अर्जुन नेपाली संगीत पुरस्कार खड्क गर्बुजालाई


पोखरा – अर्जुन नेपाली स्मृति संगीत पुरस्कार यसपटक गायक खड्क गर्बुजालाई प्रदान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराले दुई÷दुई वर्षमा व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कार यसपाली म्याग्दीका गायक गर्बुजालाई प्रदान गर्न लागिएको हो ।
असार ३० गते एक समारोहका १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले गर्बुजालाई पुरस्कार अर्पण गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गौतम बिजुक्छेले बताए । कवि तीर्थ श्रेष्ठको संयोजक, हरिदेवी कोइराला र कृष्णबहादुर श्रेष्ठ सदस्य रहेको प्रतिभा छनोट समितिले यसपटक गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशीमा ५ हजार रुपैयाँ थप गरेर दिने अक्षयकोष स्थापना गर्ने परिवारका सदस्यले जनाएका छन् ।
लामो समयदेखि मौलिक लोक संस्कृतिको संरक्षण र गायनमा सक्रिय गर्बुजाले चियरबाटै गीत गाएर देश, विदेश घुमेका छन् । २०४३ सालमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते गर्बुजा खुट्टाले हिँड्न नसक्ने भए पनि ह्विल चियरबाटै गीत गाएर वाहवाही पाएका छन् । २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन यात्रामा लागेका गर्बुजाले झन्डै १ हजार गीतमा आवाज दिएका छन् ।
पानी खायो बाघैले, आकासैमुनी, हेर्दा हेर्दै कान्छीले लगायत छ्याउरे, सालैजो, यानीमायाका चर्चित गीत गाएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कार लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाएका छन् ।
यो पुरस्कारबाट यसअघि बिमाकुमारी दुरा, हिमाली सांस्कृतिक परिवार, प्रजापति पराजुली, बिगी अनुरागी, विवेक श्रेष्ठ र राजकुमार श्रेष्ठ पुरस्कृत भइसकेका छन् । अर्जुन नेपालीको स्मृतिमा संगीत प्रशिक्षण केन्द्रले पुरस्कार स्थापना गरेको हो ।
अर्जुन नेपाली शास्त्रीय संगीतका साधक तथा  बेलाबादक थिए । बामपंथी बिचारमा झुकाव राख्ने स्व नेपालीले आफ्नो समग्र जीवन संगीतको विकासमा समर्पित गरेका थिए ।