एनअारएन अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री महरा र गृहमन्त्री शर्मासँग छलफल


काठमाण्डौ – गैर आवासीय नेपाली स‌ंघ एनआरएन अध्यक्ष शेष घलेले परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा तथा गृहमन्त्री जनार्दन शर्मासँग  भेट गरी छलफल गरेका छन् । घलेको नेतृत्वमा ११ जुनमा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाइ भेटि  सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।

भेटका अबसरमा उपप्रधानमन्त्री महराले संघका अध्यक्षले राखेका विषयहरु समसामयिक र महत्वपूर्ण भएको हँंदा यसमा पहल गर्ने बताए । उनले मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुको सुरक्षाको लागि एक अध्ययन कार्यदल गठन गर्न लागेको र यस कार्यमा संघसँग सहकार्यको लागि पहल गरिने जनाए ।

 घलेले गैरआवासीय नेपाली संघका गतिविधिबारे जानकारी गराए । उनले विदेशका कतिपय मुलुकमा नेपालीको बसोबास धेरै भएका स्थानमा कन्सुलेट सेवा उपलब्ध नभएको भन्दै ध्यानाकर्षण समेत गराए।  नेपालको संविधान २०७२ मा सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएको र सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारको व्याख्या सबै नेपाली नागरिकहरु सरह हुनुपर्ने व्यवस्था अनुरुप कानुन निर्माणमा आवश्यक पहल गरिदिन उनकाे  आग्रह थियो । अध्यक्ष घलेले वाणिज्य दूतको नियुक्ति गर्दा स्थानियरुपमा स्थापित र क्षमतावान व्यक्तिहरुको पहिचान गर्नुपर्ने सुझाव दिए ।

with sharma
यता संघका अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले  गृहमन्त्री जनार्दन शर्मालाई पनि भेट्यो ।  शर्मा सँगको भेटमा अध्यक्ष घलेले लाप्राक नमूना वस्ती परियोजनाका गतिविधिहरु र स्वयंमसेवक परिचालनबारे जानकारी गराउँदै सो परियोजनास्थलमा सुरक्षा चौकी स्थापनाको लागि अनुरोध गरे । उनले भौगोलिक तथा मौसमका कारण यो परियोजना अत्यन्तै चुनौतिपूर्ण रहेको तथा कठिनाइका बाबजुद पनि तीस प्रतिशत काम सम्पन्न भएको समेत अवगत गराए ।

जवाफमा मन्त्री शर्माले संविधानमा उल्लेख भएका बिषयहरुको सम्बोधन गरिने र गैरआवासीय नेपालीहरुसँग मिलेर देश बिकासमा धेरै काम गर्नुपर्ने बताए । उनले लाप्राकमा अस्थायी सुरक्षा चौकि राख्न पहल गर्ने बताउँदै भेटका दौरान संघका अध्यक्षले उठाएका बिषय सम्बोधन गर्न तत्कालै पहल गर्ने जानकारी दिए।

भेटमा संघका तर्फबाट अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा, सल्लाहाकार त्रिलोक गुरुङ्ग र सचिवालयका कार्यकारी निर्देशक राजेशशमसेर राणा लगायतको सहभागिता थियो ।