प्रमुख अतिथि राजदुतद्वारा कार्यक्रममा शुभकामना सन्देश


नेपाली नेपाली डटकमको तेश्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं जर्मनीका लागि नेपाली राजदुत श्री रमेश प्रसाद खनालले अनलाईन पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले युरोपको नेपाली समाज र यहाँ विकास हुँदै गएको नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न गतिविधिहरु ऋगाडि बढेकोमा खुशी व्यक्त गर्दै यसमा पत्रकारिता जगतको अझ बढी महत्व रहेको बताउनु भयो । त्यसैगरी उहाँले हिजोको जस्तो अवस्था अहिले छैन, अहिलेको अवस्थामा जति सक्दो छिटो हरेक गतिविधि मिडियामा आईरहेको हुन्छ तर मिडियाहरुमा संयमता ल्याउन जरुरी छ र हरेक गतिविधिहरुलाई सुक्ष्म रुपमा हेरेर त्यही रुपमा पत्रकारिताको मर्मभन्दा बाहिर नजानेगरी बाहिर ल्याउनु पर्ने चुनौति छ । नेपालीहरुको डायस्पोरिक इतिहास सबैतिरको लाई समेटेर जोगाउनु पर्ने आवश्यकता छ । डायस्पोरामा म्यानमारमा, अमेरिकाको हवाईमा पनि पाठशालाको अवधारणाको विकास भएको छ भन्दै राजदुत खनालले पाठ्यक्रमका लागि यहीँका वस्तुस्थितिलाई समेत समेटेर नेपाली भाषा, संस्कृति र पहिचानको सम्वद्र्धन र विकासमा जुट्नु पर्छ भन्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवाशीय नेपाली संघका अध्यक्ष शेष घलेले पत्रकारिताका माध्यमबाट सिंगो प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको प्रशंशा गर्दै पत्रकारहरुको कलम सदैब तिखारिंदै जाओस् भन्ने शुभकामना व्यक्त गरे । त्यसैगरी शुभकामना सन्देश दिंदै संस्थापक राम प्रताप थापा, उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठ लगायतका अतिथीहरुले नेपाली नेपाली डटकमको उत्तरोत्तर प्रगतिको कामना गरे ।