अविरल वर्षाका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित,३० को मृत्यु


काठमाडौं –  अविरल वर्षाका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ । तराइका केही ठाँउमा डुवानको समस्या छ। केही ठाउ बाढीले बगाएकाे छ भने पहाडी भेगमा पहिरोकाे कारण जनजीवन प्रभावित बनेको छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।यसैगरी गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

उद्धार कार्य जारी

चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् ।

अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित भएका छन् ।
जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्र्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् ।

बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ ।