रफ्तार बढाउदै कर्णदास, क्रेज उस्तै


राजाराम पौडेल,पोखरा – बोलाएका कार्यक्रममा सहजै पुग्छन् कर्णदास । पारिश्रमीकको पनि वास्ता उनी गर्दैनन् । पोखरामा हुने अधिकांश कार्यक्रममा उनको उपस्थिती हुने गरेको छ । यस्ता कार्यक्रममा समयमानै पुग्छन् । कार्यक्रम समापन नभएसम्म बस्छन् । उनी कार्यक्रममा पुग्दा कार्यक्रमको ओजन बढ्ने विश्वास आयोजकमा हुन्छ । यस्ता कार्यक्रममा पुगेर आफ्नो प्रस्तुती सुनाउन पाउँदा कर्णदास झनै उत्साहित बन्छन् । उनीसँग फोटो खिचाउने र उनका गीतमा स्वरमा स्वर मिलाउनेको कमी देखिदैन ।  उनको आवाजमा दम छ । साँगीतिक पारखीलाई मन्त्रमुग्ध पार्न सक्ने खुबी उनमा छ ।

दश वर्ष पछि पाँचौ एल्बम ‘एउटा नयाँ आशा’ का गीत पनि दर्शक श्रोताले रुचाएका छन् । उनले स्वर भरेको आफ्नो लागि बाँचेर त हेर गीत यतिबेला चर्चामा छ । प्रायः कार्यक्रममा उनले यही गीत सुनाउँछन् । एल्बमका अन्य गीत पनि रुचाइएको छ । गीत सुनाउदा बिचबिचमा भाषण गर्ने बानी उनमा परेको छ । उनले विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै देशको विकास गर्न सबै मिल्नुपर्नेमा जोड दिन्छन् । पोखरा बाहिर र विदेशका कार्यक्रममा पनि उनको सक्रियता बढ्दै छ । यसरी कार्यक्रममा गीत प्रस्तुत गर्दा निकै भावुक हुन्छन् उनी ।

साँगीतिक क्षेत्रमा निरन्तरता दिए पनि आफु व्यापारीक हिसाबले पैसा कमाउनका लागि नलाग्ने उनले प्रष्ट र्पाछन् । ‘म कर्मसियल रुपमा यो क्षेत्रमा पहिला पनि लागेको थिइन अब पनि लाग्ने छैन’ । समय अनुसारका गीत दर्शक श्रोतामाझ निरन्तर पस्कीएर दर्शक श्रोताको साँगीतिक तृष्णा मेटाउने योजना उनको छ । आफ्नो पुरानै धारलाइ नयाँ मेलोडिमा ढालेर तयार पारेका गीतले दर्शकको श्रोताको साथ पाइरहेको छ ।  ‘पहिलाकै रफ्तारमा साँगीतिक यात्रा अगाडि बढ्न थालेको छ’ उनले भने ।
वि.स.२०५३ सालमा ‘जिन्दगीको के भरोसा’ बोलको गीतबाट उनको डेब्यू भएको हो । उनले साथीहरुसँग मिली मध्यान्न ब्याण्ड स्थापना गरे । २०५३ व्याण्डमार्फत् ‘मध्यान्न–१’ नामक एल्बम श्रोतामाझ पस्किए । यस एल्बमबाट मध्यान्न समूह र कर्णदासको चर्चा नेपाली साँगीतिक फाँटमा चुलीन पुग्यो । त्यसपछिका उनका गीत एकपछि अर्को चर्चाको शिखर चुमे ।
‘मध्यान्न–१’ लाई श्रोताले औधी रुचाएपछि विभिन्न साँगीतिक कार्यक्रममा समेत यो समूहको माग हुन थालेको थियो । साँगीतिक फाँटमा संघर्ष गर्न काठमाण्डौ हानिएका यो समूहका सदस्यहरुले श्रोता शुभचिन्तकको राम्रो साथ पाए । पहिलो एल्बमबाट पाएको सफलतासँगै दोस्रो एल्बम निकाल्न हौसीएको यो समूहले २०५४ मा ‘मध्यान्न–२’ नामक एल्बम बजारमा ल्यायो । यस एल्बमबाट कर्णदासको लोकप्रियता बढेर गयो । यसरी श्रोता दर्शक तथा शुभचिन्तकबाट पाएको सर्पोटसँगै उनले २०५६ मा पहिलो सोलो एल्बम ‘बेर्थै फेरी’ बजारमा ल्याए यसबाट उनी सोलो गायकको रुपमा समेत स्थापित बन्न पुगे । हरेक एल्बमबाट पाएको सफलतासँगै उनको चर्चा अनि व्यस्तता बढेर गयो विभिन्न चलचित्रका गीत राष्ट्रभावले ओतप्रोत लगायत सबै विधाका गीतमा आफ्नो सुमधुर आवाज भर्न भ्याए । सबै विधाका गीतको माध्यमबाट उनले श्रोताको राम्रो साथ पाए ।

पुनः तेस्रो एल्बम ‘मध्यान्न–३’ निकाले । यो एल्बमले समेत यो समूहको लोकप्रियता बढ्न पुग्यो । यसपछाडि भने उनले समुहलाई निरन्तरता दिन सकेनन् । सोलोगायककै रुपमा क्यारीएर अगाडि बढाउने निर्णय गरे फलस्वरुप २०५९ मा दोस्रो सोलो एल्बम ‘पुरानो डुङ्गा’ मार्फत निरुन्तरता दिए । दुई वर्षको अन्तरालमा तेस्रो सोलो एल्बम ‘आधा सपना’  श्रोतामाझ पस्किएका थिए ।

२०६३ मा ‘प्रित’ नामक चौथो सोलो एल्बम बजारमा पस्के । झण्डै १२ सय गीतमा आवाज उनले भरीसकेका छन् ।
दश वर्ष विदेश पलायन भएर एल्बम बजारमा ल्याउन नसकेका उनले साँगीतिक यात्रालाई नेपाल आएपछि पुनः निरन्तरता दिएका छन् ।  उनको योजना मध्यान्न समुहलाई पनि निरन्तरता दिने  छ ।

कास्कीको निर्मलपोखरीमा जन्मिएका कर्णदासको बाल्यकाल भारतका विभिन्न शहरमा बित्यो । बुबा इन्डियन आर्मीमा भएकोले पनि बुबा जहाँ जहाँ जानुभयो उहि जानुपर्ने थियो । तीन र चार कक्षा भने गाउँकै जनचेतना मा.वि. र आठ कक्षा पोखराको नवप्रभातमा पढेका उनको हाइस्कुलको पछिल्लो समय दिल्लीमा बित्यो । त्यहाँ बस्दा म्यूजिक कक्षामा समेत सामेल भएका उनले गिटार बजाउन त्यस समयमै सिक्ने मौका पाएका थिए ।

कर्णदासलाई हाल सम्म थुर्पै संघ–संस्था मार्फत सम्मान समेत गरीसकेका छन् । २०५४ मा आयोजित माछापुच्छ«े म्युजिक कन्टेस्टमा मध्यान्न समूहबाट व्यस्ट व्याण्ड, व्यस्ट लिरीक्स र वेस्ट भोकलमा बाजी मारेका थिए । हिट्स एफ एमले आयोजना गरेको हिट्स एफ एम म्यूजिक एवार्ड २०५५ मा रेकर्ड अफ द एयर र वेस्ट पर्फमेन्स फर ग्रुप, २०५६ मा वेस्ट पर्फमेन्स फर गु्रप, २०५८ मा वेस्ट भोकल पर्फमेन्स, २०५९मा वेस्ट भोकल पर्फमेन्स, २०६० मा वेस्ट भोकल पर्फमेन्स र रेकर्ड अफ द एयर प्राप्त गरीसकेका छन् । सानमिगल म्युजिक एर्वाड २०५७ मा वेस्ट भोकल पर्फमेन्स एवार्ड हात पारेका उनले माछापुच्छ«े एफ एम एर्वाड २०५९ मा बेस्ट सङ तथा बेस्ट भोकल, नेपाल जेसिसको वेस्ट युथ अफ द एयर एवार्ड बोस्टन कलेज अफ लन्डनको लङ टाइम आउटस्टान्डिङ एचिभमेन्ट एज नेपाली सिङ्गर एवार्ड आठौ इमेज एवार्डमा वर्षको उत्कृष्ट गायकसहित तिन विधामा एवार्ड जितीसकेका छन् ।

मध्यान्न व्याण्डलाई पनि पुनः सक्रिय गराउने तयारीमा छन् कर्णदास । समयको माग अनुसारका गीत दर्शक श्रोतामाझ पस्किदै साँगीतिक क्षेत्रमा रफ्तार बढाउने सुरमा  उनी छन्  ।