बाग्लुङमा बालिका बेपत्ता,प्रहरी परिचालन गरी खोजी सुरु


बाग्लुङ

जिल्लाको तारा–३ की ब्रिपा कँडेलका आँखा पाँच दिनदेखि ओभाएका छैनन्। छोरी कतैबाट टुप्लुक्क आइहाल्छिन् कि भनेर बाटो हेरिरहिछन्। नातागोता, छरछिमेकमा खोजीगुहार गरे पनि केही पत्तो लागेको छैन। बर्खे बिदामा भैंसी चराउन गएकी ११ वर्षीया सरिता नफर्किएपछि कँडेल दम्पती पीडामा छन्। ‘दिउँसो २ बजे छोरी साथीहरूसँगै भैँसी चराउन वन गएकी,’ पिता हिरालालले भने, ‘त्यहाँबाट कहाँ गई, पत्तै छैन।’
सरितासहित गत मंगलबार भैँसी चराउन गएका तारा–३ नागबेलीका तीन बालिका पाँच दिनदेखि बेपत्ता छन्। युवा वर्ष प्राविमा अध्ययन गर्ने सरितासहित ८ वर्षीया मिनु खड्का र १३ वर्षीय जालमायाँ घर्ती बेपत्ता भएको परिवारले जनाएका छन्। नागवेली टोलका तीन बालिका सधैंझैं तारा–३ कै राउटे जंगलमा भैँसी चराउन गएका थिए।
करिब ४ बजे वनबाट फर्किएर घरनजिकैको पँधेरामा भैँसी ल्याएपछि छोरीहरू बेपत्ता भएको जालमायाका बाबु तुलबहादुरले बताए। ‘५ बजेतिर घर नआएपछि सोधखोज गर्यौं्,’ उनले भने, ‘घरनजिकैको पँधेरोसम्म भैँसी लिएर आएको छिमेकीले देखेका रहेछन्। त्यसपछि कता गए पत्तै भएन।’
आफन्तलगायत सबैतिर खोजीगुहार गर्दा पाँच दिनसम्म पनि फेला नपरेको मिनुका बाबु मीनबहादुरले बताए। ‘नालनाता, आफन्तमा कतै गएका छन् कि भनेर सबैतिर खोज्यौं,’ उनले भने, ‘अझै केही खबर आएन।’
सधैँ भैँसी चराउन जाने बालिका त्यो दिन बीच बाटोबाटै कहाँ गए भन्नेमा अभिभावक आश्चार्यमा छन्। प्राथमिक तहमा पढ्ने भए पनि उनीहरू खरबारीबाट घाँस ल्याउने, भैँसी चराउने काम गर्दै आएका थिए। ‘स्कुल बिदामा दिनहुँ भैँसी चराउन वन जाने गरेका थिए,’ मीनबहादुरले भने, ‘छोरीलाई कसैले ललाई–फकाई लग्यो कि?
आफन्त, छरछिमेकी सबैतिर खोज्दा नभेटिएपछि अभिभावकले कसैले लगेको हुन सक्ने आशंका गरेका छन्। आमासँग मामाघर जाने गरेका उनीहरू यसअघि घरबाट टाढा कहिल्यै नगएको उनीहरू बताउँछन्। ससाना छोरी एकाएक सम्पर्कविहीन भएपछि परिवार चिन्तित छन्। एउटै स्कुलमा पढ्ने तीनै जना निकै मिल्ने साथी भएकाले सँगै भैँसी चराउन र घाँस काट्न जाने गरेका थिए। जालमाया कम बोल्ने भए पनि मिनु र सरिता निकै टाठा रहेको स्थानीय बताउँछन्।
गाउँघरमा सबैतिर खोजी गर्दा बालिका फेला नपारेपछि अभिभावकले शनिबार मात्र प्रहरीमा उजुरी दिएका छन्। स्कुले बच्चा अपरहणमा परे या कसैले ललाई–फकाई लग्यो भन्नेमा अभिभावकसँगै प्रहरी पनि अन्योलमा छ। ग्रामीण इलाका भएकाले घटनाको कारण पत्ता लगाउन कठिन भएको छ।
घटनाको अनुसन्धान अघि बढाउन मातहत निकायलाई निर्देशन दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए। तीन बालिका हराएको जानकारी ढिला आएको इलाका प्रहरी कार्यालय, ताराखोलाका सई अर्जुन शर्माले बताए। ‘अभिभावकले पाँच दिनमा बल्ल खबर गरे,’ शर्माले भने, ‘जानकारी पाउनासाथ प्रहरी परिचालन गरी खोजी सुरु गरेका छौँ।’