किन ढल्यो स्याङ्गजा पंचमुलमा काङ्ग्रेसको गढ ?


नारायण तिवारी, आँधीखोला गाउँपालिका १ पंचमुल, अर्घौंदी हाल दोहा कतार

अंग्रेजीमा एउटा भनाइ छ – ‘गिभ मी समथिंग नाउ, आइ विल गिभ यु समथिंग मोर लेटर’ अर्थात अहिले मलाइ केही देउ बदलामा म तिमीलाई पछि अझै बढी दिनेछु’ यो पदावली प्रयोग यहाँ पंचमुलको सन्दर्भमा प्रयोग गर्न खोजेको मात्र किन भने साविक पंचमुल र हाल आँधीखोला १ मा यस अघी भएका २०४८ र २०५४ का दुइ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले यही भनाइलाइ सार्थकता दिंदै जनता माझ गएको थियो । परिणाम स्वरुप कांग्रेसले सबै वडामा भारी बहुमत सहित बिजय हासील गरेको थियो । ४८ को निर्वाचन पछि पंचमुलले विकासको गती लिन थालेको हो । पंचमुलमा स्व. क्याप्टेन रुद्रमान गुरुङ्ग, तात्कालीन गा. वि. स. अध्यक्ष स्व. हर्क बहादुर गुरुङ्ग अनि तात्कालीन उपाध्यक्ष र हाल नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य गोपाल प्रसाद ढकालले विकासको बिजारोपण गरेका थिए । यो भन्नलाई कुनै हिचकिचाहट मानु पर्ने कारण छैन । चाहे पंचमुललाइ पर्यटन गाउँ बनाउन होस् या पंचमुलमा बिजुली, मोटरबाटो, टेलिफोन आदीको सुविधा दिन यी तीन जनाले पुर्याएको योगदान कसैले बिर्सन खोज्छ भने त्यो ठुलो भुल हुनेछ र भुल मात्र हैन पाप पनि लाग्नेछ ।

यसरी कांग्रेसले जनतामा जसरी गयो त्यसरी नै वाचा पुरा गरेको थियो । खानेपानी को समस्या उस्तै थियो हाल धेरै हदसम्म यो समस्या पनि समाधान भएको छ । यसरी जनतामा प्रतक्ष रुपमा छाएको थियो नेपाली कांग्रेस । अझै पनि पंचमुलमा नेपाली कांग्रेस प्रती चार्म घटेको छैन मात्र पछिल्लो स्थानीय निर्वाचनमा केहि प्राविधीक कमजोरी अनि नेपाली कांग्रेस पार्टीको कमजोरीका कारण पंचमुलले सजाय पायो र त्यो सजायले समग्र कांग्रेसलाइ जिल्लाभरी शीर पनि उठाउन नसक्ने बनाएको छ, पार्टी नेतृत्वले समयमै हेक्का राखोस ।

पंचमुल त्यस्तो ठाउँ हो जहाँ, २०५४ सालको स्थानीय निर्वाचनमा देशै भारी एमाले पार्टी जित्दै गर्दा अनि स्याङ्गजा जिल्लाभर एमालेले बिजय गर्दै गर्दा पंचमुलले नेपाली कांग्रेसको आफनो गढ जोगाएको थियो । यती मात्र हैन तात्कालीन राप्रपा र एमाले मिलेर पनि पंचमुलको कांग्रेसको गढ हल्लाउन पनि सकेका थिएनन । पंचमुलले त्यतीबेला कांग्रेसको साख बचाएको थियो जिल्लाभर । समय त्यस्तो थियो र अध्यक्ष र उपाध्यक्षले आफनो क्षमताले भ्याएसम्म पंचमुललाई विकास दिएकै हुन् नत्र आज पंचमुलमा यती सजिलै नत मोटरबाटो हुने नै थियो न त बिजुली नै । पंचमुलले विकासको गती समातेको ५४ साल पछि नै हो । स्याङ्गजा बजार बाट सतौं, दरौँ अनि पंचमुल हुँदै आरुचौर जाने मोटरबाटोको समितिमा रहेर गोपाल प्रसाद ढकालले लगाएको गुन पंचमुलमा सायदै कसैले बिर्सन पनि सक्दैनन् । मलाइ वहाँको एक आफन्तले बताए अनुसार उक्त मोटरबाटोको लागि वहाँ १९ पटक कहिले अर्थ मन्त्रालय, कहिले सडक बिभाग धाउनु भएको थियो रे । अहिले हामीले भन्न सजिलो होला तर विकासको त्यो चरण पार लगाउनेमा मुख्य भूमिका निर्वाह गर्ने व्यक्तीहरु हाम्रो नजरमा संधै सम्मानीत हुनुहुन्छ । पंचमुलको एउटा उदाहरण मात्र हो । एउटा जनताको प्रतिनिधी कतीसम्मा खट्न सक्छ भन्ने कुरा । अहिले पहिलेका धेरै गा. वि. स. हरु मिलेर आँधीखोला गाउँपालीका बनेको हुँदा वहाँ त्यसरी नै सम्पूर्ण आँधीखोलाको विकासको लागि खट्न सक्ने नेतामा वहाँ पर्नु हुन्थ्यो ।
शीर निहुराएर नमन गर्न मन लाग्छ तर हाम्रो अहिलेको सोच यती राजनीतिक रुपमा पूर्वाग्रह भएर आएको छ की, के गर्यो र त्यसले सबै आँफै भएको हो जस्तो गर्छौं  हामी । मुल्यांकन इतिहासले गर्ने हो हामीले वर्तमानमा मुल्यांकन गर्ने क्षमता वास्तवमै राख्दैनौ ।

पछिल्लो स्थानीय निर्वाचनमा पंचमुलमा कांग्रेसको गढ भत्केको समाचारले देशभर चर्चा पायो । हो समय एकैनासको हुँदैन । समय परिवर्तनशील छ । कसरी भत्क्यो त गढ, अब चर्चा गरौ । राजनीतिमा गढ जोगाउन जस्तो चुनौती केहि हुँदैन र गढ जोगाउन एउटा व्यक्तीले कहिल्यै पनि सक्दैन । कांग्रेसको गढ जोगाउन मुख्य भूमिका निभाएका रुद्रमान गुरुङ, हर्क बहादुर गुरुङ स्वर्गीय भैसक्नु भयो र त्यो गढ जोगाउने जिम्मा गोपाल प्रसाद ढकालको काँधमा आएको थियो नै । अहिले स्थानीय निर्वाचनमा हार पश्चात कांग्रेस नेता गोपाल प्रसाद ढकाल लाई अपजस  दिने गरिएको छ जुन विल्कुलै गलत हो । गढ जोगाउनु भनेको त पहाडलाई थामे जस्तै हो जुन एक व्यक्तीले सक्दै सक्दैन । गढ जोगाउन टिम चाहिन्छ । पंचमुलको गढ जोगाउन त टिम मात्रै हैन की समग्र काङ्ग्रेसको जिल्ला नेतृत्वको पनि पुरा साथ् चाहिन्थ्यो तर त्यो साथ् पंचमुलले कहिल्यै पाएन । पार्टीले जिल्ला बाट प्रशिक्षण, रणनिती जस्ता कार्यक्रम पंचमुलमा कहिल्यै ल्याएन । स्याङ्गजा कांग्रेस नेतृत्वले पंचमुललाई संधै सौताको व्यवहार गरेको स्वयम् कांग्रेस नेता बताउंदै आएका छन् । कांग्रेस एकीकरण भएर पनि स्याङ्गजामा एकीकरणको आभास कहिल्यै भएन । कांग्रेसको एक इमान्दार कार्यकर्ता अनि सिपाही भएको कारण यो भन्न कुनै असहज लागेको छैन यस पंक्तिकारलाई ।

पंचमुलबाट स्याङ्गजा कांग्रेसमा प्रतिनिधित्व गर्ने गोपाल प्रसाद ढकाललाई जहिले पनि पाखा लगाउने काम भएकै हो । कांग्रेसमा पछिल्ला दुइ जिल्ला अधिवेशनमा वहाँलाई जसरी गुटबन्दी गर्दै पाखा लगाउने कार्य पंचमुलका कांग्रेस कार्यकर्ताहरुलाई कत्ति पनि मन परेको थिएन । जो कांग्रेसको लागि त्याग गर्छ उसैलाई पाखा लगाउने कार्य गर्दा आम कार्यकर्ताको चित्त दुखाइ थियो नै । अनि अर्को मुख्य कुरा गोपाल ढकाललाई सधैं मेरो पक्षको होइन भन्दै जिल्ला नेतृत्वले पाखा लगाएकै हो । पंचमुलमा कांग्रेसले जिल्ला स्तरबाट छुट्टै कार्यक्रम लिएर जानु पर्नेमा त्यो पनि नगरी केवल मेरो पक्ष र अर्को पक्ष भनेर अनेक लाञ्छना लगाउने काम मात्र भएको थियो विगत केहि वर्षदेखी । यसैको परिणाम आज स्याङ्गजा कांग्रेसले भोगेको छ । हो पहिला कांग्रेस प्रजातान्त्रीक र कांग्रेस दुइ पार्टी थिए र हाल एकीकरण पनि भैसकेपछि पनि त्यो भ्रम स्याङ्गजा कांग्रेसमा अझै छ । यो भ्रम छर्न केहि जिल्ला स्तरका नेता नै गुटबन्दी गर्दै आएका छन् । यीनको दिमाखमा अझै त्यो ह्याङ्गओभर बाँकी छ अनि पंचमुललाई सधैँ पाखा लगाउने खेल खेलिंदै आएको छ ।

पंचमुल गाभिएर आँधीखोला गाउँपालिका भएपछि स्थानीय निर्वाचनमा समग्र गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गोपाल प्रसाद ढकाललाई टिकट दिने चर्चा शुरु भए लगत्तै यो पंक्तिकार छुट्टी लिएर नेपाल गएको थियो । वहाँसंग फोनमा कुरा हुँदा आउनु सहयोग गर्नु पर्यो भनेपछि स्थानीय निर्वाचनमा भोट हाल्ने अनि आफनै पंचमुलको व्यक्ती नेपाली कांग्रेसको तर्फबाट समग्र आँधीखोलाको उम्मेदवार हुने र पार्टीले टिकट दिने सम्भावना देखिए पछि पुरा सहयोग गर्ने उद्धेश्यले यो पंक्तिकार नेपाल गएको थियो। तर पार्टीले वहाँलाई उही पुरानै पारा देखाएर पाखा लगायो टिकट दिएन, यो वहांको अपमान भएको हामीले ठान्यौं ।चुनाव जित्नकै लागि हो भनेर वहाँले मलाइ भनेको सम्झना अझै ताजा छ वहाँ उमेरले पाको भए पनि पार्टीप्रतिको उत्साह जोश र जाँगर युवाको जस्तो छ अझै पनि । वहाँले टिकट पाएको जित्न पनि सक्नु हुन्थ्यो होला । पंचमुलमको आफ्नै उम्मेदवार भएकोले पंचमुलबासीले फेरी गुन तिर्ने मौकाको रुपमा लिएका थिए । पंचमुलका एकजना कांग्रेस कार्यकर्ताले यो पनि भनेका थिए’ गोपाल दाइलाई पंचमुलमा कांग्रेसीहरुले त माया गर्ने नै भए तर अझ बढी एमाले पार्टी समर्थकले माया गर्छन रे ‘ वहांको चार्म कत्ति नघटेको आभास थियो यो । चियागफ हुँदा पंचमुलको पसलमा एकजना एमाले कायकर्ताले भनेका थिए’ गोपाल दाइ अहिले पनि जुलुश लिएर हिंड्ने हो भने घासं दाउरा  गर्न हिंडेकाहरु पनि हँसिया र नाम्लो डोको एकातिर फालेर गोपाल दाईसंगै जुलुशमा सामेल हुन्छन’

यहाँ एउटा प्रतिबिम्ब मात्र प्रश्तुत गर्न खोजिएको हो । वहांले त्यहाँका जनताको सेवा गर्न कुनै कसर बाँकी राख्नु भएको थिएन । स्याङ्गजा सदरमुकाममा होटल खोलेर पनि सेवा दिनु भएको थियो भने त्यो भेगका जनताको लागि सदरमुकाममा बसेर जिल्ला प्रशाशन, प्रहरी कार्यालय, लगायत जिल्लाका सबै कार्यालयमा आइ पर्ने काममा आँफै खटिएर जनताको सेवामा आँफुलाई समर्पीत गर्नु भएको थियो । यती हुँदाहुँदै पनि कांग्रेस जिल्ला नेतृत्वले वहांको त्यागको सम्मान नगरेको धेरैको भनाइ थियो । सायद जिल्ला नेतृत्वमा बसेकाहरुलाई लाग्यो होला यदी वहाँले टिकट पाएर जितेको खण्डमा आंफुहरुभन्दा बढी शक्तिशाली हुने डर थियो होला सायद, किनकी राजनीतिमा यस्तै यस्तै त हुँदै आएको छ नै । छिर्के हान्ने, उठाउने अनि लडाउने, खुट्टा तान्ने प्रवृत्ती स्याङ्गजा कांग्रेसको पुरानै चरित्र हो र यसैको मारमा गोपाल ढकाल जस्ता त्यागीहरु मारमा पर्ने गर्छन । नत्र फेदीखोलामा तारापती, पुतलीबजारमा तुलसीराम रेग्मी, गल्यांगमा लालगोपाल अर्याल लगायतले टिकट पाउँदा गोपाल ढकालले नपाउनु पर्ने के थियो र ? यसैपनि आँधीखोला समग्र स्याङ्गजाको केन्द्र नै हो र त्यहाँ आफनो मान्छेलाई मात्र टिकट दिने जिल्ला नेतृत्वको निर्णय नै गलत थियो ।राम्रालाई भन्दा हाम्रालाई टिकट दिंदाको परिणाम आज स्याङ्गजा कांग्रेसले भोगेको छ । चेत पलाओस ।टिकट वितरण त अब व्यक्तीको कुरै रहेन यो त आम मतदातासंग जोडिएको पनि कुरो हो भन्ने कुरा बुझ्न जिल्ला नेतृत्वले सकेन ।

पछिल्लो समय नेता गोपाल ढकाललाई कृष्ण सिटौला र गगन थापा लाइन नजीक मानिंदै आएको छ । सायद जिल्ला नेतृत्वले त्यो लाइनलाई टिकट दिन उचीत ठानेन वा अझ बढी शक्तिशाली हुने ठानेर होला पाखा लगाउने काम गर्यो जुन उचीत थिएन नै । ढकाल तिनै नेता हुन् जो स्याङ्गजा क्षत्र नम्बर एकको क्षत्रिय सभापती हुँदा ६२/ ६३ को आन्दोलनमा जेल समेत परेका थिए वहाँलाई घरबाट नै प्रहरीले गिरफ्तार गरी सिधै जेल चलान गरेको थियो पछि आन्दोलन पश्चात नेपाली कांग्रेस गणतन्त्रमा जानु पर्छ भनेर क्षत्रिय समितिबाट सबैलाई दवाव दिनको लागि निर्णय समेत गराएका थिए अनि कांग्रेस युवा नेता गगन थापालाई र कांग्रेस महामन्त्री शशांक कोइरालालाई पंचमुल लगेर कांग्रेसको बिशाल आमसभामा सम्बोधन समेत गराएका थिए । त्यसले नेपाली कांग्रेसको संगठनमा थप उर्जा थपेको थियो ।

आँधीखोलामा एमालेले सुधीर पौड्याललाई टिकट दिएपछि उम्मेदवार सहित सबै समयमै गाउँ पसेका थिए तर कांग्रेसले उम्मेदवारको टुंगो केवल चुनावको १२ दिन अगाडी मात्र टुंगो लगायो । यहीं कति अकर्मण्यता देखिन्छ । विपक्षी एमाले पार्टीबाट  पौडेल उम्मेदवार उठीसकेपछी कांग्रेसले पौडेललाई नै बनाउनु उपयुक्त कत्ति पनि थिएन । हाम्रो जस्तो अर्धचेतन समाजमा जहाँ जात जातीको कुरोले अझै पनि मान्यता राख्छन भने त्यहाँ एकै जातको व्यक्ती दुइ पार्टीबाट उम्मेदवार बने भने जनताले व्यक्ती दांजन थाल्छन, व्यक्ती समाजमा कतीसम्मा घुलेको छ, के योगदान गर्न सक्छ भन्ने जस्ता कुरा मुल्याङ्कनको कसीमा पर्छन । यो कुरामा स्वाभाविक रुपमा एमाले उम्मेदवार सुधीर पौडेल अगाडी थिए । यस्तो रणनीतिक कुरा पनि स्याङ्गजा कांग्रेस नेतृत्वले बुझेको सम्म पाईएन । कांग्रेस उम्मेदवार प्रदीप पौडेलको यहाँ अपमान गर्न खोजिएको होइन की मुल्याङ्कनको कसीमा वहाँ अब्बल निस्कन सक्नु भएन भन्ने मात्र हो ।

अर्को मुख्य कुरा पंचमुलको लागि कांग्रेस उम्मेदवार पौडेल एकदमै अपरिचीत थिए । स्वयम् कांग्रेस कार्यकर्ताले पनि वहाँलाई देख्नु त के चिनेका पनि थिएनन्।  चुनाव हुनु एक साता अघिसम्म कांग्रेस उम्मेदवार पौडेल काठमाडौँमा थिए । एक त पहिल्यै पंचमुलले आशा गरेका व्यक्तीलाई पार्टीले टिकट नदिएपछि बिच्केका कांग्रेसी कार्यकर्ता आफनो उम्मेदवार गाउँमा ढिलो गरी देखा पर्दा एक किसिमको अन्यौल  कायमै थियो भने अर्कोतीर एमाले पार्टी संगठीत हुँदै पहिल्यै गाउँ पसिसकेको थियो । पंचमुलका कांग्रेसीहरु घरदैलोमा व्यस्त थिए भने गोपाल ढकाल पनि घरदैलो गर्दै हिड्नु भएको थियो यो पंक्तिकार पनि वहाँ संगै घरदैलो गर्दै थियो यस्तैमा अर्घौंदीमा हामी एउटा घर चिया पिउने क्रममा त्यहाँ त्यहाँ वरपरका धेरै आमा बुबाहरु जम्मा हुनुभयो यस्तैमा एक जना दिदीले भनेको म सम्झन्छु, वहांले गोपाल ढकाल तर्फ फर्कंदै भन्नु भयो- गोपाल बुबा खै त तपाईलाई पार्टीले टिकट दिएको ? के का लागि तपाईं यो दिनरात नभनी हिड्नु हुन्छ ? यस्तो अपमान गर्दा पनि तपाईं अझै भोट माग्न हिड्नु हुन्छ ? तपाईंको मात्र हैन यो त सबै पंचमुलका कांग्रेसहरुको अपमान हो ‘ यी शब्दहरु बोल्दै गर्दा दिदीको आँखामा आँशु पनि आइसकेका थिए । त्यहाँ एकछिन सन्नाटा छायो वहाँ एकछिन निशब्द बन्नु भयो । हामी अबै निशब्द बन्यौं । जवाफमा ढकालले केहि भन्नु भएन । सायद वहाँसंग एक जुझारु र नेपाली कांग्रेसप्रती आस्थावान महिलाले गरेको सवालको जवाफ थिएन पनि होला । अहिले यो पंक्तिकार यसो घोत्लिंदा के निष्कर्षमा पुग्यो भने – हो यस्तै कारण हो, एक मतदाता वा कांग्रेसको कार्यकर्ताले आत्मसम्मान गर्न पाएको छैन भने त्यहाँ कांग्रेसको गढ कसरी सुरक्षीत हुन्छ ?

पंचमुलमा एमालेको प्रचार शैली अलि आक्रामक थियो जसलाई कांग्रेसले चिर्न सकेन । अझ भनौ नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार जीवनाथ शर्मा आँफै राम्रो टिम बनाएर लैजान सक्नु भएको थिएन । पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाइसके पछि स्वाभाविक रुपमा वहाँको जिम्मेवारी हो की कस्तो टिम बनाउने अनि कसरी परिचालन गर्ने भन्ने कुरा तर त्यो कुरामा शर्माको खास अनुभव पनि थिएन र वहांले त्यती भेउ नपाएको आभास भैरहेको थियो । यी लगायत यस्तै कारणले कांग्रेसले आफनो गढ सुरक्षीत गर्न सकेन । तही पनि टोलटोलमा गाउँगाउँमा कांग्रेसका जुझारु कार्यकर्ताहरु दिनरात नभनी कुदेका थिए । र चुनाव नजिकिंदै जाँदा सुन्य समयमा विपक्षी एमालेको प्रचार र भोट माग्ने शैली अर्कै निस्क्यो, कतीपय कुरा यहाँ उल्लेख गर्नु सान्दर्भीक हुँदैन । यी कुराबाट कांग्रेस बेखबर रहेको थियो अझ भनौं कल्पना भन्दा बाहिरको कुरो एमालेले गरेपछि एक्कासी कसरी प्रतीकार गर्ने भन्ने कुनै योजना कांग्रेसका वडा अध्यक्षका उम्मेदवार संग नै थिएन । यसरी समयलाई बुझ्न नसक्दा र समग्र आँधीखोला गाउँपालिकामा कांग्रेसका उम्मेदवार सहि नउठाउँदा पंचमुलमा नेपाली कांग्रेसको गढ जोगिन सकेन ।

लेखक पंचमुल निवासी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् र हाल वैदेशीक रोजगारको शिलशिलामा कतारमा रहेका र स्थानीय निर्वाचनमा नेपाल आइ हाल कतार फर्कीसक्नु भएको छ ।