दृष्टिविहिनले अब सडकमा गीतगाउन पर्दैन


पोखरा – दृष्टिविहिनको क्षेत्रमा कास्कीमा क्रियाशिल संस्था र अन्य समाजिक संस्था मिलेर पोखरामा नयाँ कामको थालनी गर्न लागेका छन् । लायन्स क्लब अफ पोखरा सप्तगण्डकी, कास्की नेत्रहिन संघ, समदृष्टि बचत तथा ऋण सहकारी संस्था, उद्यमी कृषी सहकारी संस्थाको सहकार्यमा उज्यालो प्रतिष्ठान नेपाल नामक गैह्र सरकारी संस्था स्थापना गरी त्यस मार्फत उज्यालो बजार सञ्चालन गर्न लागिएको छ ।

प्रतिष्ठान अन्तर्गत दृष्टिविहिनलाई अनुदान रकम दिने र कम लागतमा उनीहरुको ब्यवसाय सञ्चालन गर्न सहयोग गर्ने अध्यक्ष पार्वती कुमारी शर्माले जानकारी दिइन् । तत्कालको लागि पोखरा लेखनाथ महानगरपालिका ८ सिद्धार्थचोकमा रहेको सिद्धार्थ मिनी मार्केटका ३० वटा सटरमा उज्यालो बजार नामक दृष्टिविहिनको पसल सञ्चालन गरिनेछ ।

विहिवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार दृष्टिविहिनको पसलमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, तरकारी, फलफुल, दुध, मासु, चमेना तथा फेन्सी सामान राखिनेछ । पहिलो चरणमा २१ जना दृष्टिविहिनलाई उनीहरुको ब्यवसायको प्रकृति अनुसारको सटर उपलब्ध गराउने अध्यक्ष शर्माले जानकारी दिइन् । त्यसका लागि पसल सञ्चालन गर्न चाहने दृष्टिविहिनले २५ हजार रुपैया मात्र बुझाए पुग्नेछ । मिनी मार्केट सञ्चालक राजेश पराजुलीका अनुसार दृष्टिविहिनको लागि सुरुवातमा तीन लाख सटर भाडा छुट दिइएको छ । सुरुवाती ६ महिनासम्म निशुल्क सटर र दुई बर्षसम्मको लागि प्रति सटर ३५ सय रुपैया मात्रै भाडा लिने गरी दृष्टिविहिनलाई ब्यवसाय सञ्चालनमा सहयोग गर्न लागेको पराजुलीले बताए । उनले अनुदानमा रकम प्राप्त गरी पसल सञ्चालन गर्ने भएपनि पुरै आफ्नो लगानी सम्झेर पाएको सहयोगको पूर्ण उपयोग गर्न समेत आग्रह गरेका छन् ।

यसको लागि तीन करोड रुपैया आवश्यक रहेको र थोरै मात्र रकम जम्मा भएकाले अन्य रकम सहयोगका लागि अपिल समेत गरिएको छ । विभिन्न आर्थिक, सामाजिक तथा भौतिक समस्याबाट पीडित दृष्टिविहिनको जिविकोपार्जनका लागि आर्थिक स्तर उकास्न यो परियोजनाले सहजता प्रदान गर्ने विश्वास लिइएको छ । दृष्टिविविन समेत रहेका प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण सुवेदीले दृष्टिविहिनलाई ब्यवसाय सञ्चालनको लागि सहजता प्रदान गर्न त्यस सम्बन्धि तालिम समेत दिने बताए । आगामी साउन देखि दृष्टिविहिनको पसल सञ्चालन गर्ने गरी तयारी भैरहेको समेत उनले जानकारी दिए ।

दृष्टिविहिनहरुलाई स्वरोजगार बनाउन र उनीहरुको आयआर्जन बढाउन भन्दै विभिन्न एनजिओ आइएनजिओले आ आफ्नै तरिकाले काम गरिरहेका छन् । त्यस्ता कतिपय संस्थाको काम प्रभावकारी र परिणाममुखी देखिएका छन् भने कतिपय अपाङ्गको नाममा सपाङ्गले मागीखाने भाडो जस्तै बनेका छन् ।

दृष्टिविहिनहरु मध्येपनि क्षमता भएका कतिपय प्राध्यापन पेशामा आबद्ध छन् । कोहि आफ्नै ब्यवसाय गरेर पनि बसेका छन् भने कोहि अन्य विभिन्न संघ संस्थामा रोजगारी गरिरहेका छन् । तथ्याङ्क अनुसार कास्कीमा जम्मा एक हजार चार सय ४५ दृष्टिविहिन छन् । नेपालभर झण्डै ९५ हजार मानिस दष्टिविहिन रहेको अनुमान छ । यस मध्ये झण्डै एक हजार मात्रै रोजगारीमा छन् ।