लण्डनको चौबिस तले ‘टावर ब्लक’मा आगलागी, कैयौँको मृत्यु


लण्डन/लण्डनमा एउटा चौबिस तले आवासीय ‘टावर ब्लक’मा भएको भीषण आगलागीमा कैयौँ मानिसहरुले ज्यान गुमाएका छन्। कम्तीमा ५० जना मानिसहरुलाई अस्पताल लगिएको बीसीसी नेपाली सेवाले जनाएको छ।

ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा भएको आगलागीमा ज्यान जोगाएका व्यक्तिहरुले त्यहाँ फसेका मानिसहरुले मद्दतको लागि आग्रह गर्दै चिच्याएको र केहीले आफ्ना साना केटाकेटीलाई लिएर झ्यालतर्फ अघि बढेको अनि माथिल्ला तलाहरुबाट हाम फालेको देखेको जानकारी दिएका छन्। अधिकारीहरुले मंगलबार बिहानीको समयमा आगलागी हुँदा उक्त भवनमा करिब ६ सय मानिसहरु रहेको बताएका छन्।

आगलागी नियन्त्रणका लागि झण्डै दुईसय अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो। आगोले क्षतविक्षत भएको उक्त टावर अझै ठडिएकै अवस्थामा छ तर त्यो ढल्नसक्ने चिन्ताहरु व्यक्त भएका छन्। आगलागीको कारण अझै थाहा भइसकेको छैन्। हालै उक्त भवनको साजसज्जा फेर्नुका साथै स्तरोन्नति गरिएको थियो।stream_imgउक्त टावरमा आगलागीको जोखिम रहेको भनेर केही स्थानीय मानिसहरुले विगतमा नै चेतावनी दिएको खुलासा भएको छ। उनीहरुले आगलागी हुँदा आफ्ना फ्ल्याटको मूल ढोका बन्द गरी भित्रै बस्न र उद्धारको प्रतीक्षा गर्न सुझाव दिइएको उल्लेख गरेका छन्।

लण्डनका मेयर सादिक खानले केही मानिसहरुले उक्त सुझावको उल्लंघन गरेर आफ्नो ज्यान जोगाएको उल्लेख गरेका छन्। उनले त्यस्ता सुझावले मानिसहरुलाई जोखिममा पार्ने या नपार्ने बारेमा जाचबुँझ गरिनुपर्ने बताएका छन्।

उक्त ब्लक अवस्थित रहेको क्षेत्रको स्थानीय प्रशासनले आगलागीको कारण र तीव्र स्तरमा भएको त्यसको फैलावटबारे द्रुत गतिमा छानबिन गरिने बताएका छन्।

यसैबीच सो घटनामा हालसम्म नेपाली नागरिक परेको सुचना प्राप्त नभएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।