नेपालीनेपालीको कार्यक्रममा,बीबीसी पुर्व प्रमुख नेपाली सहभागी बन्दै


बार्सिलोना/ युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो बार्षिकोत्सव समारोहमा बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली सहभागी बन्ने भएका छन्।आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना हुने बिशेष कार्यक्रममा बरिष्ट संचारकर्मी नेपाली सहभागी बन्ने भएका हुन्।

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका नेपालीलाई गत बर्षको कार्यक्रममा नेपालीनेपाली डटकमले सम्मान गरेको थियो।

मिडियाको तेस्रो बार्षिकोत्सव समारोहलाई जर्मनीका लागि नेपाली महामहिम राजदूत रमेश प्रसाद खनालले उद्घघाटन गर्ने भएका छन्। उद्घघाटन समारोहमा गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने,संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्य दूत रामप्रताप थापा,केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी सहभागी बन्ने निश्चित भईसकेको छ।

गत बर्षको कार्यक्रममा सम्मान गर्दै नेपाली
गत बर्षको कार्यक्रममा सम्मान गर्दै नेपाली

यस्तै संघका सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपीला राजभण्डारी,युवा उप संयोजक लोकराज शर्मा,संघका प्रबक्ता रन्जु थापा वाग्ले,युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरुले पनि सहभागिता जनाउने पक्का भएको छ।

मिडियाले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,बर्तमान अध्यक्ष डा. शेष घले,उपाध्यक्ष भवन भट्टलाई पनि निमन्त्रणा पठाएको छ। एनआरएनको युरोपेली बैठकको अघिल्लो दिन कार्यक्रम भएको हुँदा महतो,घले र भट्ट पनि सहभागी बन्ने सम्भावना रहेता पनि निश्चित भईसकेको छैन।

यसैबीच नेपालीनेपाली डटकमले बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका बिशेष समारोह बीच सम्मानित गर्ने भएको छ। दुई दशक देखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुर्याएको योगदानको कदर गर्दै मिडियाले खडकालाई सम्मान गर्न लागेको हो।

यस्तै हरेक बर्ष प्रदान गर्दै आएको युरोप बर्ष व्यक्तित्व सम्मान यस बर्ष पनि घोषणा गर्ने भएको छ। युरोपको नेपाली समुदायमा रही सामाजिक रुपमा काम गर्दै आएका एक जनालाई “युरोप बर्ष व्यक्तित्व” को नाममा मिडियाले सम्मान गर्दै आएको छ।

नेपालीनेपाली डटकमले कार्यक्रमलाई दुई चरणमा बिभाजन गरेको जनाएको छ। पहिलो चरणमा ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गरिदै छ।

दोस्रो चरणमा युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा मिडियाले प्यानल छलफल गर्दै छ। छलफल कार्यक्रममा नेपाल र प्रबासमा रही सक्रिय रुपमा कलम चलाईरहेका पत्रकारहरुले सहभागिता जनाउने भएका छन्।

युरोपमा नेपाली पत्रकारिताको बर्तमान अबस्था,भविष्य,सम्भावना र चुनौतीलाई केन्द्रित गर्दै नेपाली समुदाय साँझ हुने छलफलले सार्थकता पाउने बिश्वास मिडियाले राखेको छ।