तेरिया दुबईमा जाने


दुबइ, – भारतीय जीटिभी च्यानलद्वारा प्रशारित चर्चित ‘‘डिआइडी लिटिल मास्टर सिजन थ्री” विजेता तेरिया फौजा मगर, मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमाल दुबईमा आउने भएका छन् । आगामी २९ अगस्तका दिन दुबईस्थित शेख राशिद अडिटोरियम हलमा “२० औं विश्व आदिवासी जनजाति दिवस २०१४” को अवसरमा हुने भएको “नेपाली कल्चर शो” सांगीतिक कार्यक्रमका लागि आउने भएका हुन् ।

यो जानकारी गएको २५ अगस्त शुक्रबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ युएईद्वारा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष डीआर गुरुङले दिएका हुन् ।

अध्यक्ष डिआर गुरुङको अध्यक्षता र महेश मोक्तानले संचालन गरेको उक्त पत्रकार सम्मेलनको अन्य अतिथिहरुमा जनजाति महासंघसंग आवद्ध रहेका ९ संस्थाका प्रतिनिधहरु सहभागी थिए ।

तेरिया मगर दुबईमा आउने खबरले युएईका दर्शकहरु निकै उत्साहित छन् । तेरिया मगरका साथ नायिका छुल्थिम गुरुङ र यएईका ख्यातिप्राप्त कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ । सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमालद्वारा बिशेष संवोधन गरिने भएको छ ।

युएईको सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमध्ये पहिलो पटक एक लाख बीस हजार दिरामको लगानीमा ऐतिहासिक कार्यक्रम हुने आयोजक बताउँछन् । जी टिभीसँग समन्वय भएर गरिने यस कार्यक्रममा केवल नेपालीहरु मात्र नभएर गैरनेपालीहरुको पनि सहभागिता रहने छ ।