अभिनय कला सिकाउने स्कुल पोखरामा सञ्चालन


पोखरा – प्रदेश नम्बर ४ कै पहिलो अभिनय कला सिकाउने स्कुल पोखरामा सञ्चालनमा आएको छ । नाटक निर्देशनमा चर्चा कमाएका कृष्ण उदासीले अभिनय कला सिकाउने उद्धेश्यले पोखराको गैह्रापाटनमा ‘नेसनल आर्ट स्कुल’ सञ्चालनमा ल्याएका हुन् ।

‘कला कलाका लागि, कला जीवनको लागि’ भन्ने मूल नारासहित उदासीले चार महिने अभिनय कोर्ष सम्बन्धी अभिनय स्कुल सञ्चालनमा ल्याएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । स्कुलका निर्देशक तथा संस्थापक उदासीका अनुसार ३ महिना अभिनय कोर्ष र एक महिने प्रोडक्सन कोर्ष अध्यापन गरिनेछ । स्कुलमा अभिनयलाई जीवन्त बनाउन आवश्यक योगा, मार्सल आर्ट, संगीत र नृत्यको प्रशिक्षण पनि गराईने उनले बताए ।

एक ब्याचमा २० जना मात्रै उत्पादन गर्ने र एक वर्षमा ३ ब्याचमा ६० जना कलाकार उत्पादन गर्ने लक्ष्य राखिएको उदासीले बताए । उदासीका अनुसार पहिलो ब्याचको कक्षा सञ्चालन असार २ गते शुक्रबारबाट शुरु हुनेछ । पहिलो ब्याचमा १८ जना भर्ना भएको उनले बताए । अभिनय कला सिक्ने उद्धेश्यले फारम भरेका २७ जना मध्ये कलाका लागि उपयुक्त १८ जना छनौट गरेर भर्ना गरिएको उनको भनाई छ ।

स्कुलमा ८ जना प्रशिक्षकहरुले प्रशिक्षण गराउने उदासीले बताए । उनका अनुसार काठमाडौं मण्डलाकी उत्पादन परिक्षा लामिछाने मुख्य प्रशिक्षकको रुपमा रहनेछिन् भने सरिता गिरी, कृष्ण उदासी, विकास जोशीले सिकाउने छन् । त्यस्तै, योगगुरु कोमलानन्दले योगा, धनश्याम पुनले नृत्य÷संगित र दीपक गोदारे मार्शलआर्टको कक्षा लिनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै स्कुलका निर्देशक÷संस्थापक उदासीले पोखरा अभिनयको लागि छुट्टै पहिचान बनाएको ठाउँ भएपनि पछिल्लो क्रममा कलाकार उत्पादन हुन छाडेपछि स्कुल स्थापना गरेको बताए । उनले आफ्नो स्कुलबाट अन्तराष्ट्रिय बजारमा प्रतिष्प्रर्धा गर्न सक्ने कलाकार उत्पादन गर्ने लक्ष्य लिएको बताए । उनले स्कुलबाट उत्पादित कलाकार बहु प्रतिभाशाली बन्ने र उसले पोखरामा थुप्रै अवसर पाउने जिकिर गरे । उनले भने,‘यहाँ अभिनयसहित योगा, मार्सल आर्ट, संगीत र नृत्य पनि सिकाईन्छ, जसका कारण उ कलाकार त बन्छ नै, उसले विद्यालयका लागि आवश्यक अभिनय कला सिकाउने शिक्षक, संगीत शिक्षक, नृत्य शिक्षक, मार्सल आर्ट शिक्षक बनेर जागिरको अवसर पनि पाउँछ ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेश नम्बर–४ को राजधानी पोखरामा अभिनय कला सम्बन्धी स्कुल खुल्नु खुशीको कुरा भएको बताउँदै यो स्कुल कलाकार उत्पादनका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संस्थापक÷निर्देशक उदासीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा स्कुलका प्रेस सल्लाहकार सन्देश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।