बाढीपिडितका लागि स्पेनमा दुई दिनमा नै ८ लाख रुपैयाँ संकलन


बार्सिलोना/ बाढी पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा दुई दिनमा नै ८ लाख रुपैयाँ संकलन भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बाढी पहिरो पिडितहरुको सहयोगार्थ सुरु गरेको अभियानमा रकम संकलन भएको हो।

संघका कोषाध्यक्ष बिशाल ढुंगानाका अनुसार हालसम्म राहत संकलन कोषमा ६ हजार ७ सय १ युरो प्रतिबद्दता रकम जुटेको छ। मंगलबार साँझ सम्म बार्सिलोनाबाट २ हजार ७ सय ९ युरो,क्षेत्रीय समिति म्याड्रिडले २ हजार ५ सय ८१ युरो र क्षेत्रीय समिति पाईसभास्कोमा १ हजार ४ सय ११ युरो संकलन भएको छ। अभियानमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले ५ सय युरो तथा नेपलोना ईभेन्ट्सले ३ सय ११ युरो सहयोग गरेका छन्। बिभिन्न संघ संस्थाहरुले समेत सहयोगको अपिल गर्दै रकम संकलन गरिरहेको हुँदा समग्रमा राहत कोषमा बढी नै रकम जम्मा हुने अपेक्षा गरिएको छ।

एनआरएन स्पेनको कार्यलयमा सोमबार बसेको आकस्मिक बैठकले संघका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा राहत संकलन समिति गठन गर्दै अभियान सुरु भएको थियो। समितिमा स्पेन स्थित राजनीतिक,जातीय,क्षेत्रीय लगायतका संघ संस्थाहरुलाई समेटिएको छ।

अविरल वर्षासँगै पुर्बी तराईमा बाढी र पहाडमा पहिरो जाँदा ठुलो जनधनको क्षति पुगेको बेला स्पेनको नेपाली समुदाय एकजुट बनेको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दियासहितका जिल्ला बाढीले प्रभावित पारेको छ।

ला-काईसा बैंकको खाता नम्बर ES36-2100-0920-3601-0064-6604 मा सिधै रकम जम्मा गर्न सकिने संघले जनाएको छ। स्मरण रहोस् मुलुकमा बिनाशकारी भूकम्प जाँदा पनि स्पेनको नेपाली समुदायले १ करोड रुपैयाँ भन्दा बढी रकम संकलन गरेर गैर आबासीय नेपाली संघको कोषमा पठाएका थिए।