गायिका देविका बन्दनाले,एकल साँझ गर्ने


काठमाडौं– गायिका देविका बन्दनाले आगामी साउन १६ का दिन राजधानीमा एकल साँझ गर्ने भएकी छन्। एक वर्ष पहिले बुटवलमा एकल साँझ गरेकी देविकाले राजधानीको होटल र्या डिसनमा ‘मेलोडी नाइट विथ देविका बन्दना’ नामक कार्यक्रम गर्न लागेकी हुन्।
देविकाले चारवर्ष अघि पहिलोपटक अमेरिका र लन्डनमा एकल साँझ गरेकी थिइन्। ‘ती कार्यक्रममा मैले म्युजिक ट्रयाकमा गीत गाएको थिएँ,’ देविकाले भनिन्, ‘यसपटक भने म पूरा ब्यान्डको साथमा प्रस्तुत हुनेछु, बन्दनाबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय गीत, शुभकामना गीत र आफ्ना चर्चित बेस्ट र फास्ट ट्रयाकका गीतहरु प्रस्तुत गर्नेछु।’ उनलाई युगल गायनमा विजेश पौडेल र छिरिङ भुटियाले साथ दिनेछन्।
डेढ घन्टा चल्ने कार्यक्रममा उनले ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’लगायत १६ वटा गीत गाउनेछिन्। ‘सबै गीत गाउन भ्याइँदैन होला, तिनलाई छोटो छोटो रुपमा प्रस्तुत गर्नेछु,’ उनले भनिन्।
एकताका फिल्मी गायनमा सक्रिय उनी अचेल आधुनिक गायनमा समर्पित छिन्। उनले ‘आरती’ भिडियो भजनसंग्रह हुँदै ‘शुभकामना’सम्म आइपुग्दा १४ वटा सोलो एल्बम श्रोतामाझ ल्याइसकेकी छन्। मन्त्र दिव्याले गर्ने कार्यक्रमको व्यवस्थापन पार्टी फेस्टाले गर्नेछ।