लोकस्रष्टा कल्याण शेरचनको जन्मजयन्तीमा मादल प्रतियोगिता सम्पन्न


पोखरा – नेपाली लोक स्रष्टा, साधक, तथा शिल्पी स्वर्गीय कल्याण शेरचनको ७१ औं जन्मजयन्तीको अवसरमा साउन १२ गते विहिवार नेपाल मै पहिलो पटक राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिता २०७४ काठमाडौं जमलस्थित साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।

स्वर्गीय शेरचनको स्मृतिमा लोक सँस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्धेश्यले साँस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा प्रतियोगिता आयोजित प्रतियोगितामा अन्य २३ जना प्रतियोगीलाई पछि पार्दै रोल्पाका पोषणराज घर्ती मगर प्रथम हुदै नेपालकै उत्कृष्ठ मादल बादक घोषित हुनुभयो। प्रथम हुनुभएका घर्ती मगर ५० हजार ५ रुपैयासहित ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।

प्रतियोगितामा दोश्रो हुनुभएका सुर्खेतका देवराज गिरी २५ हजार ५ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र, तेश्रो स्थान हासिल गरेका नुवाकोटका सुनिल बर्देवाले १५ हजार ५ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनुभएको थियो ।
यसरी नै प्रतियोगितामा १५ वटा मादल एकै पटक बजाएका सबै भन्दा कान्छो १३ वर्षिय प्रतियोगी काठमाडौंका रिजन महर्जनले सिर्जनात्मक मादल बादनको उपाधिसहित ५ हजार ५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो भने स्याङजाका मोहन रानाले दमदार एवं परम्परागत मादल बादनको उपाधिसहित ५ हजार ५ सहित ट्रफी, मेडल र प्रमाणपत्र, सल्यानका विष्णुबहादुर बुढाले लोपोन्मुख पौराणिक मादल बादनको उपाधिसहित ५ हजार ५ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्रबाट सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेताहरुलाई साँस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, महाप्रवन्धक राजेश थापा, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मो र प्रतिष्ठानका संरक्षक तथा कल्याण शेरचनका दाजु नरबहादुर शेरचनले पुरस्कृत गर्नुभएको थियो ।

प्रतियोगिताको नतिजा प्रतियोगिता संयोजक तथा जुरी निर्णायक खर्कबहादुर बुढाले घोषणा गर्नुभएको थियो भने निर्णायकहरुमा बरिष्ठ मादल बादकहरु न्हुछेबहादुर डंगोल, प्रेमदेव गिरी, अर्जुन चैनपुरे रहनुभएको थियो ।

दश जिल्लाका २४ जना प्रतिस्पर्धी रहेको प्रतियोगिता सम्पन्न गर्नका लागि रामबजार सोसाइटी युकेले १ लाख ५० हजार २३३ रुपैया सहयोग गर्दै प्रमुख प्रायोजक र कल्याण शेरचनका छोरी ज्वाई पोखरा रानीवौवाका स्मृति÷किरण शाक्यले पुरस्कार प्रायोजन स्वरुप १ लाख २० हजार ३५ रुपैया सहयोग गर्नुभएको थियो । यसरी नै थकाली सेवा समिति काठमाडौं लगायत थकाली संघ संस्थाहरुको सहयोग प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गरेको प्रतिष्ठानका कोषाध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो ।
प्रतियोगिताकै अवसरमा लामो समयदेखि लोक साँस्कृतिक बाजा मादल बजाउदै मादल आउनु भएका वरिष्ठ मादल बादक रोल्पा, जम्कोट घर भई हाल ललितपुर नखिबोट निवासी ७० वर्षिय जयबहादुर पुन मगरलाई सम्मान गरिएको थियो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संगता तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, साँस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, महाप्रवन्धक राजेश थापा, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मो र प्रतिष्ठानका प्रमुख संरक्षक सर्मिला शेरचन, संरक्षक तथा कल्याण शेरचनका दाजु नरबहादुर शेरचनले नगद १५ हजार ५, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रतियोगिताको मादल बजाएर र दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि रसिकले लोक बाजा मादलको संरक्षणका लागि प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको योगदानको सम्मान गर्नुभयो ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले स्वागत मन्तव्य, कल्याण शेरचन स्मृति प्रतिष्ठानका संरक्षक चेतन कार्कीले कल्याण शेरचनको जीवनीबारे चर्चा गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको संचालन रमेश विजी र प्रतियोगिताको संचालन कल्याण शेरचन स्मृति प्रतिष्ठानका सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो । कार्यक्रममा साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरका कलाकारहरुले कल्याण शेरचनको गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने सम्मानित मादल बादक जयबहादुर पुन मगरले मादल वादन सहित साँस्कृतिक प्रस्तुति, बरिष्ठ लोकगायिका बिमाकुमारी दुराले लोक गीत, प्रतिष्ठानका सल्लाहकार बुद्धिमान धम्पुले ठाडो भाका, धनबहादुर नेपालीले साराङ्गी बादन प्रस्तुत गर्नुभएको थियो ।

मादल वादन प्रतियोगिता पुर्व नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग विषयक कार्यशाला गोष्ठी नाचघरमा सम्पन्न भएको थियो । कार्यक्रममा साँस्कृतिक संस्थानका पुर्व अध्यक्ष प्रदप बमजनले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्वर्गारोहण पश्चात हिमाली साँस्कृतिक परिवारले विक्रम सम्वत २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौरा चुट्का गीतको प्रतियोगिता आयोजना गरी अक्षयकोष स्थापनाका साथै कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले उक्त वर्षदेखि नै साउन १२ गते स्वर्गीय शेरचनको जन्मजयन्ती र माघ २४ गते स्मृति दिवस विविध कार्यक्रम गरी मनाउदै आएको छ ।

लोसँस्कृति, शिक्षा र खेलकुदप्रति योगदान पुर्याउनु भएका स्वर्गीय शेरचनको स्मृतिमा हालसम्म बरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङ, शिक्षाविद बलबीरसिंह नेगी, बरिष्ठ संगीतकार प्रकाश गुरुङ सम्मानित भइसक्नु भएको छ । प्रतिष्ठानले शेरचनकै स्मृतिमा पश्चिमाञ्चलस्तरीय साँस्कृतिक कार्यक्रम, भुकम्पपीडित विद्यालयको पुननिर्माण र सेभेन ए साइड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।