भट्टराईको गृह जिल्लामा एमाओवादीको समानान्तर जिल्ला समिति


गोरखा- एकीकृत माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईको गृह जिल्लामा एमाओवादीको समानान्तर जिल्ला समिति गठन भएको छ। जिल्ला सम्मेलन सकिएको चार महिना पछि गत जेठ तीन गतेको पहिलो बैठकले जिल्ला समिति गठन गरेको थियो। उक्त समिति एकपक्षीय भएकोले पुन नयाँ समानान्तर समिति गठन गरिएको भट्टराई पक्षधर जिल्ला नेता यानप्रसाद भट्टले बताए।

भट्टराई पक्षधर ५१ सदस्यीय समितिको अध्यक्षमा यानप्रसाद भट्ट, उपाध्यक्षमा पूर्व सभासद ज्ञानेन्द्र कुमाल, सचिवमा रमेश पोखरेल रहेका छन्। शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टले भने ‘५१ सदस्यमा ३६ जना छनौट गरिसकेका छौँ, बाँकी अर्को बैठकमा टुङ्ग्याउँछौँ।’ शनिवार बिहान आफु निकटका गाविस अध्यक्ष, सचिव र युवा संघ संगठनका पदाधीकारीलाई सदरमुकाममा भेला गराए भट्टराई निकटकाले समानान्तर समिति गठनको घोषणा गरेका हुन्।
सारदाप्रसाद लुईटेलको संयोजकत्वमा सात सदस्यीय जिल्ला सल्हाकार समिति सहित, नगर, ईलाका र क्षेत्रीय स्तरमा पनि भट्टराई पक्षधरले छुट्टै समिति बनाएका छन्। जिल्लाको विकासे अड्डा जिविस र नगरपालिकामा राजनीतिक दलको तर्फबाट प्रतिनिधित्व गर्ने परामर्श समितिमा पनि छुट्टै प्रतिनिधि पठाउने अध्यक्ष भट्टले बताए। नगरपालिकाका लागि नगर ईन्चार्ज गोर्वद्धन श्रेष्ठ र जिविसका लागि जिल्ला सचिव रमेश पोखरेल लाई जिम्मेवारी तोकिएको छ।
६६ गाविस र एक नगरपालिका रहेको गोरखामा आधाजसो गाविसका पादाधिकारी आफ्नो पक्षमा रहेको दावी भट्टराई पक्षधरको छ।
गत जेठ दुई र तीन गते दुई दिन सम्म जिल्ला कमिटिको बैठक बसेर निर्वाचनबाट चुनिएका अध्यक्ष अमर तमु केन्द्रिय सदस्य भएपछि नयाँ अध्यक्षमा लेखबहादुर थापालाई चयन गरिएको थियो। पुराना ब्यक्तीलाई बेवास्ता गरेर दाहाल पक्षधरले थापालाई अध्यक्ष बनाएपछि समानान्तर कमिटि गठन गर्न बाध्य बनेको भट्टराई पक्षधर बताउँछन्।