सबको रगत रातै हुन्छ, कसले ल्यायो जात ?


दीपक गौतम, चिवा जापान

नेपालमा लम्बिँदै गएको संक्रमणकालले गर्दा देशको सामाजिक संरचनामा कति असर पुगेको छ भन्ने कुराको मापन शायदै गर्न सकिएला । तर, सत्य यही हो कि मुलुकमा बढ्दो संक्रमणकालको असर देशका हरेक क्षेत्रमा परेको देख्न पाइन्छ ।

तेरिया मगर, एउटी होनहार प्रतिभाशाली बालिका र उनी एक नेपाली । जुन प्रतियोगितामा उनले भाग लिइरहकी थिइन्, त्यतिबेला उनले नेपालको कुनै जातिविशेषको भन्दा पनि सिंङ्गो मुलुकको प्रतिनिध्व गरिरहेकी थिइन् । उनको जीतका लागि देश विदेशमा रहेका हरेक नेपालीले खुब मेहनत गरे । फलस्वरुप उनी विजेता भएर सिङ्गो मुलुकको मान बढाइन् । उनको जीतका लागि मगर, गुरुङ्ग, तामाङ र नेवारजस्ता जनजातिको मात्रै लगानी थिएन, त्यहाँ हरेक नेपालीको लगानी थियो, चाहे त्यो बाहुन होस, चाहे त्यो क्षेत्री होस्, चाहे त्यो दलित नै किन नहोस् ।
तेरियाको जीतपछि नेपालका एक जनजाति नेताले तेरियाको जीतमा गर्व गर्दै ‘बाहुनहरु’ले उनलाई भोट नदिएको टिप्पणी गरे । हो यहीँबाट हेरौँ हाम्रो समाज कहाँ जाँदैछ ? अनि हाम्रो समाज कस्तो बन्दैछ ?
हामी देशमा बढ्दो जातीय विभेदको अन्त्यका लागि संघर्ष गर्दै गर्दा जिम्मेवार व्यक्तिले दिएका यस्ता अविव्यक्तिहरुलाई राम्रोसँग केलाउन जरुरी छ । हिजो अनुराधा कोइराला र पुष्पा बस्नेतहरुलाई नेपालीहरुको एकताले नै सीएनएन हिरो बनाएको हो । प्रशान्त तामाङ पनि नेपाली जनहरुको एकताकै बलले इन्डियन आइडल बन्न सकेका हुन । र, तेरिया मगरको जीत पनि हामी सबै नेपालीहरुको एकताले सम्भव भएको हो । त्यसैले नेपाली-नेपालीबीचको एकताले मात्रै देशको सफलता सम्भव छ भन्ने कुराको हेक्का राख्दै अघि बढ्नु अहिलेको आवश्यकता हो । यो राजनीतिक क्षेत्रमा होस् वा अरु जुनसुकै क्षेत्रमा किन नहोस् ।
हो, त्यसैले म जोडतोडका साथ भन्न के खोजिरहेको छु भने नेपाली समाजमा जेजस्ता विकृति र विसंगतिहरु छन्, ती सबैको छिनोफानो हाम्रो एकताले मात्रै छ । नेपालमा जातीय विभेद सबैभन्दा ठूलो समस्या बन्दै गइरहेको छ । यो हामीले नै बनाएको समस्या हो । र, यसको निराकरणका लागि पनि हामी नै जाग्नुपर्छ ।
एउटा दलित समुदाय वा त्यो समुदायसँग सम्बन्धित संघसस्थाहरुले मात्रै प्रयास गरेर नेपालमा जातीय विभेदको अन्त्य हुनै सक्दैन । त्यसका लागि सबैले हातेमालो गर्न जरुरी छ ।
पछिल्लो केही वर्षयता नेपालमा व्याप्त जातीय विभेदको अन्त्यका लागि हरेक क्षेत्रले अग्रसरता देखाइरहेको छ । संगीतकर्मीहरु संगीतको माध्यमबाट जातीय विभेद अन्त्यको आवाज बोलिरहेका छन् । पत्रकार तथा लेखकहरु जातीय विभेदका विरुद्ध सशक्त ढङ्गले कलम चलाइरहेका छन् । र, अरु क्षेत्रका मानिसहरु पनि आफ्नो क्षेत्रबाट लागि नै रहेका छन् ।
नेपाली लोक संगीतका हस्तीहरु, जो एकपछि अर्को गर्दै जातीय विभेदको विरुद्धमा आफ्नो आवाज बुलन्द बनाउन खोजिरहेका छन् । उनीहरुलाई सहयोग गर्नुको सट्टा हामी नै उनीहरुका विरुद्ध लाग्न थाल्यौं भने यसले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन । हिजो लोकदोहोरी गायक विष्णु खत्रीले ‘अन्तरजातीय विवाह’ मार्फत समाज परिवर्तनका लागि सबैलाई एकीकृत गर्ने प्रयास गरेका थिए । आज पशुपति शर्माले पनि त्यही प्रयास गरेका छन् । एउटा सामाजिक प्रतिष्ठा बनाएको मान्छेले समाज परिवर्तनका लागि खेल्नुपर्ने भूमिका मात्र खेलेका हुन् पशुपति शर्माले । तर, यहाँ त उनले खेलेको त्यो भूमिकामाथि अनावश्यक राजनीति गर्न थालिएको छ ।
हिजो मुलुकका युवाहरुलाई विदेश जानुको सट्टा देशमै बसेर केही गर्छु भन्ने भावना राख्नुपर्छ भनेर सुझाउने पशुपतिले आज त्यो तीज गीत मार्फत जातभातको कुरा छोडेर हामी नेपाली हौँ भन्ने भावनालाई आत्मसात गरौँ भन्न मात्रै खोजेका हुन् । उनले गाएको ‘दमाई’ र ‘कामी’ शब्दले दलित समुदायको आत्मसम्मानमा ठेस पुग्यो भनेर जुन तर्क गरिँदैछ, यसैप्रति चित्त नबुझेर यो लेख लेख्न बाध्य भएको हुँ ।
जनजाति नेता आङकाजी शेर्पाले तेरिया मगरलाई बाहुनहरुले भोट दिएनन् भनेर जुन टिप्पणी गरेका थिए, शेर्पाको त्यो टिप्पणी र दलित सेवा संघले पछिल्लोपटक पशुपति शर्माले गाएको गीतले दलित समुदायको आत्मसम्मानमा ठेस पुर्‍यायो भनेर गरेको टिप्पणी एउटै हुन् ।
दलित समुदायका व्यक्तिले भोगेको पीडा मैले त भोगेको छैन । तर, ती पीडा म बुझ्न सक्छु । बाग्लुङमा बसेर झण्डै एक दशक पत्रकारिता गर्दा दलित समुदायका पीडा राम्रोसँग हेरेको छु, पढेको छु र दलित अधिकारका निम्ति म पनि लडेको छु । त्यसैले पनि पशुपति शर्माको गीतका विषयमा दलित सेवा संघले गरेको टिप्पणीप्रति लेख्न मन लागेको हो । कृपया मलाई पुरातनवादी र दलित अधिकार विरोधी भनेर उपमा नझुण्ड्याइदिनुहोला ।
दलित सेवा संघको विज्ञप्ति हचुवा र हावादारी छ । जिम्मेवार संघ संस्थाहरुले सत्यलाई आधार बनाएर विज्ञप्ति जारी गर्नुपर्नेमा दलित सेवा संघले गीत बजारमा आउनुपूर्व नै विज्ञप्ति प्रकाशित गरेर गीतलाई रोक्ने जुन प्रयास गरेको छ । यसले समाजमा राम्रो सन्देश दिएको छैन ।
मुलुकमा व्याप्त जातीय विभेद अन्त्यका लागि आफ्नो स्वर बुलन्द गर्नु पशुपतिको गल्ती होईन बरु यो त उनको सामाजिक उत्तरदायित्व हो । पशुपति शर्माले गाएको अहिले सर्वाधिक चर्चामा रहेको त्यो गीत मैले सबै सुनेको छु । त्यसका हरेक शब्द-शब्द सुनेको छु । गीतमा त्यसरी विवादित बनाउनुपर्ने कुनै त्यस्ता शब्द छन् जस्तो मलाई लाग्दैन ।
हामी यस्तै सानातिना कुरामा विवाद गरि नै रहृयौँ भने हाम्रो समाज कहाँ पुग्छ ? बाहुनलाई बाहुन भन्न नहुने, क्षेत्रीलाई क्षेत्री भन्दा रिसाउने अनि दमाईलाई दमाई भन्दा आत्मसम्मानमा ठेस पुग्छ भने हामीले कसरी जातीय विभेदको अन्त्य गर्न सक्छौँ ? जातीय विभेद उत्पीडनमा परेको जातिको मात्र समस्या होइन, यो राष्ट्रिय समस्या हो । त्यसैले यसको अन्त्यका लागि भूमिका खेल्नुपर्छ भनेर नै विष्णु खत्री, राजु परियार, यसकुमार र पशुपति शर्माहरुले यस्ता गीत गाएका हुन् भन्ने मेरो बुझाइ छ ।
अहिले जवरजस्त विवादको भूँवरीमा परेको शर्माको गीत, जसले जातीय राजनीतिको नारा बोकेका छन्, उनीहरुलाई सबैभन्दा बढी प्रहार गरेको छ । मुलुकमा जुनरुपमा जातीय राजनीति मौलाउँदै गएको छ, यसले कसैलाई पनि हित गर्दैन । त्यसैले सबै जातीबीच एकता हुनुपर्छ भन्ने भाव गीतको हो । भिन्न-भिन्न जातिहरु एक आपसमा लड्न थाल्यौँ, एक अर्काको अस्तित्व स्वीकार गर्न छोड्यौँ र मुलुकमा जातीय दङ्गा सुरु भयो भने ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलवारी’ कसरी रहन्छ ? अनि सयौँ फूलका थुङ्गा हामी एउटै मालामा कसरी अटाउन सक्छौँ ? यसतर्फ सबैले गम्भीर भएर सोच्न जरुरी छ ।
जातीय विभेदको अन्त्य एउटा कलाकारका विरुद्ध विज्ञप्ति निकालेर हुँदैन । बरु जोसँग जे क्षमता छ, त्यही क्षमतालाई प्रयोग गरेर अघि बढ्नुपर्छ । कहिलेकाँही नकारात्मक कुरा गरेर सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने अवस्था पनि हुन्छ, त्यसैले दमाइ र कामी भन्ने शव्दहरु नकरात्मक नै हुन् भने पनि यी सकारात्मक परिवर्तनका लागि प्रयोग गरिएका हुन् । यी विषयमा त्यति धेरै विवाद गर्न जरुरी नै छैन । तसर्थ जातीय विभेदको अन्त्यका लागि आउनुहोस् फेरि एक पटक एकतावद्ध बनौँ । जसरी हिजो अनुराधा कोइराला र पुष्पा बस्नेतलाई सीएनन हिरो बनाउन एक भएका थियौँ । अनि जसरी प्रशान्त तामाङ र तेरिया मगरलाई एकजुट भएर जिताएका थियौँ । ठीक त्यसरी नै फेरि एकतावद्ध भएर जातीय विभेदको अन्त्य गरौँ ।
जातीय विभेद अन्त्यका लागि यो पनि भनौँ-
‘हामी सबै मानिस हौं, मिलाऔं हातमा हात ।
सबको रगत रातै हुन्छ, कसले ल्यायो जात ?