योग दिवसका अवसरमा पोखरामा प्रभातफेरि,द आर्ट लिभिङद्धारा योगाको आयोजना


पोखरा – तेस्रो विश्व योग दिवसका अवसरमा पोखरामा प्रभातफेरि निकालिएको छ । ‘गरौं योग, रहौं निरोग’ नाराका साथ मनाईएको यो दिवसका अवसरमा बुधबार पतञ्जली योग समिति, कास्कीले प्रभातफेरि निकालेको हो । भारी वर्षाबीच पनि प्रभातफेरिमा योगापारखीले सहभागिता जनाएका थिए ।

प्रभातफेरिमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, पश्चिमाञ्चलका पूर्व सह क्षेत्रीय प्रशासक दिवाकर बास्तोला सहित नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, उद्योगी व्यवसायी, योग शिक्षक तथा अन्य योग साधकहरूको सकृय सहभागिता रहेको समितिका सञ्चार प्रभारी एवं योग प्रशिक्षक रश्मी भण्डारीले जानकारी दिईन् ।

पोखराको मानवअधिकार चोकबाट अञ्चल प्रभारी दिपक सिग्देलबाट पवित्र मन्त्रोच्चारण गरी प्रभातफेरि सुरु भएको थियो । सो अवसरमा पूर्व सहक्षेत्रीय प्रशासक बास्तोला, समितिका केन्द्रीय सदस्य नरेन्द्र लालचन लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष परमेश्वर दाहालले योगको बारेमा प्रकाश पार्दै उपस्थित सबैलाइ धन्यवाद सहित समापन गरेका थिए । कायक्रमको संचालन समितिका मन्त्री मित्रलाल सुवेदीले गरेका थिए ।

द आर्ट लिभिङ पोखरा शाखाद्धारा योगाको आयोजना 

सन नेभर सेट भन्ने मुल नाराका साथ द आर्ट अफ लिभिङ पोखरा सेन्टरले विश्व योगा दिवस मनाएको छ । द आर्ट लिभिङ पोखरा शाखाले पोखराको माउण्ट कैलाशमा रहेको मानसरोबर हलमा योगाको आयोजना गरेको हो ।

उक्त अवसरमा द आर्ट लिभिङ पोखरा शाखा अन्तर्गत रहेका ५ सय वढी प्रशिक्षार्थीहरु योगामा सहभागीता जनाएका द आर्ट लिभिङ पोखरा सेन्टरका प्रशिक्षक शौमाया गुरुङ भट्टराइले जानकारी दिइन् ।

विश्व योगा दिवस सन २०१५ को जुन महिनादेखि मनाउन सुरु गरिएको र सोही अनुरुप पोखरामा पनि योगा दिवस मनाउदै आइरहेको द आर्ट अफ लिभिङ पोखरा शाखाका प्रशिक्षक भावेश खनालले बताए ।

२०१५ को जुनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले युएन हाउसमा योगाको बारेमा प्रस्ताव लगेपछि विश्वका ३ सय वढी देशले योगा दिवसको पक्षमा अगाडी वढेपछि अन्तराष्ट्रिय योगा दिवस मनाउन थालिएको खनालले बताए ।

खनालका अनुसार योगा डे २१ जुन वर्ष भरिको लामो दिन भएकाले संसारको वढी भन्दा वढी देशमा सूर्य अस्त नहुने भएकाले सन नेभर सेट भन्ने मुल नारा सहित यो दिन विहान देखि बेलुका सम्म विभिन्न स्थानमा पुगेर योगा गर्न सकिने छ ।

योगाले मानिसलाई मानसिक तनाव, थकान, बाट मुक्त बनाउनुका साथै शरिरलाई स्वस्थ राख्न सहयोग गर्ने खनालको भनाइ रहेको थियो ।