एनआरएनद्वारा बाढीपहिरो पिडित सहयोगार्थ रकम संकलन अभियान सुरु


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) ले बाढी र पहिरो पिडितहरुको सहयोगार्थ रकम संकलन अभियान सुरु गरेको छ।आपतकालीन राहत कोषको स्थापना गर्दै संघले अभियान सुरु गरेको हो।

निरन्तरको अविरल वर्षासँगै पुर्बी तराईमा बाढी र पहाडमा पहिरो जाँदा ठुलो जनधनको क्षति पुगे पछि संघले सहयोग अभियान सुरु गरेको हो।  कोषमा संघका अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ ।  

संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले एक/एक लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरेका छन्।

झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दियासहितका जिल्ला बाढीले जलमग्न भएको भन्दै संघको परोकार तथा मानवीय सहायता समितिको पहलमा अभियान सुरु भएको हो।

मानवीय सहायता समितिका संयोजक पन्तले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगका लागि अपिल गर्दै संघको बैंक खातामा सिधै रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेका छन्। बैंक अफ काठमाडौ कमलादी काठमाडौमा रहेको संघको खाता नम्बर ‎062500000144 मा स्विफ्ट कोर्ड BOKLNPKA लेखि एनआरएन च्यारिटी फण्ड उल्लेख गर्दै रकम जम्मा गर्न सकिने संघले जनाएको छ।