उर्जा सम्झौता—परेवा र बाँजको मितेरी साइनो जस्तो’ नेपाललाइ भुटानीकरण गर्ने भारतको खेल


 

नेपालीनेपाली डटकम
पोखरा, ९ साउन

प्रस्तावित नेपाल—भारत ऊर्जा सम्झौताको नाममा नेपाललाई भुटानीकरण गर्ने भारतको खेल भएकोले कुनै पनि बहानामा सम्झौता गर्न नहुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले नेपालको जल सम्पदाको बारेमा नीतिगत सम्झौता गर्दा नेपाल—भारतको बीचमा मात्र नभएर बहुपक्षीय सम्झौता हुनुपर्नेमा जोडदिए ।

नागरिक समाज र स्वतन्त्र पत्रकार संघले शुक्रबार पोखरामा गरेको प्रस्तावित नेपाल—भारत ऊर्जा सम्झौता र नेपालकाृे सार्वभौम अधिकार विषयक परिचर्चा कार्यक्रममका बक्ताहरुले विगतमा पनि भारतसँग भएका सम्झौताले नेपाललाई हित नगरेको भन्दै उनीहरुले यो सम्झौताले जल सम्पदामाथिको नेपालको अधिकारलाई कुण्ठित गर्ने बताए ।उनीहरुले भारतले पठाएको प्रस्तावित सम्झौताको बारेमा संसदमा छलफल हुनुपर्नेमा पनि जोडदिए । राष्ट्रिय सहमति गरेर मात्र सम्झौता गर्न उनीहरुले सरकारलाई सुझाव दिदै १९५० को सन्धीलाई पनि सँगै जोडेर हेरिनुपर्ने बताए ।

कार्यक्रममा अधिवक्ता तिलक पराजुलीले नेपाल—भारतबीचमा भएका महाकाली, कोशी, टनकपुर, शारदा व्यारेज लगायतका सन्धी सम्झौताले नेपाललाई घाटा पु¥याएको र भारतले सम्झौता अनुसार काम नगर्द अविश्वास खाडल रहेकोले यस्तो अवस्थामा सम्झौता गर्न नहुने बताउनुभयो ।“विगतमा भारतसँग भएका सम्झौताले नेपाललाई लाभ गरेको छैन,”उहाँले भन्नुभयो,“लाभको साटो डुबान, लगायतका अनेक समस्या मात्र झेल्नु परेको छ, यो सम्झौता पनि भारतले आफ्नो स्वार्थ पुरा गर्न ल्याएको हो ।” नेपालको सर्वभौम अधिकारलाई कुण्ठित गर्ने कुनै कुरा सम्झौतमा भए, करेक्सन गर्न तयार छौं, भन्ने भारतीय राजदुतको विज्ञप्तिले नै नेपालको राष्ट्रिय स्वामित्वलाई खण्डित पार्न खोजेको स्पष्ट भएको भनाई उहाँको छ ।

पराजुलीले जलसम्पदाको बारेमा नीतिगत सम्झौता गर्दा नेपाल, भारत, चिन र बंगालदेशको बीचमा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पोखरा नगर समितिका सभापति विष्णुहरी बरालले सम्झौता अक्षरस पालान हुनुपर्ने बताउँदै नेपालको हितलाई हेरर मात्र अवको सम्झौता गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले पोखरा नगर समन्वय कमिटीका संयोजक तेजनारायण अधिकारीले अहिलेको सम्झौता विद्युत उत्पादन, खरिद र विक्रिको लागि मात्र भएको बताउँदै नेपाललाई घाटा हुने गरी सम्झौता गर्न नहुने बताउनुभयो ।

नेकपा—माओवादी कास्कीका सहसेक्रेटरी कृष्ण वाग्ले रुपेशले नेपाल—भारत ऊर्जा सम्झौता परेवा र वाँजको मितेरी साइनो जस्तो भएको बताउँदै यसले नेपाललाई हित नगर्ने बताउनुभयो । राजनीतिक दलहरुको कारणले सबै प्रकारको राष्ट्रियता गुमेको बताउँदै भारतले ऊर्जा सम्झौताको नाममा नेपाललाई उपनिवेश बनाउन खोजेको दावी गर्नुभयो ।

अधिकारकर्मी खगराज आचार्यले प्रस्तावित सम्झौताको धारा तीनमा ऊर्जामा भारतले शत प्रतिशत लगानी गर्ने, कि त नेपाल र भारतले मात्र गर्ने भन्ने बुँदाले तेस्रो पक्षलाई नेपालको ऊर्जामा लगानी गर्न बन्देज गर्न खोजेकोले यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । अधिवक्ता तिलक आचार्यले नेपालको जल सम्पदामा भारतले पहिलेदेखि नै आँखा गाडेको र कब्जा जमाउनको लागि यो सम्झौता अघि सरेको बताउनुभयो ।

कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल संचारकर्मी उदयबहादुर अमात्य, महेशकुमार खाती, दुर्गा अधिकारी लागयतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी देशप्रति उदार भएको भनिएपनि व्यवहार भने अनुदार रहेकोले यसप्रति नेपाल सरकार र राजनीतिक दलहरु सचेत रहनुपर्नेमा जोड दिए । कार्यक्रम स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतमा भएको थियो ।