलक लेखहरु लेख्दै आएका थिए । फरक चिन्तन र कडा विचारकका रुपमा चिनिइसकेका पौडेल ‘पैताला’ मार्फत उपन्यासकार रुपमा नेपाली साहित्यमा दर्ज त भएका छन् तर कतिको सफल हुन्छन् भन्ने कुरा भने चुनौतिपूर्ण छ । ३ सय ६३ पृष्ठको ‘पैताला’ मूल्य ४ सय रुपैयाँ राखिएको छ ।