एनआरएन युरोपेली बैठकको तयारी तिब्र,जिम्मेबारी बाँडफाँड  


बार्सिलोना/ गैर आबासीय नेपाली संघको दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलनको तयारी तिब्र पारिएको छ। ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ जर्मनीको फ्रयाङफर्डमा जुलाईको अन्तिम साता हुने बैठकको तयारी तिब्र पारिएको हो।

एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बैठकले कम्तिमा २ करोड रुपैयाँ निर्माणधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य राखेको छ। यसका लागि युरोप क्षेत्रका हरेक राष्ट्रिय समन्वय परिषदहरुमा एक जना संयोजक नै तोकेर लक्ष्य पुरा गर्ने गरी तयारी थालिएको युरोप संयोजक कुल आचार्यले जानकारी दिए।

सम्मेलनका लागि आईतबार बसेको बैठकले, युरोप क्षेत्रमा योगदान दिएका तीन जना अभियन्ताहरुलाई सम्मान गर्ने निर्णय समेत गरेको छ। गत बर्षको कोपेनहेगन सम्मेलनमा बेल्जियम निबासी रबीन्द्रमान श्रेष्ठ ,बेलायतका चिरन्जीबी ढकाल र सुर्य गुरुङ सम्मानित भएका थिए। तिनै सम्मानित अभियन्ताहरुबाट, नयाँ ३ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिने :-

युरोपेली क्षेत्रीय बैठकका लागि प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरालाई निमन्त्रणा गरिने भएको छ। परराष्ट्र मन्त्रालय लगायत युरोप क्षेत्रमा रहेका नेपाली मिसनका प्रमुखहरुलाई समेत यस अघि पत्राचार भईसकेको संयोजक आचार्यले जानकारी दिए।

तयारी बैठकले सम्पूर्ण अतिथि निमन्त्रणाको जिम्मेबारी युरोप संयोजक तथा राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष तथा सचिवालका सदस्य सचिव नवराज रोस्यारालाई दिएको छ।

जिम्मेबारी बाँडफाँड:-

बैठकले होटल सहजीकरणका लागि महिला संयोजक सपिला राज भण्डारीलाई जिम्मेबारी दिएको छ। एनआरएन भवन निर्माणमा संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्ने सबै दाताहरुलाई सम्मान गरिने हुँदा ब्यबस्थापनका लागि युरोप उपसंयोजक दावा जी शेर्पालाई संयोजक तोकेको छ। एनआरएनको आफ्नै घर निर्माणमा धेरै थोरै सहयोग गर्ने सबै दातालाई कदर गर्दै सम्मानको कार्यक्रम राखिएको संयोजक आचार्यले बताए।

यस्तै साँस्कृतिक कार्यक्रमले समेत यसपटक सम्मेलनमा उचित स्थान पाएको छ। जुलाई २८ तारिख शुक्रबार राति ८ देखि १० बजे र शनिबार राति ९ देखि ११ बजे सम्म कार्यक्रम हुने भएको छ। युरोप क्षेत्रमा रहेका कलाकारहरुले प्रस्तुति राख्न चाहेमा एनआरएनए जर्मनीलाई सम्पर्क गर्न तयारी समितले अनुरोध गरेको छ।

महिला र युवाको कार्यक्रम जुलाई ३० तारिख

युरोपेली बैठकमा महिला तथा युवाहरुको समेत बिशेष बैठक हुँदै आएको छ। जुलाई ३० तारिख महिला सम्मेलन तथा युवाको लागि समय तय भएको हो। महिला संयोजक सपिला राज भण्डारी,उप संयोजक रजनी प्रधान र युवा उप संयोजक लोकराज शर्माले युरोप क्षेत्रका महिला तथा युवाहरुको सहभागिता बढाउने गरी तयारी थाल्ने भएका छन्।

११ सदस्यीय सचिवालयका प्रस्तावित निर्णयहरुलाई आईतबार सम्पन्न युरोप क्षेत्रको तयारी बैठकमा प्रस्तुत गर्दै अनुमोदन गरिएको थियो। बैठकमा संघका प्रमुख संरक्षक जीवा लामिछाने,उपाध्यक्ष कुमार पन्त,महासचिव डा. बद्री केसी,सचिव अर्जुन कुमार श्रेष्ठ लगायत युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुको उल्लेख सहभागिता रह्यो।