बार्सिलोनामा गुञ्जदै छन् बिनोद


बार्सिलोना । बासुरी बाधक बिनोद कटुवाल बिदेशी तथा नेपाली कलाकारहरुको साथमा बार्सिलोनामा गुञ्जने भएका छन्।  बिश्व कलाकार संघ स्पेनको आयोजनामा आगामी जुलाई ३० तारिख कटुवाल गुञ्जने भएका हुन्।बाँसुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाउदै आएका कटुवालले उक्त अबसरमा बिशेष प्रस्तुतिहरु राख्ने भएका छन्।

अफ्रिकाको गीत संगीतमा बासुरीको धुन मिसाएर रासाकन एल्बम नै तयार पारेको रासाकन समुहले उनिसँगै प्रस्तुति राख्दै छन्। कोरा,जेम्बे (अफ्रिकी ड्रम), मुर्चुङ्गा लगायतका बाजाको साथमा बाँसुरीको धुन मिसाइएको छ। स्पेनका बिभिन्न शहरहरुमा आफ्नो प्रस्तुति राख्दै आएको उक्त समुहको प्रस्तुतिलाई बिशेष आकर्षणको रुपमा लिईएको छ।

आमानान्तु अर्को ब्याण्डको नाम जसले साउथ अमेरिकन राष्ट्रहरु भेनेजुयला र चिलीको प्रचलित संगीतसँग बिनोदको बाँसुरी धुन मिसाउदै प्रस्तुतीहरु राख्दै आएको छ। कटुवालले भने “ बिदेशमा थुप्रै कार्यक्रमहरु हुन्छन् तर बासुरीको धुनलाई केन्द्रित गरेर हुने कार्यक्रमहरु धेरै कम छन्,त्यसैले पनि सहभागी बन्न अनुरोध गर्दछु।

कार्यक्रममा कलाकारहरु अजय लोप्चन,सुमी घिमिरे सापकोटा,पेम्बा छोटी गोले शेर्पा,नरेश कार्की लगायतले कटुवाललाई साथ दिदै छन्। नेपाली तथा स्पेनिसहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

को हुन् बिनोद कटुवाल ?

कीर्तिपुर चोभारमा जन्मिएका कटुवाल सानैदेखि संगीतका सौखिन थिए । उनले आफ्नो स्कुल जीवन कीर्तिपुरकै पाँगा माविमा बिताए। स्कुलमा छँदा कक्षा ५ देखि नै गुरुरमन मर्हजनसँग बाँसुरी सिकेको उनी बताउँछन्। “संगीत धेरै नै मन पर्थ्यो सानो छँदा मादल खुब बजाईथ्यो तर यसरी बाँसुरीमा नै चाख बढ्छ जस्तो लाग्दैनथ्यो” बिनोद भन्छन्, “प्रतियोगिताहरुमा भाग लिन थालियो पछि हौसला बढ्दै गयो।”

उनले  ईन्दिरा संगीतमा हिन्दुस्तानी शास्त्रीय संगीत समेत सिकेका छन्। १८ बर्ष संगीतमा बिताएका उनले स्वदेशमा रहंदा पनि बिभिन्न कार्यक्रमहरुमा प्रस्तुति राख्दै आएका थिए। अफ्रिकन बाजाहरु प्रयोग गर्दै बिनोदले आफ्नै एल्बम बाँसुरी ल्याएका छन्। एल्बममा रहेको धुन “म्याजिक साउण्ड अफ काठमाडौ” निकै चर्चित बन्यो।

ठमेलमा गीत गाउँदै गर्दा उनको रसियन नागरिक सानी भेन्कानारसँग भेट भयो। नेपाल घुम्न आएकी भेन्कानारले बिनोदको एउटा भिडियो तयार गरिदिइन्। आफ्नै श्रीमानलाई खिच्न लगाएर उनको निर्देशनमा बनेको भिडियो यूट्युबमा निकै लोकप्रिय बनेको हो। सोही “म्याजिक साउण्ड अफ काठमाडौ” नामको भिडियोलाई युट्युभमा हालसम्म १० लाख भन्दा बढीले हेरेका छन्।