ब्राजिलियन युवा स्ट्राइकर नेमार विश्वका महँगा खेलाडी


काठमाण्डौ – ब्राजिलियन युवा स्ट्राइकर नेमार स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग अनुबन्ध भएका छन् । नेमारलाई पेरिस ल्याउन पीएसजीले बार्सिलोनालाई मात्रै १९ करोड ८० लाख पाउन्ड तिरेको छ, जसको नेपाली मूल्य २६ अरब २९ करोडभन्दा बढी हुन्छ । आजको अन्नपूर्ण पोस्टको साप्ताहिक परिशिष्टांकफुर्सदमा दीपेन्द्र लामाले खबर लेखेका छन् ।

एक सय १७ मिलियन युरोले बढी
त्यसबाहेक नेमारले प्रतिसाता पाउने पाँच लाख ९६ हजार पाउन्ड र अन्य भत्ता थप्दा पीएसजीले नेमारमाथि खर्च गर्ने रकम अझै करोडौं नाघ्नेछ । त्यसअघि नै २५ वर्षीय यी ब्राजिलियन युवा विश्वकै सर्वाधिक महँगा फुटबलर बनिसकेका छन् । नेमारको पीएसजी अनुबन्ध गत वर्ष विश्वकीर्तिमान बनाएको फ्रान्सेली पल पोग्बाको युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडको अनुबन्धभन्दा एक सय १७ मिलियन युरोले बढी महँगो बन्यो ।

के मात्रै सम्भव छैन ?
पीएसजीले एकजना नेमारमाथि खर्च गरेको यो रकमबाट विश्वमा के मात्रै सम्भव छैन ? यत्ति पैसाले हार्वर्ड विश्वविद्यालयका चार हजार एक सय ५७ विद्यार्थीलाई आवास, खाना, ट्युसन फीलगायत सम्पूर्ण खर्च बेहोरेर एक वर्षसम्म पढ्न पुग्छ ।नामिबियाका प्रत्येक जनतालाई एक-एक थान कफी टेबल किनिदिन पुग्छ । अमेरिकाको ओहियो राज्यका प्रत्येक नागरिकलाई एक-एक पप्पी किनिदिन पुग्छ । नेपालीका लागि त यो रकमले अझ धेरै कुरा किन्न सम्भव छ ।

नेमारको स्पष्टोक्ति
नेमारले आफूले पैसाका लागि पीएसजी नरोजेको स्पष्टोक्ति दिइसकेका छन् । यद्यपि, उनका आलोचकहरूको चित्त अझै बुझेको छैन । नेमार पक्षका आलोचकहरू भने अझै पनि उनले फुटबलकै लागि क्लब रोजेका तर्क पेस गर्छन् ।

आलोचकहरूको तर्क
नेमार पक्षधर आलोचकहरूको तर्क बार्सिलोनामा नेमार लियोनल मेसीको छायामा परे । चार वर्षअघि क्रिस्टियानो रोनाल्डोको छायामा पर्ने डरले रियल म्याड्रिड नजान सुझाव दिनेहरू बार्सिलोनामा पनि नेमार मेसीको छायामा परेको तर्क गर्छन् । त्यसैले उनीहरू भन्ने गर्छन्- रियलमा क्रिस्टियानो रोनाल्डो र बार्सिलोनामा मेसीको जस्तो छवि पीएसजीमा नेमारको हुनेछ र नेमारको नेतृत्वमा पीएसजी चाँडै नै युरोपकै शक्तिशाली क्लब बन्नेछ ।

नेमारको गोल
ब्राजिलका लागि : ७७ खेल ५२ गोल
२००९ देखि २०१३, (सन्तोस) : २२५ खेल, १३६ गोल
२०१३ देखि २०१७, (बार्सिलोना) : १८६ खेल, १०५ गोल

फुटबलका पाँच महँगा स्थान्तरण
१ नेमार बार्सिलोनाबाट पीएसजी २०१७ २२२ मिलियन युरो
२ पल पोग्बा युभेन्टसबाट म्यान युनाइटेड २०१६ १०५ मिलियन युरो
३ गारेथ बेल टोट्टानहामबाट रियल म्याड्रिड २०१३ १००.८ मिलियन युरो
४ क्रिस्टियानो रोनाल्डो म्यान युनाइटेडबाट रियल म्याड्रिड २००९ ९४ मिलियन युरो
५ गोन्जालो हिग्वेन नापोलीबाट युभेन्टस २०१६ ९० मिलियन युरो