भारतका तीन मुख्य शहरमा आयोजित चलिए पोखरा अभियान सम्पन्न


पोखरा – नेपालबाट नजिक पर्ने उत्तर भारतका तीन मुख्य शहरमा आयोजित पाँच दिने प्रवद्र्धनात्मक चलिए पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न भएको छ ।

यही असार १६ बाट २० गतेसम्म विहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुरमा यस्तो अभियान संचालन गरिएको थियो । पश्चिमाञ्चल होटल संघ पोखराले विगत छ वर्षदेखि भारतीय पर्यटक आकर्षित गर्न निरन्तर संचालन गर्दै आएको यो अभियानलाई यसपटक नेपाल पर्यटन बोर्डले सघाएको थियो । नेपालबाट नजिकका शहरहरु भएका कारण बढी भन्दा बढी भारतीय पर्यटक आकर्षण गर्न सहज हुने देखि उत्र भारतमा चलिए पोखरा अभियान संचालन गरिएको आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक विकल तुलाचनले जानकारी दिए । उनले भारतीय पर्यटकलाई नेपाल घुम्न आग्रह गर्दै पोखरामा धेरै स्तरीय होटल र पर्यटकका लागि आबश्यक सुविधाहरु रहेको बताए ।

पटनामा आयोजित कार्यक्रममा बोल्दै विहार स्टेट टुरिजम कर्पोरेसनका जनसम्पर्क अधिकृत गजेन्द्र सिंहले विहारमा नेपालबारे सूचना केन्द्र खोल्न सुझाव दिए । पर्यटन विज्ञ एवं पर्यटन व्यवसायी सञ्जय शर्माले पर्यटक बोकेर नेपाल पुग्ने भारतीय सवारी साधनलाई नेपाल भारत सिमा तथा अन्य स्थानमा सहज वातावरणको माग गर्दै विरगंजबाट पोखरासम्म सिधा पर्यटक वस सेवा संचालन गर्न सुझाव दिए । इन्डियन टुरिष्ट व्यूरो पटनाका निर्देशक अमिताभ मिश्रले पोखराबाट पटना र काठमाडौंबाट पटनासम्म सिधा हवाई सेवाको माग राखे ।

लखनउमा भएको कार्यक्रममा उत्तर प्रदेश स्थित भारतीय जनता पार्टीका प्रवक्ता राकेश त्रिपाठीले नेपाल पुग्न भारतीय पर्यटकका लागि भिसा आबश्यक नपर्नु राम्रो पक्ष भएको सुनाए । उनले धार्मिक र सांस्कृतिक रुपमा उत्तर प्रदेश र नेपालको झन् नजिकको संवध रहेको भन्दै, राम, कृष्ण, जानकी र बुद्धको सन्दर्भले दुई देशलाई झन् नजिक्याएको उनले बताए । पोखराको सुन्दरता आफूले भिडियोमो देखेको र यो देखेर आफू अहिलेसम्म किन पोखरा गइन भनी पछुतो लागेको भनाई पनि उनले राखे । यसैगरी उत्तर प्रदेश ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष सुशील तिवारीले नेपाल भ्रमण गर्नका लागि भारतीयलाई पासपोर्ट समेत आबश्यक नपर्ने भन्दै लखनउ पोखरा सिधा हवाई सम्पर्क भए धेरै भारतीय पर्यटक नेपाल पुग्ने भनाई राखे ।

यसैगरी गोरखपुरमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी अतुल केसरवानीले गोरखपुरबाट प्रशस्त भारतीय पर्यटक पोखरा पुग्ने गरेको स्मरण गराए । पोखराको सुन्दरताबाट भारतीयहरु मोहित हुने गरेको सुनाउँदै उनले पोखरासम्मको यातायात पहुँच सुधार गर्न सुझाव राखे । पोखरा र मुक्तिनाथबाट भैरहवा सम्म सिधा हवाई उडान हुनुपर्ने, नेपालमा भारतीय पर्यटक बोकेका भारतीय सवारी दुर्घटनामा पर्दा नेपाली पक्षबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने माग पनि त्यहाँका व्यवसायीको रहेको थियो । संघका सल्लाहकार हरि शर्मा गैह्रेले नेपालमा भारतीय पर्यटकका लागि कुनै समस्या नभएको भन्दै केही समस्या भए तिनलाई सुधार गर्दै लगिने प्रतिबद्धता जनाए ।

नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले भारतीय पक्षबाट उठाइएका जिज्ञासाको उत्तर दिएका थिए । संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेल र पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्य भुजेलले चलिए पोखरा अभियान निकै फलदायी भएको बताउँदै थप सुधार गरी यो अभियानलाई अगाडि बढाउनुपर्ने बताए । अभियानका अवसरमा व्यापारिक भेटघाट, पोखराको वृत्तचित्र प्रदर्शन, भारतीयलाई नेपाल घुम्न निम्ता प्रदान र प्रवद्र्धनात्मक सामग्रीको वितरण जस्ता कार्यक्रम समेटिएका थिए ।